प्रकाश सपुतको गीत ‘सकम्बरी’ सामाजिक चर्चामा छ अहिले। पक्ष–विपक्ष, समर्थन वा विरोधका कुराहरू आइराखेका छन्। सबै सिर्जना अपवादबाहेक सार्वकालिक, सर्वमान्य तथा सर्वस्वीकार्य भइराख्दैनन्। विवादमा परेको कुरालाई अन्यथा मान्नुहुँदैन। स्वाभाविक रूपमा लिनुपर्छ। फेरि सबै सिर्जना कालजयी हुन्छन् भन्ने पनि हुँदैन। त्यसको महत्व र सान्दर्भिकता समयको सापेक्षतामा आधारित हुन्छ। सम्झन्छु केटाकेटी हुँदा आमा, दिदी, भाउजूहरूले गाउनुभएका पंक्तिहरू टिकटकको युगमा रमाइरहेका पुस्ताका लागि असान्दर्भिक छन ! अहिले सम्झनामा रहेका त्यसबेला उहाँहरूले गाउने पंक्ति थिएः
‘छोरी आउन काशी नेपाल दिएका
राम्रा–राम्रा नाति काखमा लिएका
कोरून् बाटून् केस लामा ती टाला
हातमा लाऊन् सुनका बाहिँ बाला
घरमा झ्यालमा बसेर दुलही गाँसून् बोहोती दुना
घरकै लक्षणले गरेर दिनदिन आइरहून् पाहुना
घरकी सुन्दरी नातिनीहरू हऊन् खेलीरहून् पुतली
यस्तो सब परिपाठ मिलोस् र घरको स्वाँउदथ्यो त्यो नली।’
माथिल्लो पहिलो खण्डका चार पंक्ति केटाकेटीमा मैले सुनेका पंक्ति हुन्। सम्झना रहेकै थियो। दोस्रो खण्डका चार पंक्ति गाइएका थिए होलान्। तर मेरो सम्झनामा थिएन। ‘लोकमञ्जरी’ (वर्ष १, पूर्णाङ्क १, वैशाख, २०७५, उदयपुर) हातमा पर्यो। ‘श्रुतिपरम्परामा जीवित चर्चित कवि लोकनाथ’ भन्ने रोचक घिमिरेले लेख्नुभएको आलेख पढ्दा थाहा भयो। यसका सर्जक लोकनाथ पोख्रेल (१९३३–१९९४) हुन्।
त्यसबेला जनजीवनमा त्यो कविता कसरी भिजेको रहेछ भन्ने कुराको पुष्टि घिमिरेले लेख्नुभएका पंक्ति आफै गर्दछन्। ‘पूर्वी नेपालको गाउँघरका सुन्दर कुनाकाप्चासम्म अत्यन्त लोकप्रिय भएका जनजिब्रोमा रहेको कविता ‘नलीकाण्ड’ का केही पंक्ति हुन्। यी आफ्नो बाल्यकालमा हजुरआमा, आमाहरूले गुनगुनाएको सुन्थें। मेरी पत्नीका अनुसार उनकी आमा र ठुली दिदीहरूको कण्ठमा पनि यी पंक्तिहरू झुन्डिएका थिए अरे। यसरी रामेछापकी मेरी हजुरआमा, आमा, दिङ्ला भोजपुरकी मेरी जेठी सासू अनि ताप्लेजुङकी मेरी सासूसम्मका नारीहरूबीच ज्यादै लोकप्रिय भएको रहेछ। यो कविताले मेरा पिता सोमनाथ घिमिरे ‘व्यास’, उहाँका मित्र साम्वभक्त सुवेदी ‘मुरारी’, पिताजीका मावली दाइ जयप्रसाद दाहालहरूले पनि यो कविताबारे चर्चा गरेको सुन्थें।’
पारिजातको ‘शिरीषको फूल’ की सकम्बरी र प्रकाश सपुतको गीतकी पात्र ‘सकम्बरी’ सिर्जनाका भिन्न कालखण्डका भिन्न पात्र हुन्। नाम मिल्नासाथ एकै भोगाइ र नियति हुन्छ भन्ने हुँदैन। आफ्नी सकम्बरी पात्रबारे सपुतले के भनेका छन्, त्यो त मलाई थाहा भएन। अस्तित्ववादी वा निस्सारतावादी अर्थात् नैराश्यवादी जे जस्तो समालोचकीय दृष्टिकोणले ‘शिरीषको फूल’ वा त्यसकी पात्र सकम्बरीलाई भन्ने गरेको पाइन्छ। स्वयम् पारिजातले भने यसरी आफ्ना भाव व्यक्त गरेको पाइन्छ।
त्यसरी जनजिब्रोमा झुन्डिएर राज गरेको यो कविताको पंक्ति त्यसबेला सान्दर्भिक थियो, अहिले छैन। साहित्यिक इतिहासको एक कालखण्डको प्रतिनिधित्व भने गर्ने गर्छ। यसले तत्कालीन सामाजिक अवस्था र चेतनाको स्तरलाई बोध गराउँछ। भानुभक्त आचार्यको ‘वधू शिक्षा’ ऐतिहासिक मकैपर्वका नायक कृष्णलाल अधिकारीको ‘धर्मकुमारी शिक्षा’, नीलहरि ढकालको ‘छोरीलाई अर्ती’ (यो कृतिको रचनाकार सम्बन्धमा विवाद पनि छ), भीमनिधि तिवारीको ‘सहनशीला सुशीला (नाटक) जनप्रिय थिए। त्यसबेलाको समाजले रुचाएको तिवारीको कृतिकी पात्र सुशीलालाई अहिलेको पुस्ताले कहाँ रुचाउँछ ? करिब दुई दशक अगाडि नै ‘आधुनिक सभ्यताका अनुयायी केही महिलाहरूले विवाहको बन्धनलाई अस्वीकार गर्दै अरू प्रचलित स्वतन्त्रतासँगै आफ्नो स्वच्छन्द यौनजीवन पाउनुपर्छ भन्ने माग चरित्रहीन चेलीका नामबाट उठाएका थिए (राप्रउ पोखरेल, विचार मीमांसा, भृकुटी एकेडेमिक पब्लिकेसन्स)। हेनरी इब्सन (सन् १८२८–१९०७) को ‘पुतलीको घर’ नाटककी पात्र विद्रोही नोरालाई रुचाउँछन् बरु। सन्तान पारिवारिक दायित्वप्रति विमुख नोराको कमजोर पक्षलाई अहिलेको पुस्ताले बेवास्ता गर्छ जस्तो लाग्छ। सयौंचोटि भए पनि सहूँ भनेर बस्ने सुशीलाको समर्पणवादलाई अहिलेको महिला पुस्ताले कहाँ ग्रहण गर्छ ? त्यसैले सिर्जना समय सापेक्ष हुन्छन्। अपवादबाहेक ती सबै सार्वकालिक र सर्वमान्य हुन्छन् भन्ने हुँदैन।
पारिजातको ‘शिरीषको फूल’ की सकम्बरी र प्रकाश सपुतको गीतकी पात्र ‘सकम्बरी’ सिर्जनाका भिन्न कालखण्डका भिन्न पात्र हुन्। नाम मिल्नासाथ एकै भोगाइ र नियति हुन्छ भन्ने हुँदैन। आफ्नी सकम्बरी पात्रबारे सपुतले के भनेका छन्, त्यो त मलाई थाहा भएन। अस्तित्ववादी वा निस्सारतावादी अर्थात् नैराश्यवादी जे जस्तो समालोचकीय दृष्टिकोणले ‘शिरीषको फूल’ वा त्यसकी पात्र सकम्बरीलाई भन्ने गरेको पाइन्छ। स्वयम् पारिजातले भने यसरी आफ्ना भाव व्यक्त गरेको पाइन्छ।
‘उपन्यासको चर्चा र सफलताले अब धेरै व्याप्त भइसकें। सोचेकी थिएँ, त्यसको पनि केही माने लाग्छ तर निस्सारता सायद मानिसको अन्तिम खुड्किलो हो र जहाँबाट साटिने ठाउँ छैन। जब एउटा तरुण तथा आधुनिक ठिटो आउँछ र उत्सुकताका साथ भन्छ– तपाईं सकम्बरी। मलाई लाग्छ भनिदिऊँ– त्योभन्दा हतमागिनी पारिजात। तर त्यसो भन्दिनँ र ठट्टा गर्नपट्टि लाग्छु– तपाईंलाई कस्तो लाग्यो ? मानिसहरू मलाई सकम्बरीमा देख्न थालिसके, आत्मसात गर्न थालिसके (शंकर लामिछाने, बिम्ब–प्रतिबिम्ब, बुकहिल संस्करण)।’
पारिजातकी सकम्बरीलाई बुझ्ने प्रामाणिक र आधिकारिक पात्र भनेका स्वयम् पारिजात र त्यसको भूमिका लेखक शंकर लामिछाने हुन् भन्ने लाग्छ।
त्यसैले प्रकाश सपुतको गीतले एकपल्ट पारिजातको सकम्बरीलाई सम्झाइदिएको छ। उसलाई बुझ्ने प्रयत्न छ तर कुनै धारणा भने बनेको छैन। मात्र सकम्बरीको रूपमा उसको नारी अस्तित्वलाई सम्मान गर्छु, सम्झन्छु।
प्रकाश सपुतको सकम्बरीको हकमा भन्नुपर्दा विभिन्न कालखण्डका महिलाका जीवन र उसको भोगाइलाई पनि हेर्नुपर्ने हुन्छ। वैदिककालीन महिला पात्र माधवीलाई उदाहरणमा लिन सकिन्छ। राजा यायतीकी पुत्री अर्थात् राजकुमारी माधवी एक तपस्वी गालवको आश्रममा रहन्छिन्। गालवले उनलाई एकपछि एक राजाको संसर्गमा जान भन्छन्। सर्तसहित एक÷एक गरेर चार जना राजासँग रहनुपर्ने र उनीहरूबाट एउटा छोरा जन्मेपछि छोड्नुपर्ने। यसरी चार राजाको संसर्गबाट चार सन्तानकी आमा भइन् माधवी। जब उनलाई आफ्ना मातापिताकहाँ पठाइन्छ, त्यसपछि गालवले उनलाई विवाह गर्न विवश पार्छन्। स्वयंवरको आयोजना गरिन्छ। तर माधवीले स्वयंवरको वरमाला वृक्षमा लगेर राखिदिन्छिन्। उनको त्यो प्रतिक्रिया त्यस कुराको सूचक थियो कि अब उनी वनमा गएर तपस्वीको जीवन बिताउन चाहन्छिन्।
त्यसैले प्रकाश सपुतको गीतले एकपल्ट पारिजातको सकम्बरीलाई सम्झाइदिएको छ। उसलाई बुझ्ने प्रयत्न छ तर कुनै धारणा भने बनेको छैन। मात्र सकम्बरीको रूपमा उसको नारी अस्तित्वलाई सम्मान गर्छु, सम्झन्छु।
तिनै वैदिककालीन माधवीको जीवनलाई महिला पक्षीय स्रष्टा मदनमणि दीक्षितको संवेदनशील हृदयले बुझ्यो, चिन्यो। त्यसपछि माधवी उपन्यासले जन्म लियो। वैदिककालीन माधवीलाई समाजले चिन्ने, थाहा पाउने मौका पायो। सबै महिला वा पुरुष जो भए पनि उनीहरूको जीवन र भोगाइलाई एउटै मानकमा कैद गर्न सकिँदैन। एउटै रूपमा परिभाषित हुँदैनन्। जसले जसरी भोग्छ उसले त्यसरी नै जीवनलाई बुझ्छ। गीतकार सपुतकी पात्र सकम्बरीको भोगाइलाई मात्र एउटा बिम्बका रूपमा लिनुपर्छ। त्यसलाई सिर्जनशील अद्भुत क्षमताका प्रकाश सपुतले चिन्न सके। उनको खुबीको प्रशंसा गर्नुपर्छ। सिर्जना विवादमुक्त भएन। त्यसैले गीत अझ चर्चामा रह्यो। सामाजिक आकर्षण ह्वात्त बढ्यो। विरोधका स्वरलाई सपुतले विनम्रताका साथ सम्मान र सम्बोधन गर्नुपर्छ। सिर्जनामा व्यक्त निखारपन आउनका लागि आएका स्वर हुन् भन्ने कुरालाई आत्मसात गरेमा सपुतलाई घाटा होइन, नाफा नै हात पर्ने छ। फेरि सिर्जना समय, काल र परिस्थिति सापेक्ष हुन्छन् भन्ने कुरालाई सबै पक्षले मनन गर्नुपर्छ। प्रतिष्ठाको विषय बनाइरहनुपर्छ जस्तो लाग्दैन।
प्रकाशित: १६ वैशाख २०८० ०१:०१ शनिबार