३० वैशाख २०८१ आइतबार
image/svg+xml
कला

दण्डनीय

लघुकथा

‘किन तिमीले उसको हत्या गर्‍यौ?’

भर्खर मात्र पन्ध्र वर्ष टेकेको आफ्नो सन्तानको हत्याको अभियोगमा कठघरामा उभिएकी बुढी महिलालाई न्यायाधीशले केरकार गर्दै थिए।

‘आफ्ना अघिल्ला सन्तानले पिरोलिएकी म यो सन्तान जन्मिंदा निकै हर्षित थिएँ। हुर्काउन निकै सकस पर्‍यो। जन्मेको दस वर्षसम्म निकै बिरामी पर्‍यो। सबैले आस मारेका थिए। वल्लो घर पल्लो घर धेरैले दागा धरे पनि। तर, ममा साहस थियो, आत्मविश्वास थियो। निकै सकसपछि संवैधानिक बुटीले उसलाई तंग्राएँ।’

महिला केहीबेर चुप भइन्।

‘अनि यस्तो दुःखले हुर्काएको सन्तानप्रति किन निर्दयी भएको त?’ फेरि न्यायाधीशको प्रश्न तेर्सियो।

‘उसले आफ्नो जात धर्मकर्म सबै छाड्यो। पहिलाका सन्तानभन्दा झन् गतिछाडा भयो। समाजको लागि सिनो भयो, महामारी भयो। आफ्नैका भकारी कोतरेर लाद्रो भर्न थाल्यो, आफ्नै कोख कोतर्न थाल्यो तर म माकुरो हुन सकिनँ। नालायक सन्तानको आमा भएर समाजमा घृणित हुन सकिन। सामाजिक उत्थानको लागि तिलाञ्जली दिएँ।’

‘तर, यस्तो जघन्य अपराधमा निकै ठूलो सजाय हुन सक्छ नि।’

फिस्स हाँस्दै उनले जवाफ दिइन्,‘खोई के सजाय दिन्छौ र तिमीले? हिजोको दिनमा तीस वर्षे लक्का जवान छोरा र १३ महिने नाबालकको घाँटी निमोठ्दा त केही गर्न सकेनौ?’

प्रकाशित: १५ मंसिर २०८० ०५:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App