२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

कोही रोएर मन बुझाउँछन् कोही छोएर मन बुझाउँछन्

कविता

कोही रोएर मन बुझाउँछन्

कोही छोएर मन बुझाउँछन्

सबै कुरा मनभित्रै बाँधिदो रहेछ

कोही फोएर मन बुझाउँछन्।

मन अथाह संसार हो

खोल्न नमिल्ने धनसार हो

विवशताको ताल्चा मारेको

चिन्तन आयात र निर्यात गर्ने भन्सार हो।

मन खोलीको बाँध हो

व्यवहार र कर्तव्यको दोसाँध हो

ममताको विशाल भण्डार मन

आत्मा र परमात्माको पर्दाफास हो।

मन बुद्धत्वको शान्ति हो

अन्योलमा अल्झिएको भ्रान्ति हो

आफैंभित्र जलिरहने मन

विध्वंसको क्रान्ति हो।

मन सम्मान हो वा सम्मोहन

निराकार हो वा निरञ्जन

हजार सपना सजिएको

मन हो कि कतै लालचाको बन्धन

मन दुःख हो वा मन सुख हो

मन कल्पतरु झ्याँगिने रूख हो

पाइँदैन परिभाषामा मन

दिशा विदिशा बहने मरुत हो।

भिन्नभिन्न परिवेशमा

झुल्किन्छ मन भिन्न भेषमा

मन कहाँ पुग्दैन र सजिलै

ब्रम्हाण्डभरि निमेषमा।

मन एक, रूप अनेक छन्

उर्लन्छन् कति, कति चुप रहन्छन्

कहाँ फुक्छन् र मनका गाँठा सबै

हतकडीझैं झन् झन् कसिन्छन्।

मन चैते हुरीमा उड्ने पतिङ्गार हो

आँखाभित्र पसेको कसिंगार हो

थिच्न, झिक्न सकस हुने मन

भविष्य डस्ने अजिंगर हो।

मन खेल हो, भदौरे भेल हो

चालक बेगर चलिदिने रेल हो

चार दिवार नै चाहिंदैन

खुला सडकमै मान्छे थुनिदिने जेल हो।

मन बालुवाको तेल हो

बिनागल्ती भिरिएको नेल हो

कहाँ सजिलै मिलाइन्छ र मन

आफ्नै जिन्दगीको बेमेल हो।

कतै निचोरेर मिलाइन्छ

कतै चिथोरेर मिलाइन्छ

समयसितै बहकिने मन

कतै कतै मुसारेर मिलाइन्छ।

कतै हेपेर मन मिलाइन्छ

कतै ढेपेर मन मिलाइन्छ

आँसु बगेपछि हेर

कतै चेपेर मन मिलाइन्छ।

कतै मन मिलाउन पिलाइन्छ

कतै नयाँलाई उधारेर सिलाइन्छ

नसानसामा दम दिएर

मन नमिले हिलाइन्छ।

प्रकाशित: ११ चैत्र २०७९ ०५:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App