१६ कार्तिक २०८१ शुक्रबार
image/svg+xml
कला

गङ्गाकिनारका तपस्वी

सिर्जना-अन्तर्य

आखिर, म जे चाहन्नथें, त्यही भयो। नचाहेको त्यही सत्यको पक्षमा ‘श्रद्धाञ्जली’ शीर्षक दिएर जानी–नजानी हिन्दीमा ट्विट गरें। देवीभक्त लामीटारेको सक्रिय जीवनको मूल भाषा नै हिन्दी हुन पुगेको तथ्य देखेकाले मैले श्रद्धाञ्जली पनि त्यही भाषामा अर्पण गरेको थिएँ। उनको निधनसँग मेरो दुःख मात्र होइन, पश्चात्ताप पनि जोडिएको थियो। सम्पादकका हैसियतमा पुस्तकमा गरिरहेको काम पूरा हुनै लागेका बेला उनको निधन भएपछि म निःशब्द भएको थिएँ।

भुटान मिडिया सोसाइटीका तर्फबाट लामीटारेको पुस्तक ‘दन्किँदो भुटान’ को सम्पादनको जिम्मा लिएको एक दशक नाघिसकेको थियो। समयको यो अन्तरालले पुस्तकका इच्छुक पाठकमाथि अन्याय भइरहे पनि लेखक-सम्पादक सम्बन्ध भने थप सुमधुर र अनौपचारिक हुँदै गएको थियो।

खासगरी २०२० को अन्तिम हप्ता हरिद्वारमा उनीसँग भएको अन्तरङ्ग वार्तालापले व्यक्तिगत सम्बन्धमा माधुर्य थपेको थियो भने पुस्तक पनि थप अद्यावधिक हुँदै थियो। सोही अन्तर्वार्तालाई समावेश गर्नेबाहेक मूल काम लगभग सकिएको थियो।

यस्तो बेला लेखक लामीटारेको निधन भएपछि हरिद्वार पुगेर यो पुस्तक हस्तान्तरण गर्ने योजना सदाका लागि असम्भव हुन पुग्यो। नितान्त एक सम्पादक मात्र नभएर भावनात्मक रूपमा नै पुस्तकको अङ्गजस्तो महसुस गरिरहेको व्यक्तिका लागि लेखकको अवसान कहिल्यै नबिर्सने दुःस्वप्न बनेर आइलागेको थियो।

त्यो क्षतिलाई रोक्न सकिँदैनथ्यो, सकिएन। तर, उनको कृतिमार्फत उनको चिन्तनलाई जीवन्त राख्न त सकिन्थ्यो, जुन काम अन्तिम चरणतिर आइपुगिसकेको थियो। त्यसबाट नै उनको अन्तिम विश्रान्तिबाट भुटानी प्रजातान्त्रिक आन्दोलनका लागि भएको क्षति कम गर्न सकिन्थ्यो। अन्ततः यो तथ्यलाई आत्मसात् गरेर पुस्तकलाई पाठकसमक्ष पुर्‍याउनैपर्छ भन्ने निष्कर्ष निस्क्यो।

०००

‘दन्किँदो भुटान’लाई यस अवतारमा प्रकाशन गर्ने योजनाको बीजारोपण कुनै सुविचारित चिन्तनका आधारमा भएको थिएन। यस प्रकाशनको पृष्ठभूमिसँग भुटानी राजतन्त्रले १९५१ मार्चमा क्रूरतापूर्वक हत्या गरेका महासुर बस्नेत क्षत्रीको जीवनगाथाको खोजीको प्रसङ्ग जोडिएको छ।

संयोग के पर्न गएको छ भने जसरी यो पुस्तकको पुनः प्रकाशनमा क्षत्रीको जीवनगाथा खोजी गर्ने हुटहुटी जोडिएको छ, लामीटारेको राजनीतिक जीवन तिनै क्षत्रीको जीवनलीला समाप्त पारिएको कथाबाट आरम्भ भएको छ।

महासुरको जीवनीको खोजी गर्दै झापा, मोरङका विभिन्न भुटानी शरणार्थी शिविर घुमे पनि हाम्रो समय र स्रोतसाधनको सीमाभित्र बसेर त्यो काम हामीले सोचेको ढाँचा र चाहेको विधिमा सम्पन्न हुन सक्ने देखिएन।

लामीटारेलाई भेट्न सके यस विषयमा निर्क्रयाेलमा पुग्न सजिलो हुन्थ्यो कि भन्ने हामीलाई लाग्यो। महासुरको जीवनीको अन्त्य भएको यस्तो पृष्ठभूमिमा हामी लामीटारेतर्फ आकर्षित भयौं।

हत्या गरिसकिएका महासुरलाई त भेट्न असम्भव थियो तर हामीलाई आशा थियो-लामीटारे त जिउँदै छन्, कसो भेट्न नसकिएला ! तर, नामबाहेक कुनै सम्पर्कसूत्र थाहा नभएकाले उनलाई भेट्न पनि सहजै सम्भव थिएन। यस मामलामा केही भुटानी शरणार्थी नेताको भूमिका सहयोगी हुन सक्ने अपेक्षाले त्यतिखेर आकार लिन सकेन।

०००

यथार्थमा लामीटारे स्वयम् भुटानी शरणार्थी शिविरहरूसँग खासै सम्पर्कमा थिएनन्। दशकौंदेखि भारत प्रवासमा रहेर प्रजातन्त्र र मानवअधिकारका लागि सङ्घर्षरत उनको सक्रियता मूलतः प्रचार–युद्धमा सीमित थियो। उनको पार्टी भुटान स्टेट कांग्रेसको अवस्था पनि त्यस्तै थियो।

सन् १९५२ को नोभेम्बरमा केही स्वघोषित शरणार्थीले भारतीय कांग्रेस सरकारले आफ्नो राजनीतिक मुद्दालाई समर्थन र सहयोग गर्छ भनेर डिबी गुरुङको अध्यक्षतामा भुटानी सीमावर्ती भारतीय राज्य आसामको गोलपाडा जिल्लाको पाटगाउँमा गठन गरेको ‘भुटान स्टेट कांग्रेस’ भुटानी शरणार्थीमाझ सुनिएको नाम मात्र बाँकी रहन गएको थियो।

१९६९ मा प्रमुख नेताहरूले नै राजासमक्ष आत्मसमर्पण गरेपछि सो पार्टी कार्यकर्ताविहीन थियो। सन् १९५४ मा भुटान स्टेट कांग्रेसले सर्भाङमा आयोजना गरेको सत्याग्रहमाथि सरकारले दमन गरेपछि भुटान स्टेट कांग्रेस माइकल हटका शब्दमा ‘रित्तिएको शक्ति’ मा परिणत भएको थियो।

भुटानी नेता बलराम पौडेलका अनुसार सो समयका भुक्तभोगी कार्यकर्ता देवीभक्त लामीटारे भने घर, धन–सम्पत्ति र परिवारसमेत त्यागी भारतको हरिद्वारमा पुगेर सन्यासीको रूपधारण गरी भुटानी शासकको विरुद्धमा पटक पटक पुस्तक प्रकाशित गर्दै जीवन बिताउन थालेका थिए।

अध्यक्षको आत्मसमर्पणपछि विघटित अवस्थामा पुगेको कांग्रेसलाई लामीटारेले १९७१ मा पुनर्गठन गरी नेतृत्व सम्हालेर भुटानी शासकका अन्याय, अत्याचार र दमनका विरुद्ध लेखिरहे । लामीटारेको सभापतित्वमा भुटान स्टेट कांग्रेसका महासचिव रहेका दुर्गा सिटौलाले पार्टी नेतृत्वविहीन हुँदा लामीटारेले नेतृत्व गर्न स्विकारे पनि उनी भारतमा बसेर शिविरबाट सञ्चालित राजनीतिमा सक्रिय हुन नसकेको बताएका छन्।

लामीटारेलाई ‘बाघजस्तो मान्छे’का रूपमा मूल्याङ्कन गरेका भुटानी डाक्टर भम्पा राईका विचारमा लामीटारेलाई आन्दोलनको नेतृत्व नदिनु भुटानी प्रजातान्त्रिक नेताहरूको गल्ती थियो।

बलराम पौडेलले पनि यसकारण ‘दुःखको कुरा’ मानेका छन् कि ‘न उनलाई कसैले साथ दियो, न उनीले पनि अरू कसैसित सम्पर्क गर्ने प्रयत्न नै गर्दै आए।’ त्यस्तो अवस्थाका मान्छेलाई किन खोज्नु, कसले खोज्नु? अनि कसरी भेट्नु?

०००

उनीबारे थाहा पाउने र सम्भव भएसम्म फेला पार्ने आशा र योजनासहित विद्यापति मिश्र र म काठमाडौंबाट भैरहवा–सुनौली हुँदै सन् २०११ मा गोरखपुरबाट बनारस पुगेका थियौं। हामीलाई यतिचाहिँ थाहा थियो– बनारस पुगेर प्राडा हरिप्रसाद अधिकारीलाई भेटेपछि लामीटारेको सम्पर्कबारे केही न केही सूचना पाइन्छ।

एकहप्ते काशीवासका क्रममा भुटानी मूलका प्रा.डा. अधिकारीसँग भेट भएपछि नै हाम्रो भारतयात्रा सफल भएजस्तै अनुभूत भयो किनकि ‘दन्किँदो भुटान’ अधिकारीकै हातमा पहिलोपटक त्यहीं देख्न पाइयो। पुस्तक मौलिक रूपमा लेखकले ‘जलताहुआ भुटान’ शीर्षकमा हिन्दीमा लेखेका रहेछन्। त्यसलाई रामप्रसाद अभिलाषीले नेपालीमा अनुवाद गरेर ‘दन्किँदो भुटान’ न्वारान गरेका रहेछन्।

‘लामीटारे भेट्नुपर्ने व्यक्तिचाहिँ हुन्। एक्लो वृहस्पति बनेर भए पनि लडेकै छन्, लेखेकै छन्, गरेकै छन्,’ लामीटारेको प्रतिरक्षामा अधिकारीको भोगाइको निचोड थियो, ‘अरू खुबै गरेका छौं भन्नेले पनि के नै गरेका छन् र, उनले नगरेको भन्नु !’

उनीसँगै लामीटारेको ठेगाना पनि बुझ्न खोजियो। तर, ठेगानाको मामलामा उनको सूचना पर्याप्त भएन।

लामीटारेका बारेमा थप अध्ययन गर्ने र पाएसम्म भेट्ने उद्देश्यले हामी सम्पर्क सूत्रहरूको सहारामा बनारसबाट नयाँदिल्ली पुग्यौं। डुक नेसनल कांग्रेसका केही कार्यकर्तासँग भेट भयो।

 त्यतिखेर सो पार्टीका संस्थापक अध्यक्ष रोङथोङकिन्ले दोर्जी सिकिस्त बिरामी भएर सिक्किमको गान्तोकस्थित मणिपाल इन्स्टिच्युट अफ मेडिकल साइन्समा उपचार गराइरहेका थिए। केही दिनपछि ७३ वर्षको उमेरमा उनको निधन भयो।

लामीटारेको खोजीकै सन्दर्भमा हामी दिल्लीबाट अमृतसर पुग्यौं। दिल्ली–यात्रा केही भेटघाटका साथै केही अध्ययन सामग्री र केही समसामयिक सूचना संकलनमा सीमित भयो। अमृतसर–यात्रा त फगत पर्यटन–यात्रा हुन पुग्यो।

जब लामीटारे हरिद्वार नै पुगिसकेको हुनसक्ने सूचना प्राप्त भयो, तब भने हामी पन्जाबको अमृतसरबाट पुनः रेलयात्रा गर्दै लामीटारेले जीवनको सर्वाधिक समय बिताएको धार्मिक सहर हरिद्वार पुग्यौं।

०००

हरिद्वारमा उनको सार्वजनिक स्थायी ठेगाना थियो-गोविन्दहरि निवास, एमजी रोड, कनखल। लामीटारेको यो पत्राचारको ठेगाना खासमा एक राजनीतिक ठेगाना मात्र थियो। उनलाई भेट्न भने स्थानीय जानकारहरूको सहारामा मन्दिर र घाटहरू चहार्नुको विकल्प थिएन। भन्नेहरूले पनि भनिदिन्थे-त्यतै कतै गङ्गाकिनारमा कुनै मन्दिर वा घाटतिर होलान्, खोज न।

एउटाले भनेको घाट अनि अर्काले भनेको मन्दिर, चारैतिर आँखा डुलाएर अपरिचित अनुहारको खोजीमा हरिद्वारका हरेक घाट घुम्दै घण्टौंको कसरतपछि अन्ततः गङ्गाकिनारमा भेटिए-एक पातला कदका साधु।

आम रूपमा साधु कस्ता हुन्छन् र? उही एउटा कुम्ले थैलो, जाडो याम भएकाले कुम्लोमाथि पट्याएर राखिएको पुरानो कम्बल, हल्का गेरु रङको कमिज र धोती, खरानी रङको पुरानो वेस्ट कोट, खाली खुट्टा, निधारमा शिवजीको तेर्सो टीका र टाउको नढाक्ने तर न्यानो खालको सानो खप्लके टोपी। फुलेका कपाल। दाह्रीजुँगाका मामलामा भने उनी जटाधारी थिएनन्, खुइलिँदै गएको टाउकोमा छरिछाँट कपाल र हल्का दाह्रीवाल।

अब हामी वास्तवमै उत्साहित थियौं। हाम्रो यात्राको लक्ष्य एक हदसम्म पूरा भएको थियो। उनीसित कुराकानी हुन बाँकी हुँदा पनि ममा एक किसिमको आत्मविश्वास पलाएको थियो, जुन मैले सहयात्री विद्यापतिसँग भनेको पनि थिएँ-यी सन्तसँग कुरा नमिल्नुपर्ने के नै छ र? मिलिहाल्छ नि। परिचयको सुरुमा त उनी त्यति बोल्नै चाहेनन्। तर, सपरिचय हाम्रो यात्राको उद्देश्य सविस्तार खुलाएपछि उनी पनि बिस्तारै खुल्दै गए।

भोलिपल्ट अर्थात् सन् २०११, अक्टोबर २३ मा उनीसँग भएको अन्तर्वार्ता अत्यन्त अनौपचारिक र खुला रह्यो। अन्तर्वार्तास्थल उस्तै खुला-एउटा मन्दिर छेउको रुखमुनि। उनको शरीरमा कम्मरमुनि मात्र वस्त्र थियो। बाँकी शरीर पनि घामबाट भिटामिन ‘डी’ ग्रहण गर्नका लागि खुला। आनीबानी उस्तै खुला। चिया र चरेसको सेवन बाक्लै थियो। अन्न खाएको देखिएन।

 लगभग दिनभरिको साहचर्यमा खानाको नाममा दुई कोसा केरा। सँगै खाना खाने हाम्रो कैयौंपटकको प्रस्ताव र जोडबललाई उनले अस्वीकार त गरेनन्, फेरि स्वीकार पनि गरेनन्, बरु टारिरहे।

खानपानको कुनै टुङ्गो नभए पनि उनको अनुहार भरिलो र तेजिलो थियो। वृद्धावस्थामा पुगेको उमेर र भुटानको राजनीति दुवैको विगतदेखि वर्तमानसम्मको लेखाजोखा गरिरहँदा उनी युवावयकै भान हुने गरी जोश, आक्रोश, ठट्यौली र हाँसो पेस गरिरहेका हुन्थे।

यात्रा परिणामदायी भएको निष्कर्षसहित हरिद्वार-बसाइ पूरा गरेर पूर्वनिर्धारित योजनाअनुसार पुनः दिल्ली फर्किनु थियो। त्यसअघि लामीटारेले अघिल्लै दिन दिएको ‘दन्किँदो भुटान’ को शीर्षक पृष्ठमा मितिसहित यति लेखेर बिदा गरे-श्री विनोद ढुङ्गेलका लागि समर्पित छ।

अब भने लामीटारेसँगको भेटघाट हाम्रो यात्रामा आनन्दको विषय मात्र रहेन, यो त एक बोझिलो जिम्मेवारी पो बन्यो। उनको पछिल्लो अन्तर्वार्तासमेत समेटेर पुस्तकलाई समसामयिक तथ्यहरूका आधारमा अद्यावधिक गर्नु थियो।

उनलाई चित्त बुझ्नेगरी पुस्तकको संरचना परिवर्तन गर्नु थियो। आवरणलगायत साजसज्जासँग सम्बन्धित परिवर्तन त हुने नै भए। ती सबै गरिसकेर परिवर्तित सामग्रीमाथि उनको दृष्टिगोचर, आवश्यक संशोधन वा स्वीकृतिको प्रक्रिया पूरा गर्नु थियो। यसका लागि अन्तिम मस्यौदा लिएर एकपटक लेखकलाई भेट्न हरिद्वार वा उनले सुझाएको अरू कुनै ठाउँमा पुग्नुपर्थ्याे।

०००

समयले कावा खाँदै गयो। अन्तिम मस्यौदा लिएर उनीसमक्ष पुग्ने समय भने निकै ढिलो गरी आयो। एक वर्षको लक्ष्य एक दशकपछि मात्र भेदन भयो। स्वास्थ्य–यात्राको पोकोभित्र समेटेर २०२० को अन्तिम हप्ता उनीसँग फेरि भेट्ने सम्मुख क्षणमा पुग्दा मेरो मन–मस्तिष्क पुनर्मिलनको उत्साह र ढिलासुस्तीको सङ्कोच एकसाथ झन्झनाएका थिए।

सम्पर्क व्यक्तिले उनी ‘हाथीपुलकीओर’ गएको जानकारी दिएका थिए। तर, उनलाई हामी पुग्ने जानकारी थिएन। उनी भिडभाडयुक्त गङ्गाकिनारमा रहेको गौघाटको हात्तीपुलमा फेला परे।

 उनी उसैगरी गङ्गाकिनारमा घुमिरहेका भेटिए, जसरी नौ वर्ष दुई महिनाअघि भेटिएका थिए। उनको हिँडाइको चालउस्तै थियो, कतै लामो यात्राबाट आइरहेको जस्तो र अझै निकै लामो बाटो काट्न बाँकी रहेजस्तो। हिँडाइमा कुनै हतारो देखिँदैनथ्यो र एकनासे गति। फरक अवश्य देखियो, बुढ्यौली निकै बढेको थियो। आँखाको अगाडि चस्माको सहारा थपिएको थियो। हातमा लौरो त पहिलै थियो।

उति बेलाको खाली खुट्टाको ठाउँमा शरीरलाई न्यानो राख्न उनले कपडाका जुत्ता उनेका थिए। एक साधु आत्मा न थिए, यति वाक्यमा आफूले चाहेको कुरा पनि भने र मेरो सङ्कोचलाई दूर गरिदिए– ‘मैं तुम्हें भूलना चाहताथा लेकिन भूल भी नहीं पाया।’

हुन पनि स्थानीय साधुसंसारका बारेमा जानकारी राख्नेले बताएअनुसार साधुको सहरजस्तो लाग्ने हरिद्वारका जानेमानेका केही उच्चस्तरीय साधुमा पर्थे लामीटारे।

त्यस दिन र भोलिपल्टसमेतको लामो मित्रवत् भलाकुसारीपछि मिसन ‘दन्किँदो भुटान’ पूरा गर्नेतर्फ ध्यान केन्द्रित गरियो। पुस्तकका अंशहरूमा उनले चाहेको सामान्य फेरबदल गर्नु थियो। पुस्तकलाई अद्यावधिक गर्नका लागि यी अनौठा प्राणीको ताजा दृष्टिकोण समेट्नु जरुरी थियो।

अघिल्लो भेटघाटभन्दा यसपटक उनको अनुहारको झरिलोपनमा केही कमी अवश्य देखिएको थियो तर वैचारिक तेज र चेत उस्तै थियो। परिधान मूलतः उस्तै थियो। स्वास्थ्यले चुनौती दिएर होला, चरेस–मिश्रित धूमपान गायब थियो। तर, खानपिनमा अग्रसरताको अभाव कायम थियो। स्याउ, सुन्तला, केरालगायतका केही किलोग्राम फलफूलमा उनलाई कुनै रुचि देखिएन। दुई दाना सुन्तला टिपे र पालैपालो छोडाउँदै भने-संतरे अच्छे हैं।

यसपटक उनीसँग अन्तर्वार्ताका विषय थिए-भुटानको प्रजातान्त्रिक आन्दोलनमा शरणार्थीहरू, भारत र नेपालको भूमिका, शरणार्थी स्वदेश फिर्तीका पूर्वसर्त, भुटानी प्रजातान्त्रिक विचारधाराका पक्षधरहरूको सोचाइ र पुस्तकमा परेका कतिपय विषयवस्तुमाथि लेखकका तर्फबाट समसामयिक र पूरक विश्लेषण।

गङ्गाकिनारमा टहलिँदै भएको अनौपचारिक गफगाफको बेहिसाब आनन्द र सन् २०२० को अन्तिम बुधबार साँझको गङ्गा आरतीसँगै मित्र माधव खतिवडा र म उनीसँग बिदा भएका थियौं। हामी कसैलाई के थाहा, त्यो नै अन्तिम बिदाबारी रहेछ।

०००

यस पुस्तकमा समेटिएका उनका तीनवटा अन्तर्वार्ताबाट भुटानी राजदरबारका कतिपय भयानक घटना पनि तानिन आएका छन्। उदाहरणका लागि सन् १९५२ देखि पदासीन भुटानका प्रथम प्रधानमन्त्री जिग्मे पाल्देन दोर्जीको १९६४ अप्रिल ५ मा फुन्सोलिङमा भएको हत्या र उनका भाइ लेन्डुप दोर्जी कार्यवाहक प्रधानमन्त्री भएको प्रसङ्ग।

लेन्डुप दोर्जी उनका दाजुको हत्या भएको दुई महिना १९ दिनपछि चार महिना भुटानका निमित्त प्रधानमन्त्री भए।

नेपालका लागि १९७३ देखि १९७६ सम्म भारतीय राजदूत रहेका र भारतीय विदेश सचिवसम्म भएर १९८५ मा सेवानिवृत्त महाराजा कृष्ण रसगोत्राले आफ्नो किताबमा उल्लेख गरेअनुसार दाजुको हत्यामा राजपरिवारको हात रहेको शङ्का गर्दै लेन्डुपले राजालाई अपदस्त गर्नका लागि भारतको सहयोग माग्न आफ्ना एक विश्वास पात्रलाई विशेष दूतका रूपमा दिल्लीसमेत पठाएका थिए। तर, उनको किताब प्रकाशन भएको केही दिनमै दोर्जी दाजुभाइकी बहिनी तथा तत्कालीन रानी आसी केसाङ वाङ्चुकले रसगोत्राको आरोपलाई खण्डन गरेकी थिइन्।

  प्रधानमन्त्री दोर्जीको हत्यामा संलग्न भएको आरोपमा सेनाप्रमुख छाब्डालगायतलाई मृत्युदण्ड दिइएको थियो। केही महिनामै लेन्डुपले वाङ्चुक परिवारलाई सखाप पारी ‘कू’ गर्ने असफल प्रयास गरेको चर्चासँगै उनलाई साथ दिने शाही भुटान आर्मीका सहायक कमान्डरहरू उगेन टासी र रिन्छिन दोर्जी नेपालतिर भागे।

असफल ‘कू’ बाट आफै डराएका लेन्डुपले पनि कार्यवाहक प्रधानमन्त्री पदबाट राजीनामा दिए र सुटुक्क काठमाडौंतिर भागे। नेपालले तत्कालै आश्रय दियो। नेपालका लागि तत्कालीन भारतीय राजदूत रासगोत्राको सहयोगमा केही समयपछि उनी भुटान फर्किएका थिए।

छाब्डाबहादुर नाम्ग्येललाई लामीटारेले स्टेट कांग्रेसका नेता भने पनि उनी वास्तवमा एक शुभचिन्तक मात्र थिए भन्ने कुरा अनुसन्धानबाट पुष्टि हुन्छ। महासुर क्षत्रीलगायत भुटान स्टेट कांग्रेसका कार्यकर्तासँग उनले नजिकको सम्पर्क राखेको कुरा भने विभिन्न तथ्यले पुष्टि गरेको पाइन्छ।

महासुरको हत्यापश्चात् छाब्डाले नै महासुरको परिवारमा पुगेर उनको हत्या गरिएको जानकारी दिएका थिए। त्यति मात्र नभएर उनले नै महासुरको हत्यालाई लुकाउने प्रयास गरिँदै छ समेत भनेर त्यहाँबाट हिँडेका थिए।

भुटानी राजनीतिका कतिपय रहस्यमय र विवादित पक्षका साथै लामीटारेले भारतमा बसेर नेपालको राजनीतिसँग जोडिएर गरेका विभिन्न गतिविधिको पनि खुलासा गरेका छन्। उनले राजा महेन्द्रले पञ्चायती व्यवस्था लागु गरेपछि भारतको बनारस र कलकत्तातिर काम गर्दै बिपी कोइराला, सुवर्णशमशेरसँग सम्पर्कमा पुगेर कतिपय गतिविधि गरेको बताएका छन्।

०००

महासुर क्षत्रीको जीवनी खोज्ने लहडबाट सुरु भएको मेरो यात्रा ‘दन्किँदो भुटान’को सम्पादन गर्ने मात्र होइन, देवीभक्त लामीटारेको जीवनीको एक हिस्साको साक्षीजस्तो हुनपुग्यो।

भुटानमा प्रजातन्त्र बहालीका लागि चिन्तनशीलभन्दा क्रियाशीलको सङ्ख्या कम हुँदै गइरहेको बेलामा म भने भुटानमा प्रजाराजको अभियान चलाइरहेका ‘एक्लो वृहस्पति’ को ‘पेपर वार’लाई झन्झन् नजिकबाट नियाल्दै जान थालेको थिएँ।

भुटानमा प्रजातन्त्र र मानवअधिकारका लागि निकै सक्रिय भएकासमेत शिथिल भइसकेको समयमा लामीटारेको ताप भने न घटेको थियो, न बढेको। उनको एकनासे साधु अभियानको साक्षी मलाई उनी एक रोचक मात्र लाग्दै थिए।

आरम्भमा सुन्दै नसुनेको नाम देवीभक्त लामीटारेको किताबको सम्पादनको जिम्मेवारी मेरा लागि पूरा गर्नैपर्ने एक ‘मिसन’मा परिणत हुनपुगेको थियो। इमानपूर्वक भन्नुपर्दा उनको जीवन छँदाभन्दा उनको मृत्युपछि यो जिम्मेवारी मेरा लागि भारी लागेको थियो।

पुस्तक–सम्पादनको काम अन्तिम चरणमा पुगेका बेला लेखकको निधन भएपछि निःशब्द भएको मलाई सार्वजनिक रूपमा उनको मृत्युको सत्यलाई स्वीकार गर्न पीडा र व्रीडाबोध एकसाथ भएको थियो। तर, अन्ततः अहिले पुस्तक तयार पारिसकेपछि त्यो दोष बोधबाट मुक्त भएजस्तो लागेर मन हलुका भएको छ।

-‘भुटान मिडिया सोसाइटी’द्वारा प्रकाशित पुस्तक ‘दन्किँदो भुटान’को सम्पादकीय परिचयको सम्पादित अंश। विनोद ढुङ्गेलले अद्यावधिक तथा सम्पादन गरेको यो पुस्तक बिहीबार काठमाडौंमा पाठकसमक्ष हस्तान्तरण गरिएको छ। 

प्रकाशित: ७ पुस २०८० ०७:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App