सेताम्य हिमाल। निलो आकाशबीच धुम्म परेको सेतो कुहिरो। हिमालमा चर्दै गरेका चौंरी। कलकल बगेको पानी। यस्तो मनमोहक दृश्यले कसको पो ध्यान तान्दैन र ?
पुस्तकमा कलात्मक रूपमा प्रस्तुत गरिएको दृश्यले देशदर्शनमा निस्कूँ–निस्कूँजस्तो बनाउँछ। भौतिक रूपमा घुम्न नपाए पनि आफै घुम्न पुगेको अनुभव दिलाउँछ।
पूर्वी पहाड पाँचथरका पत्रकार गिरिराज बास्कोटाको ‘कञ्चनजङ्घाको काखबाट’ पुस्तक प्रकृतिप्रेमीका लागि अनुपम कोसेली हो। पर्यटन, प्रकृति, हिमाली र पहाडी जनजीवन, स्थानीय संस्कृतिमा केन्द्रित रही तयार गरिएको यो पुस्तक १ सय ६४ पृष्ठमा विस्तारित छ। पुस्तकमा पाँचथरको चिवाभज्याङदेखि बैतडीको झुलाघाटसम्मका पर्यटकीय गन्तव्यदेखि जनजीवन समेटिएको छ।
पुस्तकमा प्राकृतिक सौन्दर्यको वर्णन, हिमालीदेखि पहाडी जनजीवन मात्र नभएर यात्रा संस्मरणलाई पनि समेटिएको छ। बस्नेको कथा र सरकारको नजर नपुगेको बर्मे गाउँको व्यथाले पनि पुस्तकमा स्थान पाएको छ।
लेखकले पाठकलाई पुस्तकमार्फत पूर्वदेखि पश्चिम डुलाएका छन्। हिमालकै काखमा बसेर हिउँको मसीले कुहिरोको पानामा यात्रालाई शब्द चित्रमा उतारेका छन्। पुस्तकले पर्यटन प्रवद्र्धनलाई मात्र सघाएको छैन, हिमाली र पहाडी जनजीवनलाई पनि सदृश्य प्रस्तुत गरेको छ।
पुस्तकमा हिमाल, पहाडको भौगोलिक परिवेशलाई सचित्र वर्णन गरिएको छ। कञ्चनजङ्घा हिमशृंखलाको वर्णन मात्र होइन, मध्य पहाडी लोकमार्गले सामाजिक आर्थिक क्षेत्रमा पारेका सकारात्मक प्रभाव पुस्तकमा वर्णन गरिएको छ। लेखकले पुष्पलाल (मध्यपहाडी) लोकमार्गको यात्राका अनुभवलाई पनि चित्रित गरेका छन्। पहाडैपहाड पूर्वदेखि पश्चिमसम्मका २६ जिल्लाको यात्रालाई समेटिएको छ। एक हजार आठ सय ७९ किलोमिटरको मोटरसाइकल यात्राले थप रोमाञ्चित बनाएको छ।
‘कञ्चनजङ्घाको काखबाट’ फगत एउटा पुस्तक मात्र होइन, यसले नेपालका विभिन्न गाउँको भौगोलिक कथा बोकेको छ। हेर्ने, घुम्नेलाई सुन्दर लाग्ने हिमाल, पहाड, कुहिरोको दृश्य सुन्दर लाग्छन्। जो त्यो परिवेशमा जीवन व्यतीत गर्छन्। असली दृश्य तिनले देखेका हुन्छन् भन्ने बिम्ब पुस्तकमा भेटिन्छ।
घुमन्ते पर्यटकका मौन दृश्य किताबका पानामा सजिएका छन्। यसले देशदर्शनमा निस्कनका लागि प्रेरित गर्छ। पुस्तक अध्ययन गर्दा आफैले यात्रा गरेको अनुभव हुन्छ। पूर्व ओलाङचुङ्गोलाबासीले चिनियाँ नाका बन्दको पीडा मात्र नभएर रुकुमपश्चिमको ग्रामीण जीवनमा आगो बाल्न दाउराको जोहो गर्नुपर्ने बाध्यता पनि समावेश छ। तेह्रथुमको ढाका बुन्नेको कथा, चीन नाका बन्द हुँदा गलैंचाले बजार नपाउँदाको नोक्सान, मुलुककै कान्छो जिल्ला पूर्वीरुकुमको रुकुमकोटमा ४ घण्टा लगाएर सुन्तला बेच्न आउने बाध्यताको भोगाइ पनि पुस्तकमा उल्लेख छ।
पुष्पलाल (मध्य पहाडी) लोकमार्ग छेउछाउका गाउँको जनजीवनको दृश्य पनि पुस्तकमा भेटिन्छ। पश्चिम नेपाललाई पूर्वका गाउँहरूमा लुकेर बसेका पर्यटकीय, धार्मिक, सांस्कृतिक, प्राकृतिक सम्पदाहरूलाई पनि कलात्मक रूपमा शब्दमा उतारिएको छ। घामको पहिलो झुल्को हिमालमा पुगेको दृश्य देख्दा लेखक पुलकित भएका छन्। पाठकलाई त्यो दृश्य देखाउन हिमालको अनेक स्वरूपको चित्र प्रस्तुत गरेर मोहित पारेका छन्। दुर्लभ वन्यजन्तु रेडपान्डादेखि पूर्वको चर्चित तिम्बु पोखरीको प्रचार छ। अर्गानिक तिम्बुपोखरीमा घामको चुम्बन, कुहिरो र घामको लुकामारीको व्याख्या पढ्दा लाग्छ, लेखक त्यतै कतै ढुङ्गाको टाकुरामा बसेर लेखेका हुन् कि। ४ हजार फिट उचाइको डाँडामा फुलेको केन्जो (पदमचाल)को बयान छ। केन्जो आफैमा मोहित तुल्याउने वनस्पति हो।
तेह्रथुमको ढाकादेखि धनकुटा हिलेको तोङ्वा सुकुटीको स्वाद पश्चिमका पाठकले पाउँछन्। गोरखा, पोखरा, बागलुङको बुर्तिबाङलगायतका हिउँ र हिलाम्य सडकका व्यथालाई पनि पूर्वले महसुस गर्नेगरी उतारेका छन्। भोजपुरको होमस्टे, खोटाङको हलेसीधाम, सिन्धुपाल्चोकको सुन्दरता, माइपोखरीको निम्तो, पानीटारको सुन्दरतासहितका सामग्रीले पुस्तक थप ओझिलो बनेको छ।
पूर्वको प्रसिद्ध धाम पाथीभरा मन्दिर, इलामको चियाबगान, छिन्तापु, सन्दकपुर आसपासका होमस्टेका रमाइला कथा बुनिएको छ। चौंरी डुलाउने भुइँमान्छेको कथा पनि छ। घामको पहिलो झुल्को झुल्किने श्रीअन्तुको यात्रा पनि उल्लेख छ। ओलाङचुङ्गोला हुँदै टिप्तलाको यात्राको महत्वपूर्ण क्षण कैद गरेका छन्। ओलाङचुङ्गोलाबासीको पीडा सरकार समक्ष पुर्याउने प्रयास पनि भएको छ। पश्चिमको आत्मीय स्वागतमा पूर्वको सिलाम साक्मा साट्न नपाएको थकथक लेखकले स्मरण गरेका छन्। पुस्तकको आवरण ‘कञ्चनजङ्घाको काखबाट’ शीर्षकबाट राखिएको छ। थकित यात्री गन्तव्यमा पुग्दाको खुसी पुस्तकमा भेटिन्छ।
यात्रामा कतै उत्साह र कतै अलमल पनि भेटिन्छ। लेखकले प्रकृतिलाई प्रेम मात्र गरेका छैनन्, पर्यटकीय गन्तव्यका बारेमा उजागर गरेका छन्।
देश हेर्ने हुटहुटीले कठिन यात्रामा हिँडाएको छ। जब यात्रा सकिन्छ, सम्झना पनि उस्तै मिठास हुने गरी झल्किल्छ पुस्तकमा। यात्रा गर्नेलाई त कठिन छ। त्यहींको जनजीवन कति कष्टकर होला भनेर अनुमान लगाउन सकिन्छ।
यात्रामा भेटिएका पात्र, हिमाल, पहाड र मध्य पहाडमा पर्ने सहरी जनजीवनलाई दुरुस्त उतारिएको छ। पुस्तकमा शब्द मात्र नभई रङ्गीन तस्बिरको कोलाज पनि भेटिन्छ। पुस्तकमा सुन्दर प्रकृति मात्र नभएर यात्रामा भोगेको सकस पनि छ।
पुस्तकले पर्यटनका विषयवस्तुमा मात्र केन्द्रित नभएर स्थानीय जनजीवन र संस्कृतिमा समेत विस्तारित हुँदा यसको केन्द्रीय विषयवस्तु केलाई बनाइएको हो भन्नेमा केही अन्योल देखिन्छ। केही खण्ड पढ्दा यात्रा संस्मरणको झल्को पाइन्छ भने केही खण्ड पढ्दा यायावरले प्रकृतिको वर्णन गरेझैं लाग्छ। देशदर्शनमा निस्किएका यात्रीको डायरी पनि हो यो पुस्तक। सूचनाका दृष्टिले पर्यटकीय गन्तव्य र नेपाली भूगोलका विविध पक्ष उजागर गरेको छ।
प्रकाशित: २१ माघ २०७९ ०१:१८ शनिबार