२३ आश्विन २०८१ बुधबार
image/svg+xml
खेल

बर्जकुमारलाई चीनमा स्वर्ण

नेपालका बर्जकुमार राईले चीनमा सम्पन्न पहिलो अन्तर्राष्ट्रिय कराते एलायन्स क्योकुसिनरियु (आइकेएके) विश्व जुनियर तथा सिनियर च्याम्पियमसिपमा स्वर्ण जितेका छन्।

चीनको तियानचिन सहरमा भएको विश्व च्याम्पियनसिपमा बर्जकुमारले पुरुष ८० केजी तौलसमूहमा स्वर्ण जितेका हुन्। यो तौलसमूहमा कुल १५ खेलाडीले प्रतिस्पर्धा गरेको नेपाली टोलीका म्यानेजर ऋतुवर्तन राईले जानकारी दिए। 

बर्जकुमारले फाइनलमा पोल्यान्डका खेलाडीलाई हराउँदै स्वर्ण पदक प्राप्त गरेका हुन्। पहिलो खेलमा बाई पाएका बर्जकुमारले दोस्रो खेलमा भने घरेलु टोलीका खेलाडीलाई निराश पारे। तेस्रो राउन्ड पनि उनले प्रतिस्पर्धा गर्नु परेन र फाइनलमा स्थान बनाए। फाइनलमा भने बर्जकुमारले पोलिस खेलाडीमाथि सहज जित रचे। खोटाङका बर्जकुमार सिंगापुर प्रहरीमा कार्यरत छन्। उनले एसियन च्याम्पियनसिपमा स्वर्ण पदक पनि जितेका थिए।

अन्तर्राष्ट्रिय कराते एलायन्स क्योकुसिनरियु चीनको आयोजनामा सम्पन्न च्याम्पियनसिपमा नेपालको तर्फबाट दुई खेलाडीको प्रतिस्पर्धा रहेको थियो। जुनियरतर्फ भने नेपालका केल्साङ तामाङ पहिलो चरणमै चीनका खेलाडीसँग पराजित हुन पुगे। यस च्याम्पियनसिपमा आयोजक चीन, नेपाल, फिलिपिन्स, ब्राजिल र भारतलगायत २२ वटा राष्ट्रका खेलाडीले प्रतिस्पर्धा गरेका थिए।

अन्तर्राष्ट्रिय कराते संघ क्योकुसिनरियो नेपालका सल्लाहकारसमेत रहेका ऋतुवर्तनले थोरै संख्यामा नेपाली खेलाडीले प्रतिस्पर्धा गरे पनि पदक प्राप्त गर्न सकेकोमा खुसी व्यक्त गरे। यो खेल गोर्खा सिंगापुर पुलिस फोर्सबाट अवकाशप्राप्त र वहालवाला प्रहरीको प्रयासमा २०७९ सालमा भित्रिएको हो। 

प्रकाशित: २३ आश्विन २०८१ ०७:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App