२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

उपाध्यायको ‘स्मृतिका रेखाहरू’ सार्वजनिक

त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति प्रा. महेशकुमार उपाध्यायद्वारा लिखित आत्मवृत्तान्त ‘स्मृतिका रेखाहरू’ शुक्रबार सार्वजनिक भएको छ।

उपाध्यायका जीवनका अनुभव र संर्घषका अनुभूति समेटिएको पुस्तक नेकपा (माओवादी केन्द्र)का नेता पूर्वमन्त्री देवेन्द्र पौडेलले सार्वजनिक गरेका हुन्। राणाकाल, प्रजातन्त्र स्थापना, पञ्चायत, प्रजातन्त्र पुनःस्थापना र गणतन्त्रसम्म करिब आठ दशकयताका अनुभव पुस्तकमा समेटिएका छन्।

९१ वर्षीय लेखकको पुस्तक सार्वजनिक समारोहमा उनीसँगै काम गरेका र उनलाई नजिकबाट चिन्ने पुरानो पुस्ताका व्यक्तिहरूको उपस्थिति रहेको थियो। पुस्तकको समीक्षा प्रा. मोहन लोहनी र प्राडा वीणा पौड्यालले गरेका थिए।

लेखक उपाध्याय पूर्व परराष्ट्रमन्त्री शैलेन्द्रकुमार उपाध्यायका सहोदर दाजु हुन्। शैलेन्दकुमार उपाध्यायको ८२ वर्षको उमेरमा सगरमाथा आरोहणका क्रममा निधन भएको थियो। ‘वृद्ध व्यक्ति’ को रेकर्ड कायम गर्ने कोसिसका क्रममा सन् २०११ मा सगरमाथाको खुम्बु क्षेत्रमा उनको निधन भएको थियो। पुस्तकमा दाइसँगका सम्झनालाई पनि जोड्ने कोसिस गरिएको छ।

‘जीवनमा पार गरेको यात्रा अनुभव, महत्वपूर्ण घटनाक्रम पुस्तकमा साभार गरेको छु,’ लेखक उपाध्यायले भने, ‘आफूले भोगेको जे छ, त्यही भोगाइलाई बढाइचढाइ नगरी सत्यतथ्यलाई यस आत्मकथा पुस्तकमा उतारेको छु।’

पुस्तक समीक्षा गर्दै प्राध्यापक डा. पौड्यालले लेखकको जीवनकालदेखि त्रिभुवन विश्वविद्यालयको इतिहास र राजनीतिक अवस्थालाई समेटिएको बताइन्। ‘हरेक कालखण्डमा घटेका घटना, भूतपूर्व पात्रदेखि अन्य सामान्य चीजको पनि राम्रो स्मरण गर्ने लेखकको दैविक शक्ति रहेको छ,’ उनले भनिन्, ‘यो पुस्तक पढ्दै गर्दा आफै एक पात्र उभिएझैं तथा संवाद गरिएझैं लाग्छ।’

कार्यक्रममा काठमाडौं विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा. सुरेशराज शर्मा, त्रिभुवन विश्वविद्यालय पूर्व उपकुलपति प्रा. केदारभक्त माथेमाका साथै पूर्वाञ्चल विश्वविद्यालयका पूर्व उपकुलपति प्रा. तोरणबहादुर कार्कीलगायत अन्य विशिष्ट व्यक्तिको उपस्थिति थियो।

मुलुकको वामपन्थी आन्दोलनदेखि पञ्चायतकालमा समेत एक महत्वपूर्ण व्यक्तित्वका रूपमा उपाध्याय रहेका छन्। वामपन्थी आन्दोलनका महत्वपूर्ण पात्र पुष्पलाल, पञ्चायतका प्रणेता राजा महेन्द्र र राजा वीरेन्द्रसँगका प्रसंग पनि यसमा उल्लेख छन्। 

प्रकाशित: ११ चैत्र २०७९ ०४:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App