पोखरा- सफल साझेदारीको पहिलो सर्त के हो? इमानदारी, भरोसा वा विश्वास! आममानिसको उत्तर यस्तै चिजको वरिपरि हुन्छ। तर, यही प्रश्न मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई सोध्ने हो भने फरक उत्तर आउँछ। सोमबार पोखरामा जारी साहित्य महोत्सवमा नागरिक दैनिकका सम्पादक गुणराज लुइँटेलले ठ्याक्कै यही प्रश्न सोध्दा मदनकृष्णले भने– उमेर। उनले थपे, 'हरि र मेरो बीचमा साढे सात वर्षको अन्तर छ। म हरिभन्दा जेठो छु। मलाई लाग्छ, यही कारण हाम्रो सम्बन्ध यति टिकाउ भयो। जेठो भएकाले उसले मलाई सम्मान गर्छ र कान्छो भएकाले म उसलाई माया गर्छु। यसरी हाम्रालागि उमेर नै साझेदारीको सेतु बनेको छ।'
त्यसमा हरिवंशले थपे, 'अरुलाई साढे सातको दशा लागेर बिल्लीबाठ हुन्छ। हामीलाई चैँ फलिफाप नै फलिफाप!'
शुक्रबारदेखि पोखरामा जारी नेपाली साहित्य महोत्सवमा सोमबारको पहिलो सत्रमा सम्पादक लुइँटेल महजोडी साझेदारीको लामो यात्राको कारण जान्न उत्सुक थिए। सँगै थिए, चौरमा खचाखच भरिएका दर्शक।
'साझेदारीका लागि विश्वास चाहिन्छ। विश्वास केले पैदा गर्छ?' महलाई सुन्न खचाखच दर्शकबीच पत्रकार लुइँटेलले सोधे। हरिवंशले जवाफ दिए, 'आमासँग जम्मा ११ वर्ष बिताउन पाएँ। बुबासँग ६ वर्ष र दिदीसँग चार–पाँच वर्ष। तर, मदनदाइसँग ३७ वर्ष बिताएँ। बुबाआमा, दिदीभाइ सबैको भूमिका मदनदाइले निभाउनुभयो। दाइ नहुनु भएको भए आज म जहाँ छु, त्यहाँ हुन्नथेँ। मदनदाइमा ९० प्रतिशत राम्रा गुण छन्। ममा ५० प्रतिशत।'
हरिवंशलाई रोक्दै मदनकृष्णले भने, 'हरि नभएको भए म पनि यहाँ हुन्नथेँ। उसमा ममा भन्दा धेरै राम्रा गुण छन्।'
दुवैका कुरा सुनेपछि सम्पादक लुइँटेलले निचोड निकाले, 'भनेपछि दिगो साझेदारीका लागि राम्रो गुणको प्रशंसा गर्नुपर्ने रै'छ हैन?'
दर्शकले ताली बजाएर निष्कर्षलाई अनुमोदन गर्यो।
'मह' आजजस्तो जोडिएर गुलियो बन्नुअघि मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य बेग्लाबेग्लै प्रहसन गर्थे। दुवै लोकप्रिय थिए। तर, पहिलोपल्ट मदनकृष्णले हरिवंशको नाम भक्तपुरको एउटा कार्यक्रममा सुनेका थिए।
'भक्तपुरको हाइस्कुलमा यस्तै केही कार्यक्रम थियो। म जाँदाजाँदै एउटा मान्छेले तिमीजस्तै दुब्लो मान्छेले बेस्कन हँसायो भनेर सुनायो,' मदनकृष्णले पहिलो भेट सम्झँदै भने, 'पछि मैले हरिलाई नाचघरमा देखेँ। हरि यसरी साइकल चढेर आएको थियो कि मैले पनि हाँसो रोक्न सकिनँ। पछि राष्ट्र बैंकको रजतजयन्तीमा रुबी जोशीले दुइटा प्रहसन गर्ने समय नभएर एउटैमा गर भनेपछि बैंकेश्वर शीर्षकमा प्रहसन गर्यौँ। यहीँबाट हाम्रो जोडी बन्यो।'
हरिवंश आचार्यलाई भने दुवैको सयुंक्त प्रहसन फ्लप भएको भए जोडी पनि नबन्ने रै'छ भन्ने लाग्छ। उनले सोही प्रसंगपछि थपे, 'कामले जोडिएको सम्बन्धले निरन्तरता पाउन त्यो कामले सफलता पाउनुपर्छ। हामीलाई पनि हाम्रो व्यवहारले जोडेको होइन, सफलताले जोडेको हो।'
साझेदारीमा फाटो आउने अर्को कारण पैसाको हिसाबकिताब पनि हो। महको सम्बन्ध टिकाउ हुनुमा यसको पनि मुख्य भूमिका छ। 'मैले जानेर कहिल्यै बेइमान गरिनँ। दाइले पनि गर्नुभएन। पाँच रुपैयाँ कमाउँदा पनि अढाई–अढाई रुपैयाँ बाँड्यौँ,' हरिवंशले भने, 'मैले कहिल्यै दाइलाई जित्न खोजिनँ। दाइले पनि खोज्नुभएन। सायद यो इमानदारी पनि एउटा पाटो हो, जसले हामीलाई सँगै हिँडाइरहेको छ।
मदनकृष्णले पनि हरिवंशको कुरामा सही थापे। भने, 'एक्लै भएको भए यो उमेरमा सायद म थाकिसक्थेँ तर मलाई हरिले थाक्न दिएको छैन।' हरिवंशले फेरि ठट्टा गरे, 'त्यसैले आजभोलि हामी दुईखुट्टे होइन, चारखुट्टे भएका छौँ।'
एक घन्टा चलेको सत्रमा यसरी दुवैले संघर्षका दिनदेखि आगामी योजनाबारे कुरा गरे। मदनकृष्ण श्रेष्ठको चाँडै नै आत्मकथा आउँदै छ, हरिवंश उपन्यास ल्याउने तयारी गर्दै छन्। यसअघि उनको 'चिना हराएको मान्छे' संस्मरण पुस्तक प्रकाशित भइसकेको छ। दुवै मिलेर फिल्म बनाउन लागेको कुरा यसअघि नै आइसकेको छ।
चार दिनसम्म चलेको महोत्सवको अन्तिम दिन थुप्रै महŒवपूर्ण विषयमा संवाद भए। महसँगको कुराकानीपछि दोस्रो सत्रमा चौरमा अमर न्यौपाने र बुद्धिसागर राजेन्द्र पराजुलीसँग 'रुन्चे साहित्य' शीर्षकमा गफिए भने हलमा सोही समय चलेको अर्को सत्रमा समृद्धि राईले दुर्जोय दत्तसँग कुराकानी गरिन्।
त्यसपछिको सत्रमा ऋचा भट्टराईले सोसल मिडिया प्रयोगका फाइदा–बेफाइदाका सम्बन्धमा भुटानी पत्रकार नाम्गे जाम, जीवन क्षेत्री र लेखक सुबिन भट्टराईसँग कुरा गरिन्। समानान्तर रुपमा हलमा चलेको सत्रमा भने गनेस पौडेलले फरक विचार राख्ने राजन मुकारुङ, सरस्वती प्रतीक्षा र खगेन्द्र संग्रौलासँग 'बागी विचार' शीर्षकमा बहस गरे।
साहित्यमा हुने समयचेतबारे शकुन्तला जोशीले चौरमै भएको अर्को सत्रमा नारायण ढकाल, भूपाल राई र सरिता तिवारीसँग 'साहित्यमा समयचेत' शीर्षकमा कुरा गरेकी थिइन् भने समानान्तर सत्रमा सोही समय बिमल आचार्यले लेखकले अपनाएको पेसा लेखनका लागि बाधा हुन्छ कि खुराक भन्ने सम्बन्धमा जिज्ञासा राखे। 'पेसा : बाधा कि खुराक' शीर्षक रहेको छलफलमा नयनराज पाण्डे, रामलाल जोशी र रवीन्द्र समीरले आ–आफ्ना धारणा राखे।
'क्राउड पुलर' देखिएको अर्को सत्रमा गगन थापा र कुलमान घिसिङ 'चाँदीको घेरा' शीर्षकमा सेतोपाटी सम्पादक अमित ढकालसँग गफिए। महोत्सवको अन्तिम सत्रका रुपमा कवितावाचन हुनुअघि वसन्त थापा गायक तथा संगीतकार रामेशसँग 'गाउँगाउँबाट उठ' शीर्षकमा गफिएका थिए।
प्रकाशित: १८ माघ २०७३ ०२:२९ मंगलबार