२० वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

निर्माता र हल सञ्चालकले ५०-५० प्रतिशत सेयर बाँड्ने

नेपाली फिल्म हलमा प्रदर्शन हुँदा फिल्म प्रदर्शन अवधिभर हल सञ्चालक र फिल्म निर्माताले ५०/५० प्रतिशत सेयर बाँडफाँट गर्ने भएका छन्।

बिहीबार नेपाल चलचित्र संघ र नेपाल निर्माता संघबीच भएको बैठकमा हलमा फिल्म प्रदर्शन भएको अवधिभर ५०/५० प्रतिशत सेयर बाँडफाँट गर्ने सहमति भएको जानकारी नेपाल निर्माता संघका अध्यक्ष नवल खड्काले जानकारी दिएका हुन्।

‘चलचित्र संघ र नेपाल निर्माता संघबीच भएको दुई चरणको बैठकले नेपाली फिल्म हलमा प्रदर्शन भएको अवधिभर हल सञ्चालक र फिल्म निर्माताले ५०/५० प्रतिशत सेयर बाँडफाँट गर्ने सहमति भएको छ,’ उनले भने, ‘यस निर्णयले नेपाली फिल्ममा लगानी गर्ने निर्माताहरूलाई राहत दिएको छ। लामो समयदेखिको यस विषयमा विवाद हुँदै आएकोमा अब भने निर्माताहरूलाई फिल्ममा गरेको लगानी उठाउन सहज हुने महसुस गरेका छौं।’

उनका अनुसार हलमा नेपाली फिल्म प्रदर्शन भएको अवधिभर हल सञ्चालक र निर्माताले ५०/५० प्रतिशत सेयर बाँडफाँट गर्ने सहमति कात्तिक २४ गतेदेखि लागू गरिएको छ। कात्तिक २४ गते निर्देशक निश्चल बस्नेतको फिल्म ‘दिमाग खराब’ प्रदर्शनमा आएको थियो।

हालसम्म हलमा प्रदर्शन हुने ट्रेलर, हल परिसरभित्र राखिने होर्डिङ बोर्ड र पोस्टरलगायत प्रचार सामग्रीमा लाग्ने खर्च निर्माताले बेहोर्दै आएकोमा अब कस्ले लगानी गर्ने भन्नेबारे छलफल हुने जानकारी उनले दिए। उनका अनुसार विदेशी फिल्मको ट्रेलर प्रदर्शनदेखि प्रचार सामग्रीसम्मको खर्च भने हल सञ्चालकले गर्दै आएका छन्।

यसअघि फिल्म हल संचालकहरूले हिन्दी फिल्म ‘टाइगर थ्री’लाई बढी शो दिएपछि आपत्ति जनाउँदै ‘दिमाग खराब’ फिल्मका निर्देशक बस्नेत र निर्माता रौनकविक्रम कँडेलले फिल्म प्रदर्शन रोक्ने चेतावनी दिएका थिए। ‘दिमाग खराब’ फिल्मका निर्माता कँडेल र निर्देशन बस्नेतले विदेशी फिल्म बराबर हलमा शोहरू पाउनुपर्ने र तेस्रो साताबाट निर्माताले जम्मा ३५ प्रतिशत मात्र सेयर पाउने नीति बदलेर ५०–५० प्रतिशत गर्नुपर्ने सर्त अगाडि सारेका थिए।

त्यसपछि नेपाल चलचित्र संघले ‘दिमाग खराब’ फिल्म युनिटलाई छलफलमा बोलाएर तत्काल प्रदर्शन नरोक्न सहमति गरेको थियो। ‘नेपाल चलचित्र संघ र दिमाग खराब फिल्म युनिटबीच बसेको पहिलो चरणको बैठकमा दर्शकको मागअनुसार फिल्मको शो बढाउँदै जाने सहमति जुटेपछि हलमा फिल्म प्रदर्शन भइन्जेल ५० प्रतिशत सेयर कायम गर्नुपर्ने निर्माताको मागमा सहमति जुट्न सकेन थिएन्,’ नेपाल चलचित्र संघका महासचिव नरेन्द्र महर्जनले भने।

हलमा नेपाली फिल्म प्रदर्शन भएको पहिलो र दोस्रो हप्ता निर्माताहरूले आम्दानीको ५० प्रतिशत पाउने गरेका थिए भने वितरकहरूले ५० प्रतिशत राख्ने गरेका थिए। तर तेस्रो हप्ताबाट फिल्म निर्माताहरूले आम्दानीको ३५ प्रतिशत मात्रै पाउने गरेका थिए।

प्रकाशित: ८ मंसिर २०८० १२:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App