२६ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

गण्डकी प्रज्ञा प्रतिष्ठानले सातजना श्रष्टालाई सम्मान गर्ने

गण्डकी प्रदेशका विभिन्न क्षेत्रमा स्थापित सात जना श्रष्टा सम्मानित हुने भएका छन्। गण्डकी प्रज्ञा प्रतिष्ठानले दोस्रो वार्षिकोत्सवको अवसरमा उनीहरुलाई सम्मान गर्न लागेको हो।  

सम्मानित हुनेमा गण्डकी प्रज्ञा संस्कृति सम्मानबाट कास्कीका तीर्थ श्रेष्ठ छन् त्यस्तै गण्डकी प्रज्ञा साहित्य सम्मानबाट पर्वतका शान्तिनारायण श्रेष्ठ, गण्डकी प्रज्ञा संगीत सम्मानबाट स्याङजाका अम्मर पोखरेली, गण्डकी प्रज्ञा कला सम्मानबाट तनहुँका आलोक गुरुङ छन्। उनीहरुलाई जनही एकलाख रुपैयाँ नगद, सम्मानपत्र, दोसल्ला सहित सम्मान गरिने गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव मनकुमार श्रेष्ठले बताए।

यसैगरी गण्डकी प्रज्ञा प्रतिष्ठान नारी सम्मानबाट लमजुङकी माया गुरुङ सम्मानित हुनेछिन्। उनलाई ५० हजार रुपैयाँको साथमा सम्मानपत्र र दोसल्लाले सम्मान गरिनेछ। गण्डकी प्रज्ञा युवा सम्मानबाट मोतीबहादुर कार्की र लक्ष्मी थापा सम्मानित हुनेछन् । उनीहरुलाई २५ हजार रुपैयाँको साथमा सम्मानपत्र र दोसल्लाले सम्मान गरिनेछ।

गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का विखर्चीको संयोजकत्वमा गठन भएको छनोट समितिले उनीहरुलाई चयन गरेको हो। छनोट समितिमा वरिष्ठ कलाकार दुर्गा बराल (वात्स्यायन) वरिष्ठ लोक दोहोरी गायिका हरिदेवी कोइराला, प्रतिष्ठानका उपकुलपति गोरे गुरुङ र सदस्यसचिव मनकुमार श्रेष्ठ सदस्य रहेका थिए ।  

सबै श्रष्टालाई शुक्रबार एक कार्यक्रम गरी सम्मान गरिनेछ। सो कार्यक्रममा सम्मानित श्रष्टाले धुनमा कविता सुनाउनेछन्। यसैगरी झाँकी प्रदर्शन, नृत्य प्रस्तुति र गायन प्रस्तुति समेत कार्यक्रमको आकर्षणको रुपमा रहेको प्रतिष्ठानले जनाएको छ।  यसबाहेक गण्डकी प्रदेशको नाट्य क्षेत्रलाई लक्षित गरेर ‘गण्डकी नाट्यदर्पण’ प्रकाशन गरेको प्रतिष्ठानले गण्डकी प्रदेशका विभिन्न जिल्लाका २८ जना श्रष्टाको वायोग्राफी समेत तयार पारेको जनाएको छ।  

प्रकाशित: १४ वैशाख २०८० ०९:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App