२० जेष्ठ २०८१ आइतबार
image/svg+xml
कला

नेपाली गजल गायनमा नौलो प्रयास

अमेरिकामा रहेर नेपाली गजलको क्षेत्रमा क्रियाशील ‘गजलयात्रा’को अगुवाइमा नेपाली गजल गायनमा नयॉं प्रयोग भएको छ।  यौटै गजलमा ८ फरक गजलकारको १–१ शेर समावेश गरेर तयार गरिएको सांगीतिक गजल ‘तिमीलाई हेर्दाहेर्दै‘ अमेरिकाको समयअनुसार शुक्रवार सॉंझ ७ बजे (मार्च ३ २०२३) गजलयात्राको यूट्यूब च्यानलबाट सार्वजनिक गरिएको छ।

अमेरिकाका विभिन्न राज्यमा बसोबास गर्दै आएका ८ गजलकारको उक्त संयुक्त गजलमा संगीत र गायन भने गायक तथा संगीतकार केशव पौडेलको र एरेन्ज जुगल डंगोलको छ।

गजलकार आनन्द श्रेष्ठको मतला रहेको सो गजलमा पवन लामिछाने, कृष्ण कुसुम, रोहित राना, गोवर्द्धन पूजा, डिल्लु चम्लागाई, वासुपुष्पा अधिकारी र सतीश त्रिपाठीका शेर समावेश छन्।

‘हामी सधैं नयॉं केही गरौं भनेर लागिरहेका हुन्छौं, त्यही क्रममा यो काम गरिएको हो।’ गजलयात्राका संस्थापकमध्येका एक गजलकार पवन लामिछानेले भने, ‘कोरोनाको त्रासदीपूर्ण समयमा हामी नजिकका साथीहरू एउटा शेर लेख्दै बॉंकी शेर थपेर गजल पूरा गर भनेर फेसबुक समूहमा पालैपालो राख्थ्यौं र एउटा गजल पूरा गथ्यौंं। त्यही बिचमा १–१ शेर गजल वाचन गरिएका भिडियोहरू बनाएर अपलोड गयौ। पछि सबैको सल्लाहमा एउटा सांगीतिक गजल नै तयार गर्ने योजना बन्यो। मलाई लाग्छ नेपाली गजल गायनको इतिहासमा यो बिलकुलै नयॉं प्रयोग हो।

गजलको क्षेत्रमा भैरहेको गुटबन्दी र आरोपप्रत्यारोप चलिरहेको समयमा यस प्रकारको सहकार्यले नेपाली गजल क्षेत्रमा सकारात्मक सन्देश दिनेछ भन्ने आशा गरेका छौं।’

सार्वजनिक भएको लिरिकल भिडियो ‘एक शेर गायन’ अभियानका संयोजक समेत रहेका गजलकार पवन लामिछानेले तयार गरेका हुन्।

तिमीलाई हेर्दाहेर्दै रातै बितोस् सहन्छु म,

बत्ती पनि घरि बलोस् घरि निभोस् सहन्छु म।

     –आनन्द श्रेष्ठ

फूलै फूलको बगैंचामा बस्ने मेरो चाह छैन,

तिम्रो दिलमा बस्न पाए काँडै बिझोस् सहन्छु म।

   –पवन लामिछाने

सारा संसार भुलिदिएँ,तिम्रो प्रेममा डुबेपछि  

दुनियाँले पागलप्रेमी भने भनोस् सहन्छु म।

    –कृष्ण कुसुम

तिमीलाई पाउन म त आफैसँग हार्न सक्छु,

चाहे आँधी आवोस् चाहे हुरी चलोस् सहन्छु म।

  –रोहित राना

आँखा छेउ बस्छु भन्थ्यौ, पूरै मुटु सुम्पेको छु,

वचनको त के कुरा भो ! ज्यानै जावोस् सहन्छु म।

–गोवर्द्धन पूजा

आफैसँग टाढा हुन्छु तिमीदेखि टाढा हुँदा,

नजिक हुँदा दुनियाँले बिर्से बिर्सोस् सहन्छु म

  –डिल्लु चम्लागाई

मेरो खुशी भन्नु तिमी, मेरो प्राप्ती मात्रै तिमी,

जिन्दगीले तिमी बाहेक सबै खोसोस् सहन्छु म।

  –वासुपुष्पा अधिकारी

नबिथोल आजको रात पूर्ण  हुने तयारमा छु,

भोलिदेखि नचिनेझैं गर्नु परोस् सहन्छु म।

–सतीश त्रिपाठी

प्रकाशित: २१ फाल्गुन २०७९ ०७:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App