सुमित्रा थुलुङ अश्रुधारा
तिमी पानी भएर बग्नु
म थोपाथोपा भएर बाँचिदिनेछु
तिम्रो स्पर्शहरूमा
आफैंलाई जिउँदो महसुस गरेर
तिमीबिना।
कहिले तिमी हत्केलाभरि भरिनु
कहिले तिमी अञ्जुलीभरि
हामी स्पर्शमा हुने छौं सधैंसधैं
हेर न प्रेम गर्नेहरूलाई त
मृत्युले पनि नछेक्दो रहेछ नि?
मैले तिमीलाई पानी बनाइदिएँ
आफैंले आफैंलाई मार्न त सकिन!
तर, तिमीलाई जिउँदो भएको आभासमा
मैले खोला बनाइदिएँ तिमीलाई
अनि बगाइदिएँ आफैसँग
बिडम्बना छुट्दैनन् पनि
अनि भेट्दैनन पनि दुई किनारा!
अब तिमी बाचिरहने छौ सधैंसधैं।
पानी मरेको कसैले सुनेको छ?
खोला मरेको कसैले सुनेको छ?
कसैले देखेको छ खोला बग्न छोडेको
तिमी त्यसरी नै बगिरहनु
मायाको संगम भएर प्रेमको जस्केलोमा
अब हामी एक भएनौ र?
हेर, नडराउनु है
कुनै बेला चर्को घाम आएर
सुकाउन खोज्यो भने
भेल आएर पहिचान मेटाउन खोज्यो भने
मैले तिमीलाई आफ्ना स्पर्शहरूमा चिन्नेछु।
वेग हानेर नबग्नु तिमी कहिल्यै अब
समय अघिपछि हुन सक्छ
तिमीले भन्थ्याै नि सधैं
जीवन दुई खोलाको दोभान अनि संगम जस्तै
मैले तिमीलाई खोला बनाइदिएँ
हाम्रो मायालाई दोभान।
विपरीत केवलकार को पिंजडाम छुट्टियौ हामी
पर्ख ल कहीं कतै मायाको दोभान भएर
याद छ नि तिमीलाई
मैले मेरो बाल्यकालको कथा सुनाएको
घरछेउको खहरे उर्लिदा
छाता बोकेर आवेगमा उर्लिएको भेल हेरेको
अनि हिउँदमा सुकेको दहहरूमा सधैं
डुबुल्की मार्थे ढुंगामा बसेर दुई खुट्टाले।
तिमी आँखा बन्द गरेर
मेरो बाल्यकाल महसुस गर्थ्याै
र लम्बिन्थे हाम्रो लामोलामो अडियो कल।
उसो त लेकका पाखाहरूमा
भुइँकुहिरोले मलाई ऐठन बनाउँदा
अतालिंदै ममीको अँगालोमा पुगेको मलाई
भुइँकुहिरोभित्र हुर्किएको
सुकोमल गुलाब नामांकित गर्दा गर्दै तिमी
लतपत भएको थियौ मेरो प्रेमको रंगमा
र हाम्रो प्रेमले अन्जानमा उडान भरेको थिए
अनजान दुई मुटु एक हुँदै गर्दा।
तिमी बोट बनिदिनु
म लुकामारी खेल्छु हाँगाभरि
तिमी बनमारा बन्नु
जति भाँच्यो उत्ति पलाउने
अञ्जुलीभरि बनमारा बोकेर
चाहारिरहन्छु बनभरि।
प्रकृति मक्ख पर्ने छ हाम्रो प्रेम देखेर
खै फर्किन्छ फर्किन्न मेरो चञ्चलपन
मुर्छा परेको छु म एकपटक फेरि
तिमी मृत्यु पारि गएदेखि
नदी र बगर जस्तैजस्तै
वारि र पारि
जन्म र मृत्यु
कस्तो यो दुई किनारा।
प्रकाशित: २० श्रावण २०८० ०७:०५ शनिबार