‘मेरी बास्सै’मा ‘माग्ने बुडो’को चरित्र निर्वाह गरेर दर्शका प्रिय बनेका हाँस्य अभिनेता हुन्, केदार घिमिरे । उनले अभिनय गरेको ‘छक्का पञ्जा–२’ प्रदर्शनको तयारीमा छ ।
तपाईं हास्यअभिनेता नभएको भए के बन्नुहुन्थ्यो ?
म वकिल, न्यायाधीश वा व्यापारी बन्थेँ होला । कानुनको पढाइ पूरा गर्न नसकेको मान्छे हुँ । चीन–नेपाल सामान आयात गरेको मान्छे पनि हुँ ।
कलाकार बनिसकेपछि के कुरालाई तपार्इं सबैभन्दा बढी ‘मिस’ गर्नुहुन्छ ?
म मेरो व्यक्तिगत जीवनलाई मिस गर्छु । सेलिब्रेटी भएपछि जहीँतहीँ सर्वसाधारण जसरी घुम्न पाइँदैन ।
तपाईंको पहिलो जागिर र तलब कति थियो ?
चाइना हेनान इन्टरनेसनल भन्ने कम्पनीमा मेसिन अपरेटरका रुपमा काम गर्थेँ । त्यहाँ मेरो तलब ३२ सय रुपैयाँ थियो तर मेरो पहिलो कमाई त्यो होइन । पहिलो आम्दानीचाहिँ बालुवा बोकेर ५० रुपैयाँ कमाएको थिएँ ।
जीवनको कुनै यस्तो दिन, जसलाई तपाईं फेरि जिउन चाहनुहुन्छ ?
म दुई कक्षामा पढ्दा हाजिरीजवाफ प्रतियोगितामा प्रथम भएको थिएँ । त्यो बेलाको खुसी र साथीहरुले गरेको प्रशंसा म भुल्न सक्दिनँ । मिल्ने भए त्यो दिन फेरि जिउँथे ।
मनोरञ्जन क्षेत्रको कुन कुरा तपाईंलाई सबैभन्दा बढी मन पर्छ ?
म आफैँ लेखक पनि भएकाले मनमा उकुसमुकुस भएका कुरा पर्दामा व्यक्त गर्न सक्छु । यस क्षेत्रको यो कुरा मलाई मनपर्छ ।
के कुराले तपार्इंलाई बढी चित्त दुख्छ ?
ठ्याक्कै भन्न त गाह्रो ! सुटिङका लागि भनेजस्तो स्टुडियो र कलाकारका लागि पर्याप्त पारिश्रमिक नहुँदा चित्त दुख्छ ।
तपाईंको अगाडि साँच्चिकै भुत प्रकट भयो भने ?
सायद तर्सिन्छु होला ।
पर्दाको ‘माग्ने बूढो’ले रियल लाइफमा कहिल्यै माग्नुपरेको छ ?
छ । २०५० सालमा मेरो घरमा आगलागी भएको थियो । ९६ हजार रुपैयाँ क्यास डढेको थियो । जमिनमात्र बाँकी रहेको थियो । शरीरमा हाफपाइन्ट र स्यान्डो गन्जी मात्र बाँकी थियो । त्यतिबेला खोइ कसले यस्तो बेला माग्नुपर्छ भनेर सिकायो । अनि मैले भोलिपल्ट गाउँतिर झोला बोकेर माग्न हिँडे । कसैले चामल, कसैले धान, कसैले आलु दिए । मागेर एक भारी बनाएको थिएँ ।
एउटा होइपोथेटिक प्रश्न सोधौँ, यदि तपाईं देशको प्रधानमन्त्री बन्नुभयो भने सबैभन्दा पहिला के गर्नुहुन्छ ?
देशमा बन्द भएका उद्योग–धन्दालाई खोल्न लगाउँछु । देशका उद्योगधन्दा बन्द भएर नै हामी सबैलाई माग्ने बनाएको छ । यहाँ उत्पादन नभएर देशको पैसाबाहिर गइरहेको छ ।
कस्तो कुराले तपाईंलाई बढी खुसी बनाउँछ ?
स–सानो कुरामा खुसी हुन्छु । जस्तो अस्ति भर्खर रोल्पाको एउटा फ्यानले हाम्रो लिवाङमा फ्रि वाइफाइ हुने भयो भनेर सुनाउँदा एकदमै खुसी लाग्यो ।
के देख्दा दुःख लाग्छ ?
थुप्रै देश घुमियो तर प्राकृतिक सम्पदाको हिसाबले हाम्रो देश धनी छ तर देश सिस्टमेटिक नभएको देख्दा दुःख लाग्छ । नत्र हामीसँग के छैन ? तालमा ताल, हिमालमा हिमाल, नदीनाला सबै छ ।
युवतीहरूले प्रेम प्रस्ताव राख्दा कस्तो लाग्छ ?
त्यति राख्दैनन् । कहिलेकाहीँ फेसबुकमा फाट्टफुट्ट लेख्छन् । बूढो भइसक्यो, कपाल फुलिसक्यो, त्यसैले त्यस्तो केही लाग्दैन ।
तपाईंको गोप्य कुरा जो दर्शकलाई थाहा छैन ?
मेरी श्रीमती मभन्दा एक इन्च अग्ली छन् ।
तपाईंले चाहेको तर गर्न नसकेको कुनै अधुरो काम ?
पढाइ नै हो । कानुन पढ्दा आइएमै फेल भइयो ।
तपार्इंको कमजोरी के हो ?
सबैलाई छिट्टै विश्वास गरिहाल्नु, भावनामा बगिहाल्नु ।
आफूभित्रको के कुरालाई आफ्नो शक्ति ठान्नुहुन्छ ?
संघर्षशील स्वभाव, जसले मलाई यहाँसम्म पुर्यायो ।
आफूलाई नै मनपर्ने आफ्नो बानी ?
अध्ययनशीलता ।
तपाईंलाई कुनै एउटा समारोहमा स्वेच्छाले कुनै एउटा विषयमा भाषण गर्न भनियो भने के विषय रोज्नुहुन्छ ?
मलाई खासमा भाषण गर्नै आउँदैन तर विषय आफैँ रोजेर भन्नुप¥यो भने चाणक्य नीतिका केही कुरा नेपालीमा उल्था गरेर भन्न सक्छु होला ।
तपाईं सबैभन्दा बढी रोएको क्षण ?
९ कक्षामा फेल हुँदा । लाजले गर्दा फेल भएको स्कुलमा मुख देखाउन गइनँ । अर्को स्कुलमा भर्ना भएँ ।
तपाईंका लागि हास्यकलाकार हुनु भनेको के हो ?
दर्शकका प्रतिक्रिया सुन्दा लाग्छ– यो एउटा साइकोलोजिकल डाक्टर हुनुजस्तै हो । दर्शकहरुले देशविदेशबाट ‘दिक्क लागेका बेला तपाईंको भिडियो हेरेर मज्जा लिन्छु’ भनेर प्रतिक्रिया दिँदा त्यस्तै लाग्छ ।
प्रस्तुतिः अनिल यादव
प्रकाशित: १६ आश्विन २०७४ ०५:०७ सोमबार