चिसो बढेसँगै उत्तर–म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमाल आधार क्षेत्रमा अवस्थित हिमताल जमेर चट्टानझैं भएको छ। समुन्द्री सतहदेखि ४ हजार १ सय ९० मिटर उचाइमा रहेको पञ्चकुण्ड ताल जमेपछि त्यहाँ पुग्ने पर्यटकले जमेको तालमाथि हिँडेर नौलो अनुभव लिने गरेका छन्।
यो ताल अन्नपूर्ण हिमाल आधार क्षेत्रको प्रमुख आकर्षण केन्द्र मानिन्छ। करिब २० हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको ताल कडा चट्टानजस्तै जमेपछि आन्तरिक तथा बाह्य पर्यटक तालको मध्यभागसम्म पुगेर रमाउने गरेका छन्।
![](https://images.nagariknewscdn.com/third-party/1701483802_kai%204.jpg)
अन्नपूर्ण हिमालको फेदमा अवस्थित स्वच्छन्द निलो रङमा देखिने मनमोहक र आकर्षक यस तालमा परापूर्वकालमा भगवान् शिवले बास गरेको बताइन्छ। अत्यधिक चिसोले अन्नपूर्ण आधार क्षेत्रमा पर्ने साना ताल, बगिरहेका झरना र खोलाहरू पनि जम्न थालेका छन्। चिसो समयमा जम्ने, हिउँ परेपछि त्यसैले ढाकिने र गर्मी याममा पग्लिएपछि हिमाली छाया देखिने दृश्यले पर्यटक लोभिने गरेको अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताए।
‘स्केटिङ खेल्न मिल्नेगरी तालको पानी कडा स्वरूपमा जमेको छ। भविष्यमा खेल पर्यटनको सम्भावना समेत छ,’ सुवेदीले भने। करिब २० हजार वर्गकिलोमिटर अनुमान गरिएको तालको पानी जमेर समथर बनेको अवस्थामा खेल–पर्यटनसँग समेत जोड्न सकिने उनले बताए।
![](https://images.nagariknewscdn.com/third-party/1701483877_op%205.jpg)
निलो देखिने ताल जमेको अवस्थामा झनै सुन्दर देखिने गरेको छ। नीलगिरि हिमाल र अन्नपूर्ण हिमाल (पहिलो) बाट हिउँ पग्लेर बनेको ताल जमेको हो। तालको माथिल्लो क्षेत्र हुँदै अन्नपूर्ण हिमालको आरोहणका लागि जाने क्याम्प १ तर्फको बाटो तथा आसपासका क्षेत्रमा भने हिमपात भएको छैन।
अत्यधिक चिसोका कारण ताल जमे पनि पदैलमार्ग हँुदै बेसक्याम्पसम्म पुगेका राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेल, सदस्य जुद्धबहादुर गुरुङ, नेपाल सरकारका पूर्व मुख्यसचिव डा. सोमलाल सुवेदी, पर्यटन विज्ञ तथा सिटिइभिटीका पूर्व सदस्यसचिव रामहरि लामिछाने, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदी, नारच्याङका व्यवसायी तेज गुरुङ लगायत गाउँपालिकाका कर्मचारी, जिल्लाका सञ्चारकर्मी तथा स्थानीय अगुवाहरूसहितको २५ जनाको टोली हुमखोला हुँदै गुराँसेडाँडा, फुतफेते झरना, साँधीखर्क, भुुसकेत, चार हजार एक सय ९५ मिटर उचाइमा रहेको नारच्याङ पञ्चकुण्ड ताल हुँदै आधार शिविरसम्म पैदलयात्रा गरेका थिए।
![](https://images.nagariknewscdn.com/third-party/1701483942_hio.jpg)
पैदलयात्राका क्रममा गाउँपालिकाका प्रशासकीय अधिकृत हरिकृष्ण आचार्य, इन्जिनियर ईश्वर भण्डारी र राजस्व अधिकृत नवीन भट्टलगायत प्राविधिक टोलीले पदयात्रामा निर्माण गर्नुुपर्ने पूर्वाधार र नक्साङ्कनका लागि सर्वेक्षण पनि गरेको छ।
संसारमा रहेका ८ हजार मिटरभन्दा अग्ला हिमालमध्ये पहिलोपटक आरोहण भएको नेपालको अन्नपूर्ण प्रथम हिमाल (८०९१ मिटर)को आधार शिविर उत्तरी म्याग्दीस्थित अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरबाट पदयात्रामा निस्कँदा १ दिनमै पुग्न सकिन्छ भने बिस्तारै यात्रा गर्दा डेढ दिनमा बेसक्याम्पस पुग्न र एकदिन फर्किन लाग्छ।
![](https://images.nagariknewscdn.com/third-party/1701484012_mu%206.jpg)
अन्नपूर्ण बेसक्याम्पको सबैभन्दा आकर्षक यही पञ्चकुण्ड ताल मानिन्छ। नेपालमा ‘जेठो हिमाल’ भनेर समेत चिनिने अन्नपूर्ण प्रथमको आधार क्षेत्रसम्म पुग्ने ‘मौरिस हर्जोग पदयात्रा’ अन्तर्गत नारच्याङको दोभान–छोटेपा हुँदै हुमखोलासम्म सवारी साधनमा पुगेर त्यहाँबाट पैदलमार्ग हुँदै आधार क्षेत्रसम्म पुगिने अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भरतकुमार पुनले बताए।
अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरबाट २२ किलोमिटरसम्म सवारी साधनको यात्रा गरी होमखोलासम्म आइपुगिन्छ। त्यहाँबाट २१ किलोमिटरको पदैलयात्राबाट आधार क्षेत्र पुगिन्छ। आन्तरिक पर्यटकका लागि छोटो दुरीको प्याकेजमा १ दिने, ३ दिने र लामो दुरीका लागि ७ दिन तय गर्दा सहज हुन्छ।
आधार शिविरसम्म पुग्ने बाटोमा ठाउँ ठाउँमा निर्मित आश्रयस्थल, विश्राम गर्ने चौतारालगायत पूर्वाधारले यात्रा सहज भएको अध्यक्ष पुनले बताए।
![](https://images.nagariknewscdn.com/third-party/1701484074_aa%2056.jpg)
पदमार्गअन्तर्गत छोटेपा, हुमखोला, फुतफुते झरना, सन्धिखर्क, भुसकेत, धर्मशाला गरी ६ वटा खोलामा झोलुंगे पुलसमेत छ। आधार क्षेत्रमा हेलिकोप्टरबाट धेरै पर्यटक आवतजावत गर्ने गरेका छन्। चालु आवमा सामुदायिक लजसहितका अन्य संरचना बनाउने तयारीसमेत भइरहेको छ।
सात दशकअघि सन् १९५० को जुनमा अन्नपूर्ण हिमाल आरोहण गरी पर्वतारोहणको सुनौलो इतिहास रचिएको थियो। मौरिसले अन्नपूर्ण आरोहण गरेको दुई वर्षपछि सगरमाथाको पहिलो आरोहण भएको थियो। मौरिस नेपाललाई हिमाल आरोहणबाट विश्वमा चिनाउने पहिलो विदेशी आरोही हुन्।
प्रकाशित: १६ मंसिर २०८० ०२:१८ शनिबार