२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

समाजको प्रतिविम्ब

पुस्तक

 

पुत्र कुपुत्र हुन सक्ला तर माता कुमाता कदापि हुन सक्दिनन्। यो लोकप्रिय मिथक समाजमा आज पनि सुनिन्छ। जसरी आमा आफ्ना सन्तानलाई बेचेर खुसी हुन सक्दिनन्, ठिक त्यसैगरी एउटा सर्जक पनि आफ्ना सिर्जना बेचेर कहाँ खुसी हुन सक्छ र? जसरी सन्तानको बिछोडमा आमाको मुटुमा घाउ बन्छ, त्यसैगरी सिर्जनाको बिछोडमा सर्जकका मुटुमा पनि घाउ बन्छ।  

संघर्ष गरेपछि ईश्वर पनि फल दिनका लागि तत्पर हुन्छन्। यो त सामान्य कुरा भइहाल्यो, अलिक पुरानो मिथक पनि। तर नवीन प्रस्तुति के आएको छ भने कडा मेहनतका अगाडि यमदूतसमेत शिर निहुराउँछन्। त्यसको पनि एउटा अविजित उदाहरण प्रस्तुत छ। श्रमको जति सम्मान दुनियाँमा अर्को चिजको हुनै सक्दैन।

आस्था र आशाले नै मान्छेलाई जगाउँछ। कठिन परिस्थितिमा पनि आशाको झिल्कोले मान्छेलाई बाँच्न प्रेरित गर्छ। जीवन त उसै पनि बित्छ तर आस्थाबिनाको जीवनको पनि के मूल्य?

कपडाविहीन शरीर होस्, केही छैन तर सपनाविहीन शरीर नहोस्। सपना नै नबोकेको शरीर र निन्द्रा नै नभएको शयन एउटै हुन्। एक मान्छे बिग्रिए केही फरक पर्दैन तर एक गुरु बिग्रिए पूरै शिक्षा र शिक्षा प्रणाली बिग्रन्छ, सिकाइ बिग्रन्छ। सिकाइ बिग्रिए विद्यार्थी बिग्रन्छन्। विद्यार्थी नै बिग्रिएपछि त के नै बाँकी रहन्छ र ? समाज, देश, दुनियाँ बिगार्नु छ भने अरू केही बिगार्नुपर्दैन, सिकाइ प्रणाली बिगारे पुग्छ, विद्यार्थी बिगारे पुग्छ। विद्यार्थी नै इतिहास हुन्, विद्यार्थी नै भविष्य र वर्तमान हुन्।  

ऐजेरु लागेपछि तन्नेरी रुख पनि रुख रहँदैन, रुखो रहन्छ। यस्तै हो एउटा नृपको नियतिमा ऐजेरु लागेपछि देश पनि देश कहाँ रहन्छ र, दशा बन्न थाल्छ, द्वेष बन्छ।

रंगीबिरंगी इँटाहरूले बुट्टेदार घरको भित्ता रंग्याएजस्तै लेखिका साधना प्रतीक्षाले विभिन्न प्रकारका नवीन दृष्टान्तका रङले कथासंग्र्रह ‘यमदूतको आत्मसमर्पण’ रंग्याएकी छिन्। यस संग्रहभित्र २५ वटा कथा सङ्गृहीत छन्। समाजवादको जन्म कहाँबाट हुन्छ र समाजवादको अवसान कसरी हुन्छ ? मानवता कहाँबाट सिर्जित छ र मूर्खता कहाँ उद्वेलित छ ? यस्तै प्रकारका प्रश्नको जवाफ खोज्ने हो भने प्रस्तुत कथासंग्र्रह पढ्नैपर्ने हुन्छ। पूर्वी वाङ्मयका अधिक साहित्यिक कृतिहरूमा मेहनतको खुबै व्याख्या भएको पाइन्छ। धेरै कृतिमा लेखिएको छ कि परिश्रमले नै भाग्य निर्माण हुन्छ, साधनाले नै जीवन सिद्ध हुन्छ। उसो त मार्कण्डेय पुराणबाट यो सिकिन्छ कि छोटो आयु भएका मार्कण्डेय पनि साधनाले आफ्नो आयुभन्दा निकै बढी वर्ष बाँचे। साहित्य वा पुराणमा लेखिएको साधना योग–ध्यान मात्र नभई कर्म पनि हो। सायद मार्कण्डेयले पनि कुनै त्यस्तो कर्म गरे, जसले गर्दा उनले आफ्नो मृत्युलाई जिते। यसका नवीन उदाहरण हुन् वैज्ञानिक स्टेफन हकिङ। उनलाई डाक्टरले थप दुई वर्षसम्म बाँच्न सक्ने बताएका थिए तर उनी भने ७६ वर्ष अर्थात् डाक्टरले भनेको अवधिभन्दा थप ५२ वर्ष बाँचे। यही हो विश्वास, आस्थाभित्र लुकेको मिहिन कुरा। जो हेर्दा र सुन्दा मजाक लाग्छ तर वास्तविक भइदिन्छ। कथाकार प्रतीक्षाले पनि कर्मप्रतिको लगावले नै मान्छेले सफलताको शिखर चुम्न सक्ने देखाएकी छिन्।

वर्तमान समयमा नेपाली समाजको गतिदिशा, शान्तिभित्रको बेथिति, स्थितिभित्रको प्रगतिवादका बारेमा समेत कथामा केही हरफ संयोजन गरिएका छन्। ‘यथार्थबोध’ कथामा कथाकारले पाठशाला तथा हाम्रा विश्वविद्यालयका कम्पाउन्ड युद्धस्थल बन्न थालेको संकेत गरेकी छिन्। पाठशालामा अचेल बाघका जस्तो गर्जन सुनिन्छ। जहाँ बसेर जीवन बुझ्नुपर्छ र ज्ञान प्राप्त गर्नुपर्छ, तिनै ठाउँ असुरक्षित बनिरहेका छन्।

नारीवाद र नानीवादको सुगन्ध पाइने यस कृतिमा नारी वीरता, नारी सुन्दरतादेखि नारीको कर्मणा, रूप–शृंगार र धार्मिक संस्कारको वर्णन गरिएको छ। कथामा हामी नेपालीको रहनसहन, कर्म, पेसाको समेत वर्णन छ। एकातिर गाउँमा जीवन जिइरहेकाहरूले भोगेका कष्टप्रद अवस्थालाई कथामा उजागर गरिएको छ भने अर्कातिर एउटा नागरिकले आफ्नो देश कस्तो होस् भन्ने चाहना राख्छ ? त्यो चाहना पनि संग्रहभित्र सङ्गृहीत छ। मूल कर्म गर्न छाडेपछि कालिगडको सिप आफै हराउँछ। संगीत भर्न छाडेपछि संगीतकारले संगीतको सुर पनि भुल्छ। मूल मानवता भुलेपछि मानव पनि युद्धको बाटोतिर लम्कन्छ। आफ्नो मूल कुल परम्परा, माटोको रङ र गन्ध बिर्सिएपछि चारैतर्फबाट हारको समाचार सुनिन्छ। यसैले सदैव आफ्नो मूल बाटोमा हिँड्नुपर्छ। मूल बाटोबाट हिँड्दा मात्र गन्तव्यमा पुगिन्छ। यस्तै किसिमको दर्शन कथामा पाइन्छ।

पाकेर थिलथिलो भएको पिलोले जिउ दुखाएजस्तै राजनीतिका कारण दुखिरहेको देश र देशले भोगिरहेको परिस्थितिलाई कथामा झन् नजिकबाट प्रस्तुत गरिएको छ। देशको अधोगति तथा ऊध्र्वगतिका कारण राजनीति मात्र नभई आम नागरिकका क्रियाकलाप, पाठशालाको पढाइ, कर्मचारीको चरित्र, देशको आन्तरिक सम्बन्ध तथा संस्कृतिजस्ता विषयवस्तु पनि हुन् भन्ने दृष्टान्त कथासंग्र्रहभित्र छ। एक आपसमा लडालड, विजयीको होडबाजी, लोभले गरेका पापपूर्ण क्रियाकलापहरू तथा एकअर्काका कुकृत्य पोखापोख गरेर जीवन र महŒवपूर्ण समयलाई बर्बाद गरिरहेका नृपहरू नृपशु बन्ने बाटोमा लम्केका छन्। बेथिति र अत्याचारले इमानको बाटो खाएको यस समयमा अझै पनि आशाको त्यान्द्रो चुँडिएको छैन। उसो त रत्नाकर पनि डाँकु थिए। पछि सुध्रिएर वाल्मीकि बने।

कालीदास महामूर्ख थिए। पछि उनै संस्कृत साहित्यजस्तो महासाहित्यका महाकवि बने। यसैले हामी आफ्नै मूल बाटोमा फर्किनुपर्छ भन्ने एउटा नवीन दृष्टिकोण यस कथासंग्र्रहभित्र छ। यहाँ मूल बाटो भन्नाले शासकीय व्यवस्था, शिक्षण सिकाइको अवस्था, धार्मिक तथा राजनीतिक संस्कारको मूलमार्ग भनिएको हो। हाम्रो मूलमार्ग संस्कारसहितको राजनीति, शासकीय व्यवस्था तथा लोकतन्त्रभन्दा पनि माथि नीतितन्त्र हो भन्ने कुरालाई दर्साइएको छ। जब एउटा निश्चित मार्ग हुन्छ, तब बाटोमा हिँड्ने जुनसुकै बटुवा पनि गन्तव्यमा पुग्न सक्छ तर जब मार्ग निश्चित हुँदैन, तब जस्तोसुकै धावकले आफ्नो गति जतिसुकै बढाइरहे तापनि ऊ कहिल्यै गन्तव्यमा पुग्न सक्दैन। सम्पन्नताले होइन, मान्छेलाई चरित्रले चिनाउँछ। चरित्र नै सबैभन्दा उच्चतम् गुण हो। सम्पन्नताले व्यवहार कहाँ सिकाउँछ र ! व्यवहार त चरित्रको ऐना हो। यस्तै यस्तै नैतिक दृष्टान्त तथा विचारको सँगालो बनेको छ ‘यमदूतको आत्मसमर्पण’।

लेखनका क्रममा प्रयोग गरिएको भाषाशैली र कथाको शिल्प प्रभावशाली हुँदाहुँदै सम्पादनमा चुकेका ठाउँ पनि देखिन्छन्। 

प्रकाशित: २७ श्रावण २०८० ०३:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App