२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

भेटाउलो र चैतलो

संस्कृति

भेटाउलो

सुदूरपश्चिमका अधिकांश जिल्लामा चैतको महिनाभरि आफ्ना दिदीबहिनीलाई भेट्ने चलन रहेको छ। बिहे भएका दिदीबहिनीलाई चैत महिनामा दाजुभाइले लाउन (पुरी) सेल, बटकु, माणालगायतका खानाका प्रकारले भेट्ने गर्छन्। कसैले गहुँ चामलको पिठो र तेलघिय लैजाने गर्छन्। आजभोलि केही बजारका तयारी वस्तु मिठाइँ, चिनी, लुगाकपडा लगायत लाने गरिन्छ। दाजुभाइ नभएकाहरूलाई बुबाकाका र अन्य नजिकका नाता पर्नेहरूबाट भेट्ने चलन छ।

चैत महिना आएपछि विवाहित छोरी बहिनीले माइती घरलाई सम्झने गर्छिन्। कुन दिन भेट्न आउँछन् भनेर बाटो हेरेर बस्छन्। भेट्न आउने माइतीका लागि छोरीबहिनीहरूले पनि राम्रो पकाएर खुवाउने गर्छन्। चैत्र महिनाको भेटघाटले छोरीबहिनीहरूको पोइलपट्टि र माइतपट्टिका बीचमा सुमधुर सम्बन्ध बनाउँछ।

चैत महिनाको मौसम पनि निकै अनुकूल हुन्छ। वनपाखामा पालुवा पलाएर हरियाली छाएको हुन्छ। वनमा कुहु कुहु कोइली चरी बास्छ। वातावरण निकै मनमोहक हुन्छ। चैत महिनामा पुरानो अन्न सकिन लागेको अवस्था र नयाँ बाली पाकी नसकेको अवस्थामा गाउँघरमा अन्न बालीमा कमी आउँछ। भेट्न आउने माइतीलाई के खान दिने भन्ने चिन्ता पनि दिदीबहिनीहरूमा रहन्छ। यो सन्दर्भमा एउटी छोरीले आफ्ना भावना यसरी व्यक्त गर्छिन्–

‘आरु फुलाई आरु पकाई जन आया बाबा’  

चैतमा आरु फुल्ने बेला र साउनमा आरु पाक्ने बेलामा पुरानो अन्न बाली सकिने अवस्था आउँछ। साउनमा पनि नयाँ अन्नबाली नपाकेको र पुरानो थन्क्याएको अन्नबाली समाप्त हुने अवस्थालाई यो भनाइले उजागर गरेको छ।

सुदूरपश्चिमका केही जिल्लामा माघ महिनामा पनि छोरीबहिनीहरूलाई भेट्ने चलन भए पनि अधिकांश जिल्लामा चैत महिनामा नै भेट्ने चलन रहेको छ।

चैतलो

चैतलो चैत महिनामा दमाईं जातिबाट गाइन्छ। चैतलो गाउँदा हुड्को बजाइन्छ। चैत महिनाभरि सबैको घरमा गएर यो गीत सुनाइन्छ।

चैतलोको जनप्रचलित कथ्यसन्दर्भ यस्तो रहेको छ:

भानादेउ नाम गरेका एक जना राजा थिए। उनका पाँच वटा छोरा थिए। उनलाई छोरी नहुनुको ठुलो पीडा थियो। उनी धेरै तीर्थ धाए। ठाउँ ठाउँका तीर्थ धाएपछि उनकी रानी गर्भिणी बनिन्। पेटमा गर्भ भएका बेला रानीलाई नारङ्गी (सुन्तला) खाने साह्रै इच्छा लाग्यो। राजाले सबै ठाउँ धाए तर चैतमा कहीं पनि नारङ्गी भेटाएनन्। उनी नारङ्गी (सुन्तला) खोज्न पाताल लोक पुगे। पाताल लोकमा राजाको भेट नाग राजासित भयो। नाग राजा छोरी भयो भने मलाई दिनुपर्ने सर्त राखेर नारङ्गी दिन मञ्जुर भए। नाग राजाका सर्तलाई भानादेउले मञ्जुर गरेपछि चार दाना सुन्तला लिएर फर्के।

रानीले छोरी जन्माइन्। छोरीको नाम कुजाधना रौतेली राखियो। कुजाधनालाई बाह्र वर्ष भयो। बाह्र वर्ष पूरा हुनासाथ नाग राजा आए।

नाग राजाले आफ्नो सर्तअनुसार कुजाधना रौतेलीलाई बिहे गरेर लैजान खोजे तर भानादेउले मानेनन्। भानादेउले भने चार दाना नारङ्गीको चार सेर सुन लगेर जाऊ भने तर नाग राजाले मानेनन्।

नागले भने–जमान ठुलो कुरा हो। तिम्रो चार सेर सुनले म के गरौं? मेरो पाताल लोकमा सुनकै झ्याल छ, सुनकै ढोका छ, सुनकै छानो छ तर जमान के भएको थियो त्यो कुरा सम्झौं।

बाध्य भएपछि भानादेउले भने–ठिक छ, सात दिनभित्र जन्ती ल्याऊ र लैजाऊ। कुजा रौतेलीसित बिहे गर्ने भनेर चारै दिशााका राजा आएका थिए। नाग राजाले जन्ती ल्याएपछि सबै आआफ्नो दिशा लागे। डोलीमा सजिएर जाने बेलामा कुजाधनाले रुँदै भनिन्:

कला लेक कला धुरा एकली नाइ झानौ,

लाइदे इजु (आमा) पिठीको भाइयलु।

कालो लेक छ। कालो चुचुरो छ। म त एक्लै जान्नँ। लगाइदिनु आमा मलाई पुर्‍याउन मेरा भाइ।

आमा भन्छिन्:

एक भाइ तेरो बन्ज व्यापारमा

अर्को भाइ तेरो राजाकी चाकरीमा

तेस्रो भाइ तेरो बाकरी ग्वालो

चौथो भाइ तेरो भैंसीको ग्वालो

पाँचौं भाइ तेरो धुलीमाटी खेल

कान्छोइ भाइ (सदेउबाला) कपडाका खोल

तेरा किस्मतमाई तसोई मागेई तैंले

कैई रे लाउ तेरासँग तई पाताल लोक।

आमालाई म एक्लै कसरी जाऊँ भन्दा पाताल लोकमा नागले खाने डरले छोराहरूको व्यस्तता बताइन् आमाले। जेठो छोरा व्यापारमा व्यस्त छ। दोस्रो छोरा राजाको सेवा गर्छ। तेस्रो छोरा बाख्रा हेर्छ। चौथो छोरा भैंसी चराउँछ। पाँचाैं भाइ धुलोमाटो खेल्छ। सबैभन्दा कान्छो भाइ काखमा कपडा नै ओड्छ। तिम्रो भाग्यमा पाताल लोक छ छोरी, जाऊ। नाग राजाले कुजाधना रौतेलीलाई पाताल लोक पुर्‍यायो।

वर्ष बित्दै गयो। विवाह भएको बाह्र वर्ष भइसकेको थियो। भानादेउको सबैभन्दा कान्छो पुत्र सदेउबालो गाईबाख्रा चराउन ग्वाला जाने गथ्र्यो। चैतमा ग्वालाहरू सदेउबालोलाई दिदीबहिनी नभएको भनेर हेप्ने गर्थे। ऊ घरमा गएर आमालाई सोध्ने गथ्र्यो– ‘आमा मेरा दिदी छन् कि छैनन्?’ आमाले जवाफमा–तिम्रो दिदी छैनन् भनेर भन्नुहुन्थ्यो। उसकी दिदी भएको सदेउबालोलाई थाहा थिएन। नागसित बिहे भएको कुरा उनलाई बताएका थिएनन्। पाताल लोक पुगियो भने नागले खाइदेला भन्ने डर थियो। दिदीको बिहेका बेला ऊ सानो बालक थियो। ग्वालाहरूले दिदी नभएको भनेर हेप्न थाले।

एक दिन त सदेउबालोले आमासँग खुबै जिद्दी गरे। उनले आमालाई भने–‘यदि मेरी दिदी बताउनुहुन्न भने म घरको धुरीमा झुन्डिएर आत्महत्या गर्छु।’ आमाले बाध्य भएर भनिन्, ‘तिम्री दिदी सात समुद्रपारि पाताल लोकमा छिन्। नागका राजासित बिहे भएको हो। हामी गयौं भने नागले खाइदेला भन्ने डरले तिमीलाई पनि नबताएको हो। तिमी त्यस्तो कुरा नगर बाबु।’

सदेउबालोले आमालाई भन्यो: 

सुण सुण जिया मेरा मेरी बिन्ती सुण

लकुणी सजाइ दिय लाणु चिउणा बाधिदिय  

मइ दिदी भेटेर आउनौं पाताल लोकमाइ।

सदेउबालोले आमालाई भन्यो–आमा मेरो बिन्ती सुनिदेऊ। मेरा लुगा कपडा सजाइदिनुहोस्। सातो सामल बाँधिदिनुहोस्। म पाताल लोकमा दिदी भेटेर आउँछु।

आमाले भन्नुहुन्छ–

लुकुडा सजाइछ निरामैला भया

लाणु चिउणा बाधिछ भाइरफुकि गया

घोडो तयार गर्‍यो घोडाका पैर टुटिगया

टिका लाउनौ भण्यो बाउँतिर ढल्यो  

असगनु होइग्यो

तेरा बुवा घर नाइथिन पुइ झालइ छोरा।

आमाले भन्नुभयो–धोएका लुगा फोहोरमैला भए। सातो सामल बाहिर पोखियो। तयार गरेको घोडाको खुट्टा भाँचियो। टीका लगाउँदा बायाँतिर ढल्यो। अशुभ भयो छोरा। तिम्रा बा घरमा छैनन्। आइदिनुहोला,

फेरि जानुहोला।  

सदेउबालोले आमाको कुरा मानेन। ऊ जिद्दी गरेर सात समुद्रपारि दिदीलाई भेट्न भनी यात्रा सुरु गर्‍यो। हिँड्दाहिँड्दै ऊ सात समुद्रपारि पाताललोक पुग्यो। ऊ थाकेर पिपलको चौतारोमा बस्यो। पानीको पँधेरामा पानी खायो। उसले जोलीबाँसुली (जोडी बाँसुरी) बजायो।

पानी भर्न आएकी एक युवती उसलाई लामो समयसम्म हेरी रहिन् अनि उनले सोधी, ‘ए, (लोग्या) मानिस तिमी को हौ? तिमी यहाँ कहाँबाट आयौ?’ सदेउबालोले जवाफ दियो, ‘म दुबानगरी राजा भानादेउको छोरा हुँ। मेरो नाम सदेउबालो हो। म मेरी दिदी कुजाधनालाई भेट्न आएको हुँ। मेरा भिना नाग राजा हुन्।’  

त्यो युवती नाग राजाकी बहिनी भागा थिई। फोलो (पानीको घडा) बाकेर भागा सरासर घर गई। त्यतिबेला उसकी भाउजू कोठामा सुतेकी थिइन्। उसले भाउजूलाई भनी, ‘भाउजू, तिम्रो भाइ आएको छ। पिपल चौतारोमा बसेको छ। दिदी भेट्न आएको कुरा गर्दै छ। तिम्राजस्तै अनुहार छ। तिम्राजस्तै दन्तपाटि (दाँतको हार) छ। बाँसुरी बजाउँदै छ।’

सुरुमा त कुजाधानाले आफ्नी नन्द भागाका कुरामा विश्वास गरिनन्। सबै बेलीविस्तार लगाएपछि पत्याइन् र रित्तो फोलो (रित्तो घडा) लिएर पानी भर्न पँधेरातिर गइन्। चौतारामा दुवै जना दिदी र भाइको भेट भएपछि अँगालो मारेर रुवावासी गर्न थाले। सदेउबालोले दिदीलाई ढोग्नसमेत बिस्र्यो। कुजाधानाकी नन्दु भागा हेरिरहेकी थिई।

कुजाधानालाई नाग राजाबाट कसरी बचाउने भनेर पिर पर्न थाल्यो। मेरो भाइलाई खाइ पो हाल्छन् कि भनेर चिन्ता गर्न थालिन्। उनले भाइलाई नाग राजाले नदेख्ने गरी लुकाइन्।  

तालबाट मरेका मुर्दा खाएर नाग आयो। आउँदा आउँदै उसले भन्यो, ‘हन्साइ काँ मन्साइन काँ? (मानिसका जस्तो बास्ना कहाँ आयो?) रानी कुजाधानाले भनिन्, ‘म त मानिस कै छोरी हुँ, मेरै बास्ना होला। आज मलाई नै खानुहुन्छ त?’

नागले भने, ‘तिमीलाई किन खान्छु ? त्यस्तो कुरा नगर।’ 

फेरि कुजाधानाले प्रश्न गरिन्, ‘मेरो कुनै माइती आयो भने हजुरले के गर्नुहुन्छ?’

नागराजले तिम्रो माइती मात्र होइन, तिम्रो माइतको काग आए पनि म स्वागत गर्छु, सत्कार गर्छु भनेर वचन दिए। यो वचनपछि कुजाधानाले लुकाएको भाइलाई देखाइन्। कुजाधानाको भाइ सदेउबालोले सुपारी राखेर, जनै राखेर, डबल पैसा राखेर ‘जदौ भिना कालीनाग’ भनेर प्रणाम गरे। ‘बाँचिरहनु सदेउबालो। आज के काम चलाई गर्‍या? (आज के कामले पाल्नुभयो?)’ काली नागले भने।

सदेउबालोले भने, ‘भिनाज्यू, तिम्री दिदी छैन भनेर मलाई वारिपारि गाउँका मान्छे हेप्न थाले। म दिदीलाई बोलाउन आएको हुँ।’

आफ्नो सालाको प्रस्तावलाई कालीनागले समर्थन गरे। उनले सदेउबालोलाई भने, ‘हुन्छ सालाज्यू, मेरो एक्लो घर छ। छिटो पठाइदिनुहोला भनेर डोले, भरिया तयार गरेर सातो सामलसहित दुवै दिदी र  भाइलाई पठाइदिए।

उनीहरू घरबाट तामझामसहित एक कोष टाढा पुगिसकेका थिए। त्यसबेला कालीनागकी बहिनी भागाले भनिन्, ‘दाजु, राजालाई चेत हुँदैनन्, कान मात्र हुन्छन् भन्थे साच्चै रहेछ। हजुरले उसको कुरा मात्र सुन्नुभयो। त्यो भाउजूको भाइ होइन। कोही अरू नै लोग्या (व्यक्ति) हो। तिनीहरूका बीच ढोग पनि चलेको थिएन। अँगालो मात्र हालेका थिए। त्यो कुनै अर्कै पुरुष हो। भाउजूलाई लगेर गयो। तिम्रो कोट बाँझो गरि गयो।’

बहिनी भागाको कुरा सुनेपछि काली नाग खुबै रिसायो। उसले घोडा कसेर कुदायो। एक कोष टाढा पुगेका दिदीभाइलाई भेट्ना साथ नागले सदेउबालोलाई डसेर मारिदियो।

कुजाधानाले रोएर भन्न थाली:

‘सुण सुण डोलेली चेलाउ  

मेरी डोली भियाँ बिसाइ दिय

मै बुदया सदिउ बालो धेक्दउ

डोल्याले भुइँमा आराल्यो

दौडिबरे गइ रे भण्यो

के रे साइत आइथेइ दादी

फटकेका रुवा जसो पुनिउँ कि जून जसो

के साइत आइथेइ यै पताललोक

पताललाकै रनु भयो

भण्णी दाजिब्ब खाइ मरी।’

भाइ मारेपछि दिदी कुजाधानाले रुँदै भन्न थालिन्, ‘सुन सुन डोले बाबुहरू, मलाई भुइँमा ओराल। म मेरो भाइलाई हेर्छु।’

डोलेहरूले भुइँमा ओरालेपछि दौडेर गई अँगालो हालेर भन्छिन्, ‘कुन साइतमा यो पाताल लोक आयौ मेरो भाइ। सेतो कपासजस्तो, पूर्णिमाको जूनजस्तो पाताल लोकमै मर्नुभयो।’ यति भन्दै आफूले पनि आत्मदाह गरिन्।

यो सबै घटना कालीनाग हेरिरहेको थियो। आफ्नो सालालाई मार्‍यो भनेर चारै दिशामा मेरो बदनाम हुने भयो भन्ने डरले आफूले पनि आत्महत्या गर्ने निर्णयमा पुग्यो।

आकाश छुरी खित्यो कुमपाटी पर्छयो

आकाश छुरी खित्यो दातपाटी पर्छयो

आकाश छुरी खित्यो मेहानको मेहान

छुरी लाद लिइ मर्‍यो।

आत्महत्या गर्ने निर्णयमा पुगेको नागले आकाशमा छुरी फालेर कहिले कुमले रोक्ने, आकाश छुरी फालेर कहिले दाँतले रोक्ने। अन्त्यमा भुँडीमा छुरी रोपेर देहत्याग गरे।

इजरी कानलीका त पलुइ झन्ना तिता

भलो गरेइ भागा नन्द दुएइ घर रिता

(बारीका कान्लामा पलाउने छन् तिता–विरुवा। भलो गर्‍यौ भागा, नन्द माइती र पोयलको घर रिता)

गाउँघरमा यो उखानमा रूपमा प्रचलित छ। ‘घाट पारि कि नन्दुपीडा’ भन्ने उखान पनि यसै कथासित जोडेर चलिआएको छ।

(कहानी समाप्त हुन्छ)

यो चैतलो हो। दमाईं जातिका मान्छेले हुँड्को बजाउँदै यो कथावस्तुलाई गाएर प्रस्तुत गर्छन्।  

दमाईं जातिसित जोडिएका चैतलोजस्ता सिप, कला र संस्कृतिहरू थुप्रै छन्। जुन कला संरक्षणको अभावमा लोप हुँदै गइरहेका छन्। लोप हुनुको कारण पत्ता लगाई समयसापेक्ष रूपान्तरण गर्दै कलालाई सम्मानित र मर्यादित बनाउँदै लैजानु आजका पुस्ताको दायित्व हो। कला र कलाकारको उचित कदर र सम्मानको अभावमा यस्ता कला संस्कृतिहरू लोप भइरहेका छन्। 

प्रकाशित: ११ चैत्र २०७९ ०४:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App