२० वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

आफ्नै पात्रलाई घृणा गर्ने लेखक

यस्तो पनि!

मानौं तपाईं लेखक हो। तपाईं आफैंले सिर्जना गरेको पात्रलाई घृणा गर्नु होला र ? तर यस्तो पनि हुन्छ भन्ने कुरा इतिहासकारहरूले हालै पत्ता लगाएका छन्।

प्रख्यात बेलायती लेखक सर आर्थर कोनन डोयल आफूले प्रख्यात बनाएको पात्र सर्लक होम्सलाई घृणा गर्ने गरेको इतिहासकारहरूले बताएका छन्।

‘दिमागी रूपमा ज्यादै चलाख सर्लक होम्सलाई लेखक निकै घृणा गर्थे,’ इतिहासकार लुसी वर्सली भन्छिन्, ‘खासमा लेखकभन्दा बढी त्यो पात्र चर्चित भएको उनलाई मन परिरहेको थिएन।’

सन् १८९१ देखि डोयलले एउटा म्यागेजिनमा यिनै सर्लक होम्सका कथाहरू लेख्न थालेका थिए। यो यति लोकप्रिय भयो कि त्यसको ११ वर्षपछि दरबारले उनलाई ‘नाइटहूड’ प्रदान गरेको थियो। यो राज्यले दिने निकै ठूलो सम्मानमध्येको एउटा हो।

रेडियो टाइम्स म्यागेजिनमा इतिहासकार वर्सली लेख्छिन्, ‘एउटा समयमा आइपुगेपछि उनी सर्लक होम्सप्रति विरक्तिन थालेका थिए। उनी आफूलाई राम्रो लेख्छु भन्ने सोचे पनि प्रकाशकले उनलाई गम्भीर लेखकका रूपमा कहिल्यै मानेन। छाप्नेहरूले पनि उनका उपन्यासलाई ‘सस्तो साहित्य’का रूपमा छाप्न चाहन्थे।

सन् १८९३ सम्म आइपुग्दा उनले सर्लक होम्सका उपन्यास लेखेरै पर्याप्त पैसा कमाइसकेका थिए। त्यसपछि भने उनले  आफ्नो पात्रलाई एउटा गम्भीर काममा स्विट्जरल्याण्डमा पठाउने र त्यहीँको तालमा डुबेर मार्ने तयारीमा लागेका थिए।

सन् १९०३ मा जब एक अमेरिकी प्रकाशकले उनलाई हालको १६ लाख डलर बराबरको रकम दिने आश्वासनका साथ उपन्यासलाई अघि बढाउन अनुरोध गरे, त्यसपछि भने पैसाका लागि उनले पुनः लेख्न थाले।

उनको निधन भएको ९३ वर्ष पूरा भइसकेको छ। उनका उपन्यासहरू भलै रद्दी ठानिए होलान् तर तिनलाई फिल्ममा उतार्न धेरै निर्माता हत्ते गर्छन्। सर्लक होम्स यति लोकप्रिय पात्र भयो कि उसमाथि चार वटा उपन्यास र ५६ छोटा कथाहरू तयार भए।

अपराधीहरूले कुनै पनि अपराध गर्दा के कस्ता साना तर नदेखिने गल्ती गरिरहेका हुन्छन् र सर्लकले ती गल्तीलाई कसरी पक्रन्छन् भन्ने विषयमा उनले निकै चाखलाग्दा कथा तथा उपन्यास लेखेका छन्।

एडिनबर्गमा जन्मिएका आर्थर कोनन डोयल चिकित्साशास्त्र अध्ययन गरिरहेका थिए तर पछि लेखकका रूपमा प्रख्यात भए। सन् १९३० मा ७१ वर्षको उमेरमा उनको निधन भएको थियो।

प्रकाशित: १९ मंसिर २०८० ०१:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App