कार्टुन्ज क्रुकी ‘बी गर्ल’ अर्थात् आश्मा
काठमाडौं – युट्युबमा चर्चा कमाएकोे द कार्टुन्ज क्रुकी ‘बी गर्ल’ आश्माको दैनिकी व्यस्त छ। नयाँ भिडियोहरुको रिहर्सल, पढाई र वर्कसप हिजोआज सबैतिर उनले आफ्नो समय बाँड्नु परेको छ।
द कार्टुन्ज क्रुले युट्युब र सामाजिक सञ्जालमा प्रशंसा पाउँदै जाँदा उनका फ्यान फलोअर पनि बढ्दै गएका छन्। २१ वर्षीय आश्मा डान्सका धेरै विधामध्ये एउटा ब्रेक डान्सका लागि चर्चित भएकी हुन्।
नेपाल विभिन्न समयमा भएका बी गर्ल ब्याटलमा उनले तीन पटक उपाधि जिति सकेकी छिन्। अहिले उनी आफूलाई नेपालको पहिलो ब्रेकडान्स अर्थात् ‘बी गर्ल’ भएको दाबी गर्छिन्।
‘आठ कक्ष पढ्दादेखि नै म डान्सतर्फ मोडिए। स्कुले साथी सुरजको संगतले मलाई त्यतातिर लागेकी थिएँ। पछि त्यतै झुकाब बढ्यो’, उनले सुनाइन्। त्यतिबेला उनी हाँडीगाउँ, ढल्खुस्थित नेपाल नेशनल निम्न माध्यमिक विद्यालयमा कक्षा ८ की विद्यार्थी थिइन्। सुरजले बी बोइङ र बी गर्लसम्बन्धी विभिन्न भिडियोहरु देखाएपछि उनको मन त्यतै सोझियो। युट्युब हेर्दै उनी घन्टौं अभ्यास गर्न थालिन्।
युट्युबमा अरुले देखाए जस्तो प्रस्तुति आफ्नो नभएपछि उनी ठमेलस्थित नेपाल स्र्पोट्स एन्ड डान्स ट्रेनिङ इन्स्टिच्युट (हालको जिए हल)मा पुगिन्। त्यहाँ डान्स सिक्न आउनेहरु सबै केटाहरु थिए।
‘केटैकेटाको बीचमा म एक जना केटी थिएँ। एक्लै डान्स गर्न लाज लाग्थ्यो। बी बोइङ केटाहरुको डान्स भएकाले केटीहरु हुँदैनथे’, आश्माले त्यतिबेलाको समस्या सम्झिइन्, ‘डान्सतिर लागेको परिवारले थाहा पाउलान् भन्ने त्रास उत्तिकै थियो।’
किताबसँग बिताउने समय युट्युब हेर्दै डान्स अभ्यासमा बित्न थालेपछि पढाई राम्रो नहुनु स्वभाविक थियो। स्कूलमा पहिलो हुने छोरीको रुचि एक्कासि पढाइप्रति घटेको देखेपछि बुबाआमा चिन्तित भए। ‘एकदिन फ्राइडे म्यागेजिनको कभरमा मेरो फोटो छापियो। त्यसपछि उहाँहरु छक्क पर्नुभयो। अनि स्पष्ट पनि हुनुभयो कि छोरी डान्सतिर लागेकी रहिछ भनेर’, आश्माले सुनाइन्।
भिडियो
त्यतिबेला आश्माको डान्स लगाब देखेर सबैभन्दा चिन्तित उनका बुवा भएका थिए। ‘उहाँ सधैँ पढाईतर्फ लाग्न प्रोत्साहित गरिरहनु हुन्थ्यो। मैले डान्स गर्न चाहिँ छोडिनँ’, उनले भनिन्। म्यागेजिनले कभरमा फोटो छापिएपछि घरमा उनलाई केही सहज भएको रहेछ।
‘म्यागेजिन कभरमा फोटो आएपछि घरबाट डान्समा लाग्न अनुमति मिल्यो। त्यसपछि भने मैले आफ्नो करिअर यतै बनाउँछु भन्नेमा अझ निश्चित भएँ’, आश्माले सुनाइन्, ‘बुवाले पढाईमा प्रेरित गरिरहे पनि डान्स छोड्न चाहिँ भन्नु भएन।’
***
सुरुमा बी बोइङ गर्ने केटाहरुको संख्या बढी थियो। बी गर्ल केटी साथी पाउन साँच्चै गाह्रो थियो। यो करिब ८ वर्ष अगाडिको कुरा हो। अहिले स्थिति केही फेरिएको छ। ‘अहिले बी गर्लहरु पनि देखिन थालेका छन्। स्थिति सहज बन्दै गएको जस्तो लाग्छ’, उनी भन्छिन्। नेपाल विभिन्न समयमा भएका बी गर्ल ब्याटलमा उनले तीन पटक उपाधि जिति सकेकी छिन्। अहिले उनी आफूलाई नेपालको पहिलो ब्रेकडान्स अर्थात् ‘बी गर्ल’ भएको दाबी गर्छिन्।
स्थापित बी गर्ल आश्मालाई यतिबेला आइटम डान्सको अफर आइरहेका छन्। ‘मलाई चाहिँ फिल्ममा काम गर्न मन छ। त्यसैले अभिनयको तयारीतिर लागेकी छु’, उनले भनिन्। बी गर्लको रुपमा उनको हुलिया टम ब्वाइको जस्तो थियो। त्यतिबेला उनी त्यस्तै बन्न चाहन्थिन्।
बी गर्लबाट फिल्मतिर लाग्ने तयारी गरेपछि उनको हुलिया फर्मुला पनि परिवर्तन हुँदै गएको छ। ‘अब फिल्म केन्द्रित हुँदै गएकी छु। फिगर र खानपिनमा विशेष ध्यान दिन थालेकी छु’, उनले सुनाइन्।
आश्मा आवद्ध कार्टुन्ज क्रु सन् २०१० देखि डान्समा काम गर्दै आएको छ। ६ सदस्यीय टोलीमा आश्मा टोलीकी एक्ली केटी हुन्। सरोज अधिकारीले नेतृत्व गरिरहेको यो समूह युट्युब दर्शक माझ हिट छ। द कार्टुन्ज क्रुमा आश्मा र सरोजबाहेक लाक्पा लामा, विकास राई, राम गुरुङ र सुविन चौहानसहित ६ सदस्य छन्। बोइज अफ कीर्तिपुरमा आवद्ध सरोजले नेपालमा डान्समार्फत् प्ल्याटफर्म तयार गर्न कार्टुन्ज क्रु स्थापना गरेका थिए।
***
कार्टुन क्रुले सन् २०१४ देखि बिस्ट प्रोडक्सनमार्फत भिडियोहरु युट्युबमा राख्दै आएको छ। हाल हाँडीगाँउस्थित क्रियसन फिटनेस एन्ड डान्स स्टूडियोमा द कार्टुन्ज क्रुले झण्डै तीन घण्टा नियमित डान्स अभ्यास गर्छ।
‘मेरो एउटा परिवारमा बुवाआमा हुनुहुन्छ भने अर्को कार्टुन क्रु हो’, आश्माले सुनाइन्, ‘यहाँ सबैले सुखदुःख बुझेका छन्। म यसबाटै हिट भएँ। अझै हामी यहीँ सिक्दैछौं।’
कार्टुन्ज क्रले चीनमा सम्पन्न वल्र्ड लिजर गेम्स २०१५–स्ट्रिट डान्स प्रतियोगितामा दोस्रो स्थान हासिल गर्दा आश्मा सँगै थिइन्। सन् २०१२ मा नेपालमा सम्पन्न ब्याटल अफ एयरमा उत्कृष्ट बन्दा पनि उनको योगदान महत्वपूर्ण थियो।
युवा माझ चर्चित ६ सदस्यीय यो टोलीले बी बोइङलाई नेपाली शैलीमा प्रस्तुत गर्दै आएको छ।