३ असार २०८१ सोमबार
image/svg+xml
कला

खरानीबाट ब्युँतिएका

समाजमा विभिन्न प्रकृतिका महिलाहिंसा हुन्छन् । महिलाहिंसाका कारण विभिन्न छन् । महिलामाथि हुने जघन्य अपराधमध्ये जलाउनु पनि एक हो । यहाँ केही जलेका महिला र उनीहरूले जिउन गरेको संघर्षलाई प्रस्तुत गरिएको छ ।     
ज्ञानको ज्योति अँगाल्दै रिहाना 
घर बस्दा आफू जलेको कहालीलाग्दो घटना भुल्नकै लागि रिहाना शेख ढपालीले घर छाडिन् । घर छाडेर उनी नयाँ सहरको एक स्कुलमा एक कक्षामा भर्ना भएकी छन् । ‘बिहान ६ बजे स्कुल जान्छु,’ उनले भनिन्, ‘हन्ड्रेडसम्मको गिन्ती आयो ए फर एपल, बी फर बल, सबै आउँछ । उनले कक्षामा यसैगरी अक्षर चिन्न थालेकी छन् । ‘त्यही जलेको मेरो शरीर झलझली याद आउँछ, मलाई जलाउने त्यो पापी याद आउँछ,’ रिहानाले सुनाइन्, ‘त्यसैले गाउँ बस्नै मन लागेन ।’ पढ्नु नै जीवनको नयाँ लक्ष्य बनाएकी छन् । पढेर गाउँका मानिसलाई बाटो देखाउने अर्को सपना बुनेकी छन् । 
बिहेअघि नै रिहानाको माइतीले तीन लाख रुपैयाँको दाइजो दिएका थिए । ‘दुई–तीन महिना माया ग¥यो, त्यसपछि कुट्न थाल्यो,’ रिहानाले भनिन्, ‘दाइजोे नल्याए घरमा राख्दिनँ भने । ०७० चैत ३ गते होलीको राति ११ बजे हात बाँधेर आगो लगाए ।’ 

मोटरसाइकलसहित भैँसी दाइजो नल्याएको भन्दै सासुसमेत मिलेर उनलाई मट्टीतेल छर्केर आगो लगाएका थिए । लामो उपचारपछि ठीक भएकी रिहानाको गर्भको बच्चा जलनको पीडाकै कारण मरेको जन्मिएको थियो । फरार छन्, उनका पति । ‘आज मलाई यस्तो गर्याे भोलि अर्कोसँग गर्न सक्छ,’ उनी भन्छिन्, ‘आमनेसामने आओस्, सजाय होस् अनि बल्ल सम्बन्ध विच्छेद गर्छु, नत्र मलाई चयन आउँदैन ।’ 

बिहेअघि नै रिहानाको माइतीले तीन लाख रुपैयाँको दाइजो दिएका थिए । ‘दुई–तीन महिना माया गर्याे, त्यसपछि कुट्न थाल्यो,’ रिहानाले भनिन्, ‘दाइजोे नल्याए घरमा राख्दिनँ भने । ०७० चैत ३ गते होलीको राति ११ बजे हात बाँधेर आगो लगाए ।’

रोल्पाकी मनकली रोका मगर (नाम परिवर्तन) को गत फागुनको अन्तिम साता घाँस काटेकै निहँुमा घर झगडा भयो । उनका पति रोजगारका लागि कतार गएका थिए । घर–परिवार र चार सन्तानको रेखदेख उनकै भरमा थियो । त्यही राति निदाएका बेला ब्लांकेटमा कसैले आगो झोँसिदियो । छोराछोरीलाई बचाउँदाबचाउँदै मनकली बढी जलिन् । 

काठमाडौंस्थित कीर्तिपुर अस्पतालमा उपचार हुन नसकेपछि वीर अस्पतालको ट्रमा सेन्टरमा ल्याएपछि उपचारकै क्रममा उनको चैत ९ गते निधन भयो । अस्पतालका अनुसार शरीरको ६० प्रतिशत बढी भाग जलेको थियो । परिवारकै सदस्यले जलाएको आशंका प्रहरीले गरेको छ । गएको माघ ६ गते राति टुकीको मट्टीतेल खन्याएर नेपालगन्जका राजेन्द्र खटिकले दाइजोकै निहुँमा आफ्नी २२ वर्षीया पत्नी अमिशालाई जलाए । 

फूलझैँ फक्रने जायत्रीको सपना 
‘फूल भगवान्लाई प्यारो हुन्छ, म पनि त्यस्तै प्यारी थिएँ, गाउँघरमा,’ उहिलेका स्मृति सुनाउँछिन् जायत्री तामाङ । तल फाँटमा बारीमा गहुँ पाक्दै थियो । माघको रात सातवर्षकी जायत्री, सानो भाइ र दिदी गोठमै सुते । आमाबुवा अलि परको घरमा निदाए । आधारातमा गोठमा आगो लाग्यो । आगोको रापले दिदी र भाइ उठे । तर जायत्री झन् भुसुक्क निदाइन् । ‘दिदी उठ, उठ’ भन्दाभन्दै भाइ र जायत्री दुवै जले । स्वास्थ्यचौकीको उपचारले छोएन । काठमाडौं नपुग्दै पीडा खप्न नसकी भाइले संसार छाड्यो । चार महिना अस्पतालको बसाइपछि पुतलीजस्ती जायत्री चिन्नै नसक्ने भएर घर फिरिन् ।

साथीसंगी ऊनजिक बस्न छाडे । गाउँ बस्न मन नलागेपछि एक संस्थाको पछि लागेर काठमाडौं आइन् । ‘भित्ताजस्तो थियो अनुहार पहिलोपटक ऐना हेर्दा निकै रोएँ,’ उनी विगत कोट्याँउछिन् ।

स्कुल, छिमेक, पसल, बजार जता पनि मान्छेहरू उनलाई अर्कै प्राणीझैँ हेर्थे । प्लस टु पढ्दा एक दिन साथीहरूसँग चावहिलको केएल टावर घुम्न जाँदा एक युवतीले भनिन्, ‘हेर्न हेर कस्तो अनुहार भएको केटी ।’ यस्तो हेला निकै सहिन् । उनलाई सामाजिक कार्यकर्ता बनेर आफूजस्तै पीडितको सेवा गर्ने मन छ । ‘मन मात्र भएर नहुने, धन र पहुँच पनि चाँहिदो रैछ,’ उनी सुस्केरा हाल्छिन् । दुवै हातका औँला सबल नभए पनि लेखपढ गर्न सक्छिन् । ‘यो हातले मुछेर भात खाने ठूलो रहर छ,’ उनी जसोतसो चम्चाले खाना मुखमा हाल्दै बोलिन् । घरायसी काम आफै गर्छिन् । 

हिमालझैँ अग्लिँदै सीता 
चार दिदी बैनी र दुई दाजुभाइमध्येकी साइली हुन्, सीता भण्डारी । दोलखा मेलुङ उनको घर । डाँडाको उनको घरबाट पारि रामेछाप छर्लंगै देखिन्छ । बीचको तामाकोसी सुसाएको घरसम्मै सुनिन्छ । गौरीशंकर हिमाल सुनझैँ रंगिएको उनलाई निकै मन पर्छ । ‘त्यो सुनौलो रंग मेरो जिन्दगीको रंगझैँ लाग्छ,’ सीता घामझैँ मुस्कुराउँदै बोेल्छिन् ।  

उनी ६ महिनाकी हुँदा जाडो महिनामा आमाले नजिकै सुताएर बारीमा गएकी थिइन् ।  ‘म न्यानो मान्दै पल्टँदै आगोतिर गएँछु र पोलिएँछु,’ उनी आफूले सुनेका कुरा बताउँछिन् ।’ उनी आगोमा पर्दा देबे्र गालादेखि हात र खुट्टासम्मका भाग पोलिए । केही घाउ खाटा बसे । दोब्रिएको देब्रे हातका आंैला सग्ला भएनन् । मन र आत्मविश्वास सीताको अग्लियो । १५ वर्षको उमेरमा गाउँ छाडिन् । गाउँ र सहर दुवैका अपहेलना उनले थुप्रै सहिन् । सहयोगी संस्थाको छात्रावासमा आफै केही गर्छु भन्ने भावना पलायो । दौडिन र खेलकुदमा रुचि राख्ने उनी पहिले टेबुल टेनिस खेल्थिन् । पारा ओलम्पिक (अशक्तले खेलमा प्रतिस्पर्धा) का बेला तेक्वान्दो गुरु कल्याण कुँवरसँग भएको भेटले उनलाई तेक्वान्दो खेलाडी बनायो ।

खेलतर्फ सन् २०१४ को पारा ओलम्पिक एसियन खेलमा एक सय किलोमिटर दौडमा सहभागी भइन् । तेक्वान्दोमा चारवटा अन्तर्राष्ट्रिय स्तरको खेल खेलिन् । टर्की, रसिया, पोल्यान्ड, फिलिपिन्स र कोरिया पुगिन् । जसमा रसिया, फिलिपिन्स, र पोल्यान्डबाट कास्य पदक जितिन् । ‘मेहनत र संघर्ष गर्नुपर्छ अनि दुःख गरे सुख अवश्य हुन्छ,’ यही सोचेर निरन्तर लागिरहे उनले सुनाइन् ।

सरकारी सहयोगको आश उनलाई छैन । खेलकुद पत्रकार संघले दिएको उत्कृष्ट खेलाडीको पुरस्कार, विभिन्न संघ–संस्थाको कदर भुल्न सक्दिनन् । अरु युवतीले झैँ नयाँ फेसनका कपडामा ठाँटिने रहर भने अधुरै छ ।

पीडितमाथि विभेद
अग्निहिंसा पीडित नेपालको तथ्यांकअनुसार यसरी जल्नेमा ७१.५ प्रतिशत महिला छन् । पुरुष १५ प्रतिशत र चार प्रतिशत बालबालिका बर्सेनि नेपालमा जल्ने गर्छन् । घरेलु हिंसाकै कारण महिला जलाएका घटना ७१ प्रतिशत छ । ‘यीमध्ये आफ्नै पतिले जलाएका ५१ प्रतिशत हुन्छन्,’ संस्थाकी सहजकर्ता अर्विता कार्की भन्छिन् । अरु घर–परिवार मिलेर जलाएको पाइएको छ । बोक्सीको आरोप र विवाहइतर सम्बन्धका कारण पनि महिला जलाइएको संस्थाको अध्ययनले देखाउँछ । विशेषगरी तराई र सुदूरपश्चिम क्षेत्रबाट बढी घटना आउने उनले बताइन् । उनका अनुसार पहिले र पछिको बयान फरक हुँदा  पीडितलाई न्यान दिलाउन गाह्रो छ । हिंसा गरेर जलाइएकामध्ये ५० प्रतिशतको उपचारकै क्रममा मृत्य हुने गर्छ । ‘मर्ने त मरिहाल्यो भनेर उसका परिवारका अन्य सदस्य पतिलाई जोगाउनतिर लाग्छन्,’ कार्की भन्छिन्, ‘यसले गर्दा अन्यायमै जलाइन्छन् महिला, अनि मरेपछि पनि न्याय पाउन कठिन हुन्छ ।’

बाँचेका पनि सामाजिक विभेदमा बाँच्नुपर्ने हुन्छ । ‘कतिपय त बाँच्नै चाहँदैनन्,’ परामर्शको अनुभव उनले सुनाइन्, ‘आफ्नो शारीरिक परिवर्तनका कारण उनीहरू मानसिक तनावमा पर्छन् ।’ 

न्याय दिलाउन कठिन
घरेलुहिंसा पीडितका मुद्दा हेर्ने अधिवक्ता सुश्मा गौतम घरेलु हिंसालाई अपराध मान्ने औपचारिकता मात्र कानुनले निर्वाह गरेको दुखेसो सुनाउँछिन् ।

कान्छी श्रीमती ल्याएपछि पतिले जलाएर ज्यान गएको अम्बिका धमलाको मुद्दाजस्तै उनले धेरै मुद्दामा बहस गरेकी छन् । ‘धमलाको मुद्दा उनकी छोरीले दर्ता गरेकी थिइन् तर प्रहरीले सुरुमा दर्ता गर्न मानेको थिएन,’ गौतम भन्छिन्, ‘बाबुको विरुद्धमा दर्ता गरेर के गछ्र्यौ ? आखिर त्यही घरमै बस्नुपर्छ भनेर उनलाई तनावमा पारे ।’ आमा जलेको आँखैले देखेकी ती छोरीका लागि आमालाई न्याय दिलाउन निकै कठिन भयो ।

काठमाडौंमा एसिड प्रहारबाट जलेकी संगिता थापाको मुद्दा अर्को घटना हो । ‘जहाँ पीडकले अदालतमै इसाराले मार्छु भनेर त्रास देखाउँथ्यो,’ उनले भनिन्, ‘जलेका घटनामा पीडित आर्थिक रूपले सम्पन्न नहुँदा चर्को समस्या हुन्छ । पीडितले एकातिर उपचार अर्कोतिर अदालतको झन्झट भोग्नुपर्छ ।’

नेपालको संविधान २०७२ को भाग ३ मौलिक हकको धारा १६ मा ‘प्रत्येक व्यक्तिलाई सम्मानपूर्वक बाँच्न पाउने हक हुनेछ’ भन्ने उल्लेख  छ । त्यस्तै, धारा १८ को समानताको हकमा ‘सबै नागरिक कानुनको दृष्टिमा समान हुनेछन्, कसैलाई पनि कानुनको समान संरक्षणबाट वञ्चित गरिने छैन,’ भनिएको छ । सामान्य कानुनको प्रयोगमा उत्पत्ति, धर्म, वर्ण, जातजाति, लिंग, शारीरिक अवस्था, अपांगता, स्वास्थ्य स्थिति, वैवाहिक स्थिति, गर्भावस्था, आर्थिक अवस्था, भाषा वा क्षेत्र, वैचारिक आस्था वा यस्तै अन्य कुनै आधारमा भेदभाव गरिनेछैन भन्ने सोही धारामा उल्लेख छ । धारा २१ मा पीडितले सामाजमा पुनस्र्थापना, क्षतिपूर्तिसहित न्यायको व्यवस्था गरिएको छ । 

धारा ३८ को उपधारा ३ मा ‘महिलाविरुद्ध धार्मिक, सामाजिक, सांस्कृतिक परम्परा, प्रचलन वा अन्य कुनै आधारमा शारीरिक, मानसिक, यौनजन्य, मनोवैज्ञानिक वा अन्य कुनै किसिमको हिंसाजन्य कार्य वा शोषण गरिने छैन,’ भनिएको छ । यस्तो कार्य कानुनबमोजिम दण्डनीय हुनेछ र पीडितलाई कानुनबमोजिम क्षतिपूर्ति पाउने हक हुनेछ भनेर न्यायको प्रत्याभूत गरिएको छ ।
 
२०६६ अघिसम्म घरेलुहिंसा भन्न पाउने व्यवस्था थिएन । २०६६ मा घरेलुहिंसा (कसुर र सजाय ) ऐन आएपछि घरेलुहिंसाले अपराधको संज्ञा पायो । जसअनुसार ‘घरेलु हिंसा भन्नाले कुनै व्यक्तिले घरेलु सम्बन्ध भएको अर्को कुनै व्यक्तिलाई दिएको शारीरिक, मानसिक, यौनजन्य वा आर्थिक यातना सम्झनुपर्छ र सो शब्दले गाली गर्ने तथा भावनात्मक चोट पुर्याउने अन्य कुनै कार्यलाई समेत जनाउँछ ।’ सो ऐनमा पीडकले दिने विभिन्न प्रकारका यातनाको छुट्टाछुट्टै व्याख्या गरिएको छ । बन्द इजलासमा फास्टट्र्याकबाट फैसला गर्ने सहजता भए पनि दण्ड सजाय न्यून हुँदा पीडितले न्यायको महसुस गर्न नसकेको गौतम उल्लेख गर्छिन् ।

‘लैंगिक समानतासम्बन्धी ऐनका कारण घरेलुहिंसा मुद्दा सरकारवादी त भयो तर सजाय भने न्युन रह्यो,’ गौतमले प्रस्ट्याइन् । त्यसमा पनि पनि मट्टीतेल छर्केर कसैले आगो लगायो र ऊ बाँच्यो भने त्यो घटना व्यक्तिवादी मुद्दा हुने भन्ने द्वैध व्यवस्था छ । पीडित मरेमा भने फौजदारी अपराधको ज्यान मुद्दा लाग्ने व्यवस्था छ । उनका अनुसार उपचारको रकम पीडकले व्यहोर्ने व्यवस्था भए पनि त्यो कार्यान्वयन घरेलु हिंसाका मुद्दामा न्यून रहेको छ । ऐनको धारा १० मा क्षतिपूर्ति दिलाइदिने खण्डमा ‘पीडित व्यक्तिलाई घरेलु हिंसाको प्रकृति, मात्रा, पीडितलाई पुगेको पीडा र पीडक तथा पीडितको आर्थिक तथा सामाजिक हैसियत समेतलाई विचार गरी अदालतले पीडकबाट मनासिब माफिकको क्षतिपूर्ति भराइदिन सक्नेछ’ भनिएको छ । तर दण्ड सजायको १३ नम्बर धाराको उपधारा १ मा ‘कसैले घरेलुहिंसा गरेमा त्यस्तो व्यक्तिलाई तीन हजार रुपैयाँदेखि २५ हजार रुपैयाँसम्म जरिवाना वा ६ महिनासम्म कैद वा दुवै सजाय हुनेछ,’ भनी न्यून सजाय तोकिएको छ । मुख्य व्यक्तिको मतियार हुनेलाई आधा सजाय दिएर छुट दिइएको छ । माथि भनिएअनुसार क्षतिपूर्तिका हकमा जरिवानाको एकतिहाइ मात्र पीडितले पाउने अदालती व्यवस्था छ । यसले पनि सजाय पाउने दायरा खुम्च्याइएको छ । 

‘कानुनमै भएको यस्ता असमानताले पीडितका लागि न्याय आकाशको फल आँखातरी मर भनेजस्तो भएको छ,’ गौतम थप्छिन्, ‘न्याय दिएर मात्र हुन्न पीडितले न्याय पाएको महसुस गर्नुपर्छ भन्ने कानुनी धारणाकै खिल्ली उडाएको छ ।’ 

जलेकाको उपचार 
आगोले जलेका महिलाको जिन्दगी सपार्न निकै कठिन रहेको अनुभव वीर अस्पताल बर्न वार्डकी नर्स शिला अधिकारीसँग छ । ‘पुरुषभन्दा जल्ने महिला बढी आउँछन्,’ अधिकारीले भनिन्, ‘पुरुष भने बढीजसो करेन्ट लागेका आउँछन् ।’ 

शरीर जति प्रतिशत जल्यो, मर्ने सम्भावना पनि उति नै प्रतिशत हुने उनी बताउँछिन् । ‘नेपालको उपचार प्रणालीमा ५० प्रतिशतदेखि माथि भए बचाउन गाह्रो हुने गरेको छ,’ उनले भनिन् । जलन ३५ प्रतिशत माथि गयो भने मिर्गौलामा किड्नीमा समस्या आउँछ । बढी जलेको खण्डमा रक्तकोषहरू पिसाबमार्फत पुग्दा मिर्गौला बन्द हुने गर्छ । 

उनका अनुसार वीर अस्पतालमा ठूलो घाउ उपचारमा सामान्यतः दैनिक तीन सय रुपैयाँ खर्च हुन्छ । निजी अस्पतालमा सानो घाउमै बढी खर्च लाग्छ । ‘फस्र्ट डिग्री बर्न गहिराइको हिसाबमा सातदेखि दश दिनमा निको हुन सक्छ,’ उनले थपिन्, ‘छालाको दोस्रो लेयर नै जलेको छ भने निको हुन १४ देखि २१ दिन लाग्छ ।’ मासु समेत तेस्रो लेयर जलेमा उपचारको समय महिनौँ लाग्छ । अझ जलेको भाग पहिलेकै अवस्थामा ल्याउन प्लास्टिक सर्जरी गर्नुपर्ने हुन्छ । अप्रेसन, राम्रो हेरचाह र सही मात्राको पोषण अत्यावश्यक उपचार पद्धति हुन् ।

 

प्रकाशित: ६ जेष्ठ २०७४ ०३:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App