‘बाबा, म यो अराजक घरमा बस्दिनँ, विदेश जान्छु।’ छोराले असन्तुष्टि पोख्यो।
बाबाले सम्झाउँदै भन्नुभयो, ‘आफ्नो घर अराजक भयो भने पलायन हुनु त कुन बहादुरी भयो र, बाबु? बरु हामी मिलेर आफ्नो घरको संस्कार र अस्मिता जोगाउने लागौं न, हुन्न?’
‘पहिला निर्माण हुँदा यो घर कत्ति सशक्त थियो रे! राणा अंकल र पञ्चायत अंकलले खै केके गरे? हजुरबाले भन्दै हुनुहुन्थ्यो।’
‘उनीहरूलाई मात्र दोष थुपार्नु हुँदेन बाबु! समय र अवस्थाको माग अनुसार उनीहरूको विवेकले जे देख्यो,त्यही गरे। बरु तेरा प्रजातन्त्र र गणतन्त्र मामाहरूलाई पनि भन्।’
‘के भन्नु?’ छोराको जिज्ञासा।
‘अब म डाँडापारिको जून भैसकें। उनीहरूसँगै हातेमालो गरेर यो घरमा शान्तिको बास गराउने, स्वर्ग बनाउने भनेर!’
आशंका प्रकट गर्दै छोराले भन्यो,‘अनि मामाहरूले तँ फुच्चेको यत्रो हैसियत?’ भनेर मलाई गलहत्याए भने के गर्नु?’
बाबाले शान दिएर भन्नुभयो, ‘तँ मेरो सपूत होस् बाबु, लाछी कुरा गर्नेलाई त खै म के भनूँ? तर, अरूले बनाइदिएको घरमा रङरोगन गरेर बस्न पनि जान्नुपर्दछ’ भनेर बुझेस् है!
प्रकाशित: २९ वैशाख २०८० ०३:४६ शुक्रबार