मिसु श्रेष्ठ
१) जीवन चक्र
ऊ अलिकति बुढीपट्टि सर्यो। बुढी निकटतामा पुलकित भई।
‘आखिर बुढालाई बुढी, बुढीलाई बुढा त रहेछ नि! निस्तब्धता भङ्ग गर्दै बोली बुढी।
जिस्किने अभिप्राय बोल्यो ऊ, ‘हो त, ऊ बेला मेरो कोठामा पस्न कति गाराे मान्थ्यौ, हेर न अहिले कत्ति टाँस्सिएकी!’
बुढीले मनको तुस शान्त पार्ने चेष्टा गरी,‘उमेरमा दसतिर रमाएर मलाई रुवायौ!’
‘बोल्दैमा, हिंड्दैमा गलत त हुइन्न नि! अझै त्यस्ता भ्रमले विचलित बन्दैछ्यौ र?’
‘मैले त्यति धेरै शंका त गर्दिनथेँ तर रीस उठ्थ्यो।’
कानमा साउती गर्यो,‘अझै रीस मरेको छैन त?’
‘हट्’ भन्दै टाउको पर लगेर सिरकले मुख छोपी।
“मलाई आज साह्रै खिन्न लागेको छ।’
उसले ठट्टा भावमा बोल्यो,‘किन र बीस बर्ष अघिको उही प्रेमा सम्झेर?’
‘त्यस्ता प्रेमास्रेमा छाडिदे। ल्याको भा, यो बुढेसकालाँ काममा घोटिनु त पर्दैनथ्यो।’
‘हैट के हुन्थ्यो, वित्थामा झगडा गरेर...।’
बुढी फुस्फुसाई, ‘छोराले ठूलो घर बनायो, गाडी ...!’
ऊ सम्हालिंदै बोल्यो,‘कति भाग्यमानी है हामी!’
सुस्केरा हाली,‘हो नि तर एकवचन यतै बस्नु समेत त भनेन! आमाबाबुको माया छोराछोरीमाथि, छोराछोरीको माया ढुंगामुढामाथि! कस्तो निष्ठुरी भएको है!’
‘तिमीलाई बस भने बस्थ्यौ त?’ फेरि हामीले पनि त यो घर सर्दा बाआमालाई एकवचन जाऔं भन्न सकेनौं त!
२) अफसोस
सम्बन्धहरूको लेनदेनमा भौतिक वस्तुहरूको बाँडफाँड राम्रै भयो। सम्बन्ध-विच्छेदपछि पत्नीले ५० लाख नगद समेत यो घर र केही आना जग्गा पाइन्। पतिले आफ्नो जैविक अंशस्वरूप छोराछोरी रोज्यो।
बाँडफाँड सकिए। सम्पूर्ण आक्रोश सकिए। गुनासा सकिए। सम्बन्धमा रहँदाका तितापिरा मनका द्वेषहरू सब पखालिए। कुचो लगाइयो, पोछा लाइयो। न कुनै तुस न आस बाँकी रह्यो। दुवै स्वतन्त्र भए। दुवै जितेको महसुस गर्दै आफ्नो पृथक् गन्तव्यको यात्रा तय गरे।
कदमहरू अघि बढ्दै थिए। पछाडिपछाडि काँडा बिछ्याउदै गए। जतिजति भौतिक दूरी बढ्दै गए उतिउति केही छुटे जस्तो दुवैलाई महसुस हुँदै गयो।
दुवैका पाइला रोकिए। फर्केर हेरे। दुवैको आँखा जुधे।
पलभरमै दुवैले आफैंलाई नियाले। ह्रदयको अन्तस्करणमा पल्लवित प्रेमको मुना न बढारिएछ न पुछिएछ! न त निमोठिएछ!
३) झमेला
हाकिमसँग ठाकठुक पर्यो। घर पुगें। मूल ढोकामा चप्पलमा अल्झें। कराएँ। बुढीले हत्तपत्त मिलाइन्। छोरा खेल्दै गरेको बलमा अल्झें झण्डै लडें। बाथरुममा धुँदै गरेको लुगा अरसल्ल रहेछ। चिप्लें तर लडिन।
म फेरि कराएँ, ‘कति लुगा धोएको बाथरूम कहिल्यै खाली हुँदैन।’
‘अफिसबाट आउँदा भिजेका लुगा!’उनी बोलिन्।
कपडा फेर्न बिहान खोलेको कपडा देखिन, मेरो पारो तात्यो।
हाँस्दै बोलिन्, ‘ए अर्को ठिक पारिदिऊँला भनेको बिर्सेछु। हेरेर लाउनुस् ल!’
छोरासँग चिच्याएँ,‘भोक लाग्यो खाजा छैन?’
ढाडिएको हातले दही, च्यूरा र केरा लिएर आइन्।
तुरुन्त बोलेँ,‘पानीमा भिजेर आएको , तातो देली भनेको त!’
‘चिया बसालेकी छुँ। ’ मुस्कुराउँदै बोलिन्। मलाई गिज्याएझैं लाग्यो।
‘खान्न यो दही-च्यूरा।’
‘किन र? आज असार पन्ध्र! बिहानै अफिस जानुभयो..।’ फेरि हाँसिन्।
मलाई कसोकसो लज्जाबोध भयो। तैपनि चर्को स्वरमा बोलें, ‘न हिलो टेक्ने, न धान रोप्ने! के स्वाङले खानु?’
हाँस्दै बोलिन्,‘धान रोप्न नपाउनु हाम्रो बाध्यता हो तर धान दिवसको दिन दहीच्यूरा खाएर संस्कृतिको जगेर्ना गर्नु सम्मान हो नि! हैन र!’
उनको कुरा र मुस्कानले प्रेमिल तरङ्ग पैदा गरायो। हिंड्न लाग्दा नाडीमा च्याप्प समातें।
‘कपडा पखाल्नु छ’ भन्दै हात झड्कार्दै गइन्।
छोरालाई सुताउने मेरो प्रयत्न बिफल हुँदै थियो। ऊ टाउको उठाउँदै पल्याकपुलुक हेर्थ्याे। प्रायः म रिसाएको दिन बुढी हाँसिरहने र छोरा ननिदाउने क्रम आज पनि दोहोरिएको अनुभूतिले खिन्नता छायो।
उनी धन्दा सकाएर आइन्। बत्ती निभाइन्। छोराको सानो स्वर सुनियो, ‘बाबा, ममीलाई कहिल्यै नरुवाउनुस्, हस्!’
४) सभामा ढुंगाहरू
भूकम्पले थिलथिलिएको धर्तीमा बाढी आयो। पहिरो गयो। हिमाल,पहाड,तराई एकैठाउँ भेट भयो। विभिन्न थरीका ढुंगाहरूको सभा चल्यो।
छानाबाट उछिट्टिएको ढुंगा सानले बोल्यो,‘म वर्षौं वर्ष जमिनमुनि निस्सासिएर, डढेर कालो हुँदासम्म सहेर बसें। र त सबैभन्दा माथि छानामा सजिन मात्र होइन ओताउन पनि पाएँ।’
‘म त मार्बल! चिसो भन्ने गुनासो सुनिरहनुपर्छ। सबैले कुल्चेको सहेर नै होला घरिघरि नुहाइ पनि दिन्छन्। घर राम्रो चिटिक्क हुन्छ भन्छन्।’ विस्मित सान्त्वना महसुस गर्यो।
गाराको ढुंगा बोले, ‘मैले त छिनो घन सबै खपेर आश्रयस्थलको विश्वास जितेको छु। एवं रितले सबै ढुंगाहरूले आआफ्ना पीडा र सफलताका कथाव्यथा सुनाउँदै थिए। पछाडिबाट सानोसानो ढुंगा सुसाउन थाले अनि शालिग्रामचाहिं देवता पुजिन्छ,मलाई चाहिं फाेहाेर पुछेर किन फाल्छन् त?’
शालिग्राम ध्यानस्थ थिए। कसैले बोले, ‘शालिग्राम नदीको बहावसँगै कति पछारिन्छ, बज्रिन्छ, चोइटिन्छ, खिइन्छ तैपनि निरन्तर बगिरहन्छ। फलतः सहनशीलता, पवित्रता, धैर्य, संयमता जस्ता गुण व्याप्त भएर मान्छेले भगवान् मानेर पूजा गर्छन्।’
‘यी माथिका कुनै पनि कष्ट सहन नसकेर किनारा लागेको तिमी मक्किन्छौ,कमजोर हुन्छौ र त फोहोर पुछेर फालिन्छौ।
५) अन्तर्द्वन्द्व
खोलाको किनारमा धेरै बेरदेखि टोलाउँदै थिइन् सुप्रिमा। छाल उर्लेर गोडासम्म पुग्थ्यो तर पानीको स्पर्शमहसुस थिएन।
मनमा उर्लेको छालले भने नमजाले छुँदै थियो। उनी झसङ्ग भइन्।
‘यति टाढा कसरी आइपुगेकी होलिन्? लोग्नेको दिनानुदिनको कुकृत्यले आजित थिइन्।’
‘छोराछोरी हुर्के। मेरो संरक्षकत्वको आवश्यकता छैन। भत्भत मन पोलाएर बाँच्नुभन्दा सधैंका लागि शीतल हुन चाहन्छु। जहाँ जन्मे त्यहीं धर्तीको छातीमा लीन हुन पाएँ।’ मुस्कान उब्जेको अनुभूति गरिन्।
‘ओहो किन अलमलिएको म? किन यो विश्राम? मेरी आमासँग छिट्टै मिलन गराइदेऊ धर्ती माता’ भन्दै आँखा चिम्म गरी लामो स्वास फेरिन्। आफूले पुज्ने परमात्मा सम्झिन्। जब मन गर्लम्म पानीमा डुब्दै थियोे एक्कासि‘आत्था’ भन्दै खुट्टा उचालिन्। पानीको घेरासम्मको भागको मसिना रौंहरूमा अल्झेर कमिला गोडा माथिमाथि उक्लिंदै थियो।
केटाकेटीमा पनि यस्तै धेरै कमिलालाई पानीमा खुट्टा चोप्दै पाखा लगाएर बचाइदिएको सम्झिन् र सम्झिन्, ‘जसले आफ्नो स्वार्थका लागि रातदिन रुवाउँछ, उसैका लागि...?’
‘वैवाहिक सम्बन्धको मुख्य आवश्यकता सन्तान जन्माउनु हो। त्यसबाहेक हरेक काम एक्लै गर्न सकिन्न र?
भोक र प्यास जसरी सहन सकियो काम वेगलाई पनि नियन्त्रण गर्न सकेकै हो। अब किन नसक्नु?
के आफ्नो कारण सन्तानमाथि ‘आत्महत्या गर्नेको सन्तान’ को उपमा बोकाउनु न्याय होला र?’ फुस्फुसाउँदै नियालिन्।
खोला शान्त थियो। कमिलाले लस्कर भेट्टाइसकेको थियो।
प्रकाशित: २० श्रावण २०८० ०८:१४ शनिबार