२० आश्विन २०८१ आइतबार
image/svg+xml
कला

युवा पुस्ताका सन्देश छाड्न सफल रेडियो नागरिक होली महोत्सव ‘कलरेल्ला–२०२३’

युवा पुस्ताको ढुकढुकी समात्न माहिर रेडियो नागरिक ९६.५ ले यस पटक फेरी अर्को सफलता हात पारेको छ। रेडियो नागरिकले सोमबार राजधानीमा आयोजना गरेको होलि महोत्सव ‘कलरेल्ला–२०२३’ युवा पुस्ताको चाहना, आवश्यकता र क्षमता उजागर गर्न सफल भएको आयोजकले बताएका छन्। यो कार्यक्रमले युवा पुस्तासँग जोडिएका धेरै बिषयवस्तुबारे सन्देश पनि छाडेको छ।  

राष्ट्रिय नागरिक दैनिक प्रकाशित गर्दै आएको नेपाल रिपब्लिक मिडियाको भगिनी संस्था रेडियो नागरिकले युवा पुस्ताको संस्कृतिप्रतिको रुची र सरोकारलाई मध्यनजर राख्दै सोमबार राजधानीमा अवस्थित ‘अन्नपूर्ण होटल’मा विशेष ‘कलरेल्ला–२०२३’ होेली महोत्सव आयोजना गरेको थियो। कार्यक्रम अपरान्ह्र १२ बजेदेखि ७ बजेसम्म चलेको थियो।

यो एउटा महोत्सव मात्र नभएर अबका युवाहरुलाई चिन्ने राम्रो अवसर भएको विश्लेषण आयोजकको छ। आयोजकका अनुसार ‘कलरेल्ला’ नाम दिइएको उक्त महोत्सवमा ३२ सय सर्वसाधारण सहभागी भए। यीमध्ये अधिकांश सहभागी १८ देखि ३० बर्ष उमेर समूहका युवायुवती थिए।  

‘हामी यो कार्यक्रमबाट निकै उत्साहित भएका छौं। यसले हामीलाई अहिलेको युवापुस्तालाई चिन्ने राम्रो अवसर दिएको छ’, रेडियो नागरिक ९६. ५ का निर्देशक सुयश ज्ञवालीले नागरिक न्यूजसँग भने। यद्यपी रेडियो नागरिकले यसअघि पनि यस्ता धेरै कार्यक्रमहरु गर्दै आएको थियो। ती कार्यक्रम पनि युवा पुस्तामै केन्द्रित थिए। यसपटक पनि युवाहरुलाई भरपुर मनोरन्जन गर्ने मञ्च उपलब्ध गराउने उद्देश्यले यो कार्यक्रमको आयोजना गरेको निर्देशक ज्ञवाली बताउँछन्।  

‘हाम्रो अपेक्षा भन्दा राम्रो कार्यक्रम भयो। यति मात्र होइन, अहिलेको युवा पुस्ताको आत्मविश्वास र पछिसम्म सोच्न सक्ने खुबीले हामीलाई लोभ्यायो’, उनले भने। ज्ञवालीका अनुसार उज्वल भविष्यका लागि युवाहरु एउटै क्षेत्रमा मात्र रमाएर बस्दैनन्। उनीहरु धेरै क्षेत्रमा आफुलाई स्थापित गर्न चाहेका छन भन्ने संन्देश यस कार्यक्रमले दिएको छ। कार्यक्रममा प्रस्तुती दिन आएका नेपाली कलाकारहरु विविध क्षेत्रमा स्थापित युवा भएको उल्लेख गर्दै उनले यस्तो तर्क गरेका हुन।

सबैभन्दा अन्र्तक्रियात्मक युट्युब च्यानल भएको रेडियो नागरिक ९६.५ ले युवा तथा युवा उद्यमशीलता प्रवद्र्घन गर्न विभिन्न कार्यक्रमहरु गर्दै आएको छ। रेडियो नागरिकको कार्यक्रम ‘ब्राण्ड नेपाल’ जसले देश भरका स्थानीय उत्पादनहरुलाई प्रवर्द्धन गर्दछ।  

‘हाम्रो रेडियोको भिजन नेपाली संगीत, नेपाली कलाकार र नेपाली युवालाई समावेश गरी नेपाली उत्पादनको प्रवर्द्धन गर्नु हो। नेपालको ४० प्रतिशतभन्दा बढी जनसंख्या १६ देखि ४० वर्ष उमेर समूहका भएकाले हाम्रो रेडियोले यो समूहलाई केन्द्रमा राखेर कार्यक्रमहरु बनाइरहेको हो। आजका युवाहरू अपार संम्भावनाका स्रोतहरु हुन,’ निर्देशक ज्ञवाली भन्छन्। उनले रेडियो नागरिकले युवा पुस्तालाई केन्द्रमा राखेर कार्यक्रम बनाइरहेको र भविष्यमा पनि यस्तै कार्यक्रम बनाउने योजना रहेको बताए।  

‘यदि तपाई रेडियो नागरिकका कार्यक्रमहरू सुन्नुहुन्छ भने तपाइँले हाम्रा सबै सामग्री युवाहरूका लागि तयार पारिएको  पाउनुहुनेछ’, ज्ञवालीले भने, ‘हाम्रो भर्खरको कलरेल्ला कार्यक्रम जसले चर्चित नेपाली युवा कलाकार र युवाहरूलाई एउटै मञ्चमा ल्याउन सफल भयो। कलाकार पनि युवा र सहभागी पनि युवा । दुवै समुहलाई रंगहरूको पर्व मनाउन एकसाथ ल्याएका थियौं। यो हाम्रो भिजनको निरन्तरता पनि हो। युवाहरूलाई चाड मनाउन प्लेटफर्म उपलब्ध गराउनु लक्ष्य हो।’

नेपाल रिपब्लिक मिडिया लिमिटेड नेपालको ठूलो मिडिया समूह हो, जसले नागरिक राष्ट्रिय दैनिक र रिपब्लिका दैनिक प्रकाशित गरिरहेको छ। साथै नागरिक नेटवर्क मार्फत नागरिकन्यूज डट कम  र माईरिपब्लिका डक कम संचालन गर्दै आएको छ।

‘एउटा मिडिया कम्पनीको व्यवस्थापन गरेर हेर्दा हामीले हाम्रा परम्परागत आउटलेटहरूले नेपालको युवा जनसंख्याको आवश्यकता र प्राथमिकताहरू पर्याप्त रूपमा पूरा गर्न नसकेको महसुस गर्यौ। यो अनुभूतिले हामीलाई रेडियो नागरिक स्थापना गर्न प्रेरित गर्‍यो’, नेपाल रिपब्लिक मिडियाकी कार्यकारी निर्देशक सम्वृद्धि ज्ञवालीले भनिन्।

युवा पुस्ताले सञ्चार माध्यमबाट अपेक्षा गरिरहेका बिषयवस्तु र अहिलेका सञ्चार माध्यमले पस्किरहेका बिषयवस्तुबीचको खाड्ल कसरी पुर्न सकिन्छ भन्नेमा आफु केन्दि«त भएको उनले बताइन। ‘कलरेल्ला कार्यक्रममा उपस्थित युवाहरूको संख्या अविश्वसनीय थियो। यो देशकै पृथक किसिमको होली उत्सव थियो’, कार्यकारी निर्देशक ज्ञवालीले भनिन्।  

कलरेल्ला महोत्सवको टिकटहरू अनलाइन मार्फत बिक्री गरिएको थियो। आइएमइ पेका अनुसार यस प्रकारको कार्यक्रमको लागि अनलाइन टिकट बिक्रीको संख्या सबैभन्दा बढी थियो। 'यस पटकको होलीमा यो कार्यक्रममा अनलाइनबाट सबै भन्दा धेरै टिकट हामीले बिक्री गरेका छौं', आइएमइ पेका प्रमुख कार्यकारी अधिकृत प्रविण रेग्मीले नागरिक न्यूजसंग भने।

उनका अनुसार अघिल्ला वर्षहरुमा अनलाइनबाट टिकट काटदा निकै समस्याहरु आउने गर्थ्र्यो। यो वर्ष त्यो समस्या रहेन। 'आइएमइ पे एपको प्रयोग त बढ्यो नै। कम समयमा पनि सजिलै गरी अनलाइन पे चलाएको पाइयो’, रेग्मीले भने। 

‘कलरेल्ला’ होली महोत्सवमा विभिन्न युवा कलाकारहरुले प्रस्तुती दिएका थिए। ती कलाकार मध्येका वाङ्देन शेर्पा २५ बर्षिय गायक र गीतकार पनि हुन् जसले १३ वर्षको उमेरमा गितार समातेका थिए। यसपछि मात्र उनले आफु भित्रको प्रतिभालाई प्रस्फुटनको मौका दिए। र, गायन क्षेत्रमा स्थापित भए। शेर्पाले सुरुमा आफ्ना मनपर्ने कलाकारहरुका शिर्ष गितहरु गाउन सुरु गरे। र, हालै मात्र आफ्नो पहिलो स्टुडियो एल्बम ‘ट्याङगल्ड इन यू’बाट नेपाली संगीत उद्योगमा डेब्यु गरे।  

भेक जसलाई विवेक वाइबा लामा पनि भनिन्छ नेपालका एक चर्चित गायक पनि हुन। उनी ‘एक्लै जिउन सिक्ने’ र ‘मायालु’ जस्ता हिट गीतहरुबाट प्रसिद्ध छन्। भेक ‘द भ्वाइस अफ नेपाल’को पहिलो सिजनमा पनि सेमिफाइनल पुगेका थिए।

‘दि एलीमेन्टस्’ अर्को लोकप्रिय नेपाली कलाकारहरुको ब्यान्ड हो। यसले पनि महोत्सवमा आफ्नो प्रस्तुती दिएको थियो। यो ब्यान्ड ‘छ कता’ लगायतका गीतहरुबाट चर्चित छ। यस ब्यान्डका सदस्यहरुमा इशान आर वन्त, दिपेश गुरुङ र रोनक अधिकारी छन्।  

कार्यक्रमको सफलतापछि कार्यकारी निर्देशक ज्ञवालीले ‘कलरेल्ला’ होली महोत्सव आयोजकका लागि प्रेरणादायी र सन्देशमुलक भएको बताइन्। ‘नेपाली संगीत क्षेत्र केही बर्षदेखि चलायमान थिएन। अब नेपालका कलाकारहरुले नेपाली गीत संगीतलाई विश्वस्तरमा प्रस्तुत गर्नसक्ने संम्भावना यस कार्यक्रममा देख्न सकिन्थ्यो’,  उनले भनिन्।  

मनिष अधिकारीद्वारा सञ्चालित गराज इन्टरटेनमेन्ट नेपाल जस्ता ट्यालेन्ट प्रबन्धकले विश्वका कलाकारहरुस“ग समान रुपमा प्रतिस्पर्धा गर्दै नेपाली संगीतलाई विश्वभर प्रर्दशन गर्ने अवसरहरु दिदैआएका छन्। यसले नेपाली प्रतिभाका लागि अन्तराष्ट्रिय मञ्च सिर्जना गर्न ठूलो सहयोग पुगेको छ।  

‘हामी कलाकार व्यवस्थापन गर्ने एउटा कम्पनी हौं जुन संगीतलाई अझ दिगो बनाउन र कलाकारहरुको जीवनलाई सजिलो बनाउने उद्देश्यले सुरु गरिएको हो। हामी सधैं हामी जस्तै युवा सोचस“ग सहकार्य गर्न चाहन्छौं’, अधिकारीले भने, ‘कलरेल्ला एउटा अद्भुत अनुभव थियो। केही समयदेखि निष्क्रिय रहेको काठमाडौंको एउटा उत्कृष्ट कार्यक्रम स्थललाई पुनर्जीवित गरेजस्तो लाग्यो।’

प्रकाशित: २३ फाल्गुन २०७९ १४:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App