५ आश्विन २०८१ शनिबार
image/svg+xml
कला

यस पटक धुम्म रहने छ दसैँ !

बङ्गालको खाडीबाट  बादल उठ्न  पो रोकिएको हो

अरब खाडीबाट आँसुको भेल  आउन बाँकी नै छ।

मौसम विज्ञानले भन्ला  दसैँमा  आकाश खुल्ने छ

मनोविज्ञानले भन्छ  यो पटक  दसैँ धुम्म रहन्छ।


भित्ताको क्यालेन्डरले  टिका साइतमै छ भने पनि 

युद्धको आगोले  खुसीको क्यालेन्डर जलाइसकेको छ। 

जमरा  लगाउनेहरू बङ्कर मा थुनिएको यो क्षणमा

बारुदले चिरेको यो  मन भन्छ – दसैँ धुम्म रहन्छ।

पिङमा पालो पर्खनेहरू प्लेनको बाटो कुरिरहेका छन्

सँगै खानेखेल्नेहरु मलामी बनेर फर्कँदै छन् । 

आँधी आउनु अघिको सन्नाटा डरलाग्दो छ 

आत्तिएको  मनले भन्छ  दसैँ धुम्म रहन्छ ।  


रातो अबिर पोखिएको छ , खुसीको पिङ चुँडिएको छ

जीवन–मृत्युको   प्रतीक्षामा पर्वको पर्खाइ फिक्का छ।

लङ्गुर बुर्जामा भाग्य तौलनेहरू जीवन हारेर फर्कँदै छन् 

महिषासुर जित्ने यो दसैँ आफैसँग हारेर धुम्म छ।


सल्यान र सुनसरीका आकाशमा कालो बादल मडारिँदै छ 

बझाङ र डोटीका डाँडामा पीडाको बाँध अग्लिँदै छ।

जब विद्यार्थीको हुलसँगै  पीडाको आँधी आउँछ

 तब सिङ्गो नेपालले भन्छ, दसैँ धुम्म रहन्छ।


मौसम विज्ञानले भन्ला दसैँमा आकाश खुल्ने छ। 

मनोविज्ञानले भन्छ  यो पटक  दसैँ धुम्म रहन्छ।

प्रकाशित: २५ आश्विन २०८० ११:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App