२२ असार २०८१ शनिबार
image/svg+xml
कला

सुन्तलाबारीमा अक्षरयात्री

पोखरा– पोखराको साहित्यिक पर्यटन  प्रवद्र्धनमा क्रियाशील पोखरेली अभियान अक्षरयात्राको १ सय ४२ औं शृंखला पर्यटकीय गाउँ सुन्तलाबारी पुगेको छ । ‘जीवन र जगतको यथाथबोधका लागि अक्षरयात्रा’ भन्ने नारा बोकेर स्याङजाको वालिङ नगरपालिका–४ स्थित सुन्तलाबारी पुगेका अक्षरयात्रीले त्यहाँको प्रकृति, संस्कृति र जीवशैलीलाई सिर्जनामा ढालेका छन् ।  

गजल सन्ध्या पोखरा र नवनीत साहित्य सागरले हरेक महिनाको तेस्रो शनिबार गर्दै आएको अक्षरयात्रालाई सुन्तलाबारी सामुदायिक होमस्टेले व्यवस्थापन गरेको हो । कृषि तथा सुन्तला उत्पादनको मुख्य क्षेत्र मानिएको साबिकको एलादी गाविको खाल्टे गाउँमा होमस्टे सुरु भएपछि २०७० सालमा सुन्तलाबारी नामाकरण गरिएको हो । सुन्तलाबारी पुगेका पोखरा र स्याङजाका अक्षरयात्रीलाई गाउँलेले भव्य स्वागत गरेर गाउँको विषयमा जानकारी गराएका थिए ।

अक्षरयात्रामा ३५ जनाभन्दा बढी अक्षरयात्री सहभागी थिए । सुन्तलाको बगैंचाभित्र लुकेको गाउँ घुमेर अक्षरयात्रीले सुन्तलाबारीको कृषि उत्पादन, क्यानोनिङ, होमस्टे, त्यहाँका स्थानीयको अवस्थालाई साहित्यिक रचनामा उतारेका थिए ।

अक्षरयात्रीले सुन्तलाबारीका स्थानीयसँग कुराकानी गरेर त्यहाँका दुःख, सम्भावना र अहिलेको अवस्थालाई रचनामा उतारे । सुन्तलाबारीको सम्भावना र सुन्दरतालाई रचनामा उतार्दै कवि प्रकट पगेनी ‘शिव’ ले सेल्फी कविता सुनाए ।

आउ न 
लाज वा अप्ठेरो लाग्दैन भने
यो सुन्तलाबारी होम स्टे आउने गरी
एउटा सेल्फी लिउँ..

कविता, गजल मुक्तकमा आफ्नो गाउँलाई सुन्न पाउँदा गाउँले हर्षित बने । अक्षरयात्रामा २५ जनाभन्दा बढीले साहित्यिक रचना सुनाएका थिए । एलादीको खाल्टे गाउँमा होमस्टे सुरु भएपछि सुन्तला बगैंचाको विस्तार गर्दै सिंगो गाउँलाई नै सुन्तलाबारी नामाकरण गरिएको सुन्तलाबारी सामुदायिक होमस्टेका अध्यक्ष ढिलबहादुर गुरुङले जानकारी दिए । गायिक शर्मिला गुरुङ, राजु गुरुङलगायतको गाउँ भनेर चिनिने खाल्टे गाउँमा होमस्टे सुरु भएपछि नचरी, कौरा सोरठीसमेत उजागर भएको गुरुङले बताए ।

पर्यटनकर्मी मोहनी खनालले थुप्रै सम्भावना भएर पनि पछाडि पर्दै आएको कृषि उत्पादन र सुन्तलाको पकेट क्षेत्र खाल्टे गाउँ सुन्तलाबारी होमस्टे सुरु भएपछि थप उजागर हुन थालेको बताए । सुन्तलाबारीको पर्यटन प्रवद्र्धनमा विशेष योगदान पु¥याएकाले खनालले नै अक्षरयात्रीलाई गाउँसम्म लैजान समन्वय गरेका थिए । सन्ध्या अध्यक्ष विर्सना बस्नेत, साहित्य सागर अध्यक्ष लक्ष्मण थापा र होमस्टे अध्यक्ष ढिलबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा अक्षरयात्राका परिकल्पनाकार प्रकट पगेनी, कवि अल्पज्ञानी, सञ्चिव पौडेल, सुरज उपाध्याय, अमृत सुवेदी, गौरी तमु, अम्विका भण्डारी, सुवास मल्ल, लेखनाथ काफ्ले, अस्मिता भट्टराई, सुकन्तला शर्मा, गीता पहारी, वसन्त विनोद, माया कुँवर, मिर्मिसा पराजुली, संगीता आभाष, केआर ढकाललगायतले रचना वाचन गरे।

गुरुङ समुदायको बहुलता रहेको सुन्तलाबारीमा २३ घरधुरीमध्ये १५ गुरुङ घरमा होमस्टे सञ्चालित छ । सुन्तलाबाहेक गाउँमा विभिन्न फलफूल तथा तरकारी र  घरघरै बाख्रा पालन गरिएको छ ।

प्रकाशित: २४ जेष्ठ २०७४ ०५:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App