‘राजव्यूह’ उपन्यास प्रजातान्त्रिक पार्टीको राजनीति गर्ने सम्पन्न घरानियाका बिग्रेका पुरुषहरूको कथा हो। यसमा नायक महेशले आफ्नो बाल्यकालको अभावलाई चित्रण गरेको भए पनि वर्तमानमा ऊ निकै रइसको जीवन बिताएको देखाइएको छ। त्यति मात्र होइन, घरमा श्रीमती भएर पनि अरूका श्रीमती र अविवाहित युवतीसँग विभिन्न होटलमा रात बिताएको पनि देखाइएको छ। त्यसो भनिरहँदा उसमा कत्ति पनि हीनताबोध हुँदैन।
यसरी राजनीतका आडमा आफूलाई चोखो देखाउन चाहने र समाजमा आर्थिक रूपमा अघि बढेका नवधनाढ्यको घमण्ड देखाउनु ‘राजव्यूह’ उपन्यासको प्राप्ति हो।
चितवनको कांग्रेसी राजनीतिमा सक्रिय युवा हुन् कैलाश कोइराला। राजनीतिबाट उनी एक्कासि साहित्यमा हामफाल्छन्। उनी साहित्यमा आएलगत्तै उनको ‘राजव्यूह’ उपन्यास २०८० मा छापिएर बजारमा आएको छ।
यो उपन्यासमा महेश नामक एउटा राजनीतिकर्मीको जीवन भोगाइ आएको छ। समयका दृष्टिले यसमा २०३१ देखि २०७९ सालसम्मको अड्चालीस वर्ष आएको भए पनि मूलतः पछिल्लो एक दशक यसमा सशक्त रूपमा आएको छ।
पति उमाकान्त शर्मा पञ्चायतविरोधी भूमिगत राजनीति गर्ने र घरमा ज्यादै कम बस्ने भएकाले छैटौं सन्तान पेटमा आएपछि गर्भपतन गराउने इरादा लिएर उसकी आमा शोभादेवी गीतानगरबाट हिंडेर भरतपुर पुग्छिन्। डाक्टरलाई देखाउँछिन् तर गर्भपतन गराउन पैसा नपुगेपछि त्यत्तिकै घर फर्कन्छिन्। त्यसपछि उनले त्यो इरादा त्याग्छिन् र महेश जन्मिन्छ। उसको बुबा पञ्चायतविरोधी राजनीति गर्ने हुनाले बाल्यकालमा उसले निकै दुःख पाउँछ। त्यस्तो दुःख सत्ता पक्षबाट मात्र नभएर सत्ताविरोधी कम्युनिष्टहरूबाट पनि पाउँछ। उनीहरूको घर जलाइन्छ। त्यसपछि चितवनको गीतानगर छोडेर पाल्पामा गएर एक वर्ष बिताएर फेरि गीतानगरमै फर्कन्छन्। पछि पञ्चायत ढलेपछि भने उनीहरू भरतपुरतिर बसाइँ सर्छन्।
पिता उमाकान्तको राजनीति गर्ने बानी छोराहरू प्रताप र महेशमा पनि सरेको हुन्छ। दाजु प्रतापको सल्लाहमा चितवनबाट राजनीति गर्न महेश त्रिभुवन विश्वविद्यालय कीर्तिपुर जान्छ। त्यहाँ तिकडम गरेर संगठनको अध्यक्ष बने पनि स्ववियु निर्वाचनमा सभापतिका लागि टिकट नपाएका कारण पुनः चितवन फर्किन्छ। त्यसपछि पार्टी राजनीतिमा लाग्छ र साथमा उसले व्यापार/व्यवसाय पनि गर्छ। संसदीय निर्वाचनमा टिकट पाउन भरमग्दूर प्रयास गर्दा पनि सफल हुँदैन। ऊ आफू मात्र नभएर उसको राजनीतिको गुरु प्रतापले पनि टिकट नपाएर केन्द्रीय नेताविरुद्ध बागी उठेर हारेको कुरा पनि उपन्यासमा आएको छ।
सोझो तरीकाले महेशले राजनीतिमा भोगेका भोगाइ नै यो उपन्यासको मूल कथ्य हो भने अन्य रूपमा लिंदा उसले परिवारका अतिरिक्त अन्य विवाहित तथा अविवाहित महिलासँग गरेका यौन व्यवहार पनि उपन्यासमा आएका छन्। उसले पैसा तिरेर देशकै नाम चलेकी नायिकासँग पनि रात बिताएको कुरा गरेको छ।
यस्ता समाजले खराब भन्ने काम गरेको कुरा गर्दा पनि उसमा कत्ति पनि विचलन आएको छैन। यसर्थ यो उपन्यास राजनीतिका नाममा कुकर्ममा लाग्ने आजका कुत्सित पात्रहरूप्रति लक्ष्यित छ भन्न सकिन्छ।
यसमा कैलाश कोइरालाको परिवारसँग सम्बन्धित घटनाको आधिक्य पाइने हुनाले उनलाई व्यक्तिगत रूपमा चिन्ने पाठक भने उपन्यास हो कि आत्मकथ्य ठम्याउन नसकेर रनभुल्लमा पर्ने सम्भावना पनि देखिन्छ।
यो उपन्यासको मुख्य पात्र अर्थात् नायक महेश हो। ऊ जातले बाहुन, पेसाले राजनीतिकर्मी र व्यवहारले स्वच्छन्द खालको छ। ऊ घरमा श्रीमती भएर पनि निर्धक्कसँग गर्लफ्रेन्ड लिएर हिंड्छ। उनीहरूका लागि प्रशस्त पैसा खर्च गर्छ। उसले आफ्नो परिवेश मात्र सम्झेकाले उसका पिता उमाकान्त शर्मा, माता शोभादेवी, दाजु प्रताप, भाउजू, इन्द्र अंकल, महेशकी आफ्नै श्रीमती रमा र छोरी बढी मात्रामा आएका छन्।
त्यस्तै गरी उपन्यासमा नायक महेशले बाल्यकालका साथीहरू खुसीराम, सन्तोष, उसका काका, काकी, छिमेकी आदि सम्झेको देखिन्छ। उसले कीर्तिपुर बसाइका क्रममा बहिनी बनाएको प्रगतिका कारण परिवारमा तनाव थपिएको पनि देखाइएको छ।
त्यस्तै अन्य पात्रहरूमा उसकी गर्लफ्रेन्डहरु कोमल र संगीताको स्थान पनि उत्तिकै देखिन्छ भने कीर्तिपुरका साथीहरू अजय, अतुल, शंकर आदिको भूमिका पनि उपन्यासमा सम्झनयोग्य छ। यसमा त्यसका अतिरिक्त राजनीतिकर्मीहरूको ठाउँठाउँमा स्मरण गरिएको छ। बहुल पात्र भएको उपन्यास भएर पनि यो उपन्यासको समाख्याता, भोक्त र द्रष्टा भनेको महेश आफैं हो।
यो उपन्यासमा चुनावमा टिकट पाउन के कस्ता तिकडमबाजी गर्नुपर्छ भन्ने कुरा यसले राम्ररी उतारेको छ। आफूले विश्वास गरेको व्यक्तिले नै टिकट दिने बेलामा अरूलाई दिलाएपछि आकांक्षीको मन कसरी भाँचिन्छ भन्ने कुरा यसले राम्ररी देखाएको छ। त्यस्तो स्थिति विद्यार्थी राजनीतिदेखि लिएर स्थानीय, प्रदेश तथा संसदीय चुनावमा पनि हुने कुरा यसले राम्ररी देखाएको छ। टिकट नपाउनेहरू बागी बनेर उभिने कुरा पनि यसले राम्ररी देखाएको छ। राजनीतिका खराबीहरूलाई कलात्मक रूपमा उतार्नु सक्नु यो उपन्यासको शक्ति हो।
निःसन्देह ‘राजव्यूह’ सामाजिक उपन्यास हो। यसले राजनीतिकर्मीले गर्ने विविध खालका भोगाइ र राजनीतिमा हुने तिकडमहरूलाई मार्मिक रूपमा चित्रण गरेको छ। नायक महेशले आफ्नो जन्म २०३१ सालमा भएको कुरा गरेको छ भने बाल्यकाल सम्झिदै पञ्चायतकाल सम्झेको छ। त्यस्तै वर्तमानको कुरा गर्दा हालसालैको निर्वाचनसम्मको कुरा गरेको छ। पछिल्लो वर्णनमा लोकतन्त्र र गणतन्त्रकालका कुराहरू प्रशस्तै आएका छन्।
यसरी यो उपन्यासमा २०३१ देखि २०७९ सालसम्मका चितवन, पाल्पा र काठमाडौंका राजनीतिक परिवेश आएका छन्। तर, यसभित्र माओवादी जनयुद्धबारे भने जानेर हो वा नजानेर हो केही कुरा गरिएको छैन।
यसको नायकले आफूलाई निकै स्मार्ट सम्झन्छ। त्यसैले भन्न सकिन्छ ऊ घटनाहरू बिर्सने खालको पात्र होइन। तर,उसले देशले भोगेको त्यो कालखण्डको सम्झना किन गरेन? यो उपन्यासले करिब पाँच दशकको नेपाली राजनीतिक परिवेश चित्रण गरेकोमा २०५२ देखि २०६३ सालसम्म देशमा सञ्चालित माओवादी जनयुद्ध चटक्क बिर्सनु कति जायज हो? यदि आख्यान मात्र हुन्थ्यो भने त्यो पनि सम्भव हुन्थ्यो होला, यहाँ त त्योभन्दा केही बढी छ।
यसरी देशमा भएको त्यति ठूलो घटना र समयावधिमाथि आँखा चिम्लनु कत्ति पनि सुहाउँदो छैन। यो नै यस उपन्यासको सबैभन्दा ठूलो सीमा हो। लेखकले यसरी लेख्दा आजभन्दा पचास वर्षपछिका पाठकका लागि यो अध्ययनको विषय बन्छ कि बन्दैन? राजनीतिबाट साहित्यमा हामफालेका कोइरालाले अर्को कृतिमा समयलाई यसरी फड्का लेख्ने हो भने कृति पठनीय र विश्वसनीय हुँदैन भन्ने कुरा राम्ररी बुझून्।
पहिलो कृति भएर पनि भाषिक मिठास र विषयगत नवीनताका कारण चितवनको उपन्यास यात्रामा ‘राजव्यूह’ले पक्कै गतिलो छाप छोड्नेछ। यस्तो सशक्त उपन्यास ल्याएकामा उपन्यासकार कैलाश कोइरालालाई हार्दिक बधाई तथा शुभकामना!
(लेखकः रमेश प्रभात)
प्रकाशित: १९ श्रावण २०८० ०७:५३ शुक्रबार