फिल्म ‘अगस्त्यः च्याप्टर वान’ मा नाजिर हुसेन र मलिका महत अनुबन्धित भएका छन्। सौरभ चौधरीको निर्देशनमा बन्ने फिल्ममा उनीहरुलाई मुख्य भूमिकाका लागि ‘फाइनल’ गरिएको हो।
सोमबार निर्माण टिमले फिल्मका लागि कलाकार अनुबन्धित गरेको जानकारी दिएको हो। यस अघि यस फिल्मको मुख्य चरित्रमा सौगात मल्ल फिल्ममा प्रवेश गराएको थियो।
यी तीनै जना कलाकारले पहिलो पटक एक अर्कासँग काम गर्न लागेका हुन्। तर, मलिका फिल्ममा कसको जोडी बनेर देखिनेछिन्, त्यो भने खुलाइएको छैन। फिल्ममा सौगात र नाजिर एक्सन भूमिकामा देखिनेछन्।
फिल्मको कथा निर्देशक स्वयंको हो। उनले दुवै च्याप्टरको कथा तयार पारिसकेका छन्। फिल्मलाई प्रकाश मल्ल र अनिष तामाङले निर्माण गर्नेछन्। डार्क हर्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने फिल्मको नेपालमा काठमाडौं र नवलपरासी, भारतमा गोरखपुर र बनारसमा छायांकन हुनेछ। फिल्मको छायांकन राजेश श्रेष्ठ हुन्।
बैशाखदेखि छायांकन सुरु हुने फिल्मलाई भारतको गोरखपुर, बनारस, नेपालको काठमाडौं र नवलपरासीमा खिचिने निर्माण टिमको भनाई छ।
फिल्ममा नेपालीसँगै भारतका केही नाम चलेका कलाकारको पनि अभिनय रहनेछ। चाँडै भारतीय कलाकारसँग सम्झौता गर्ने तयारीमा निर्माण टिम छ। आगामी बैशाख अन्तिमबाट सुटिङ सुरु गर्न लागिएको फिल्मको शीर्षक हिन्दु धर्मका सप्तऋषि मध्येका अगस्त्य ऋषिको नामबाट जुराइएको हो।
प्रकाशित: २३ माघ २०७९ ०७:३५ सोमबार