९ मंसिर २०८१ आइतबार
image/svg+xml
कला

अस्ताए अम्बर

नातिकाजी श्रेष्ठ, शिवशंकर मानन्धर, फत्तेमान राजभण्डारी र प्रेमध्वज प्रधानहरूको पकडमा रहेको नेपाली संगीतमा अम्बरले नयाँ आयाम थपिदिए । उनले नेपाली संगीतलाई भारतीय शास्त्रीय संगीत र पाश्चात्य संगीतका संरचनात्मक र प्रविधि थपेर अझ परिष्कृत गरे ।

नेपाली संगीतका अभिभावक अम्बर गुरुङ एकाबिहानै धर्तीबाट चुपचाप बिदा भए । गीत, संगीत र गायन तीनवटै विधाका हस्ती गुरुङको ७९ वर्षको उमेरमा मंगलबार बिहान २ः३७ बजे काठमाडौंको ग्रान्डी अस्पतालमा निधन भएको हो । उनी शुक्रबारदेखि अस्पतालको भेन्टिलेटरमा मृत्युसँग संघर्ष गर्दै थिए । केही महिनाअघि भारतमा क्यान्सर उपचार गराएका उनी पार्किन्सन्स, उच्च रक्तचाप, मधुमेहलगायत स्वास्थ्य समस्याले ग्रस्त थिए ।


मंगलबार दिउँसो श्रद्धाञ्जलीका लागि उनको पार्थिव शरीर नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा राखिएको थियो । त्यसपछि शवयात्रा गर्दै आर्यघाटमा उनको राष्ट्रिय सम्मानसाथ अन्त्येष्टि गरियो । राजनीतिक नेता, कलाकार, साहित्यकार तथा सर्वसाधारणले उनलाई अन्तिम श्रद्धाञ्जली दिए । अम्बरद्वारा संगीतबद्ध राष्ट्रगान ‘सयौं थँुगा’ बजाएर नै उनको अन्त्येष्टि सम्पन्न गरियो ।


सोमबार बिहान नै अम्बरको निधन भएको भूmटो समाचार पैmलिएपछि परिवारजन विचलित थिए । सोमबार दिनभर अम्बरका छोराछोरी र आफन्त गलत समाचार खण्डन गर्दागर्दा हैरान भए । चिकित्सक र परिवारको सल्लाहपछि मात्र अम्बरको उपचार प्रक्रिया कसरी अगाडि बढाउने भन्ने विषयमा निर्णय लिइने सोमबार साँझ कान्छा छोरा शरद गुरुङ बताउँदै थिए । जेठा छोरा किशोरले ‘बुबासँग समय निकै कम छ’ भन्दै गम्भीर स्वास्थ्यस्थितिबारे प्रस्ट्याएका थिए ।


सन् १९६० को दशकतिर नेपाल र दार्जिलिङतिर एउटा गीत निकै लोकप्रिय थियो, ‘नौ लाख तारा उदाए, धर्तीको आकाश हाँसेछ ।’ अगमसिंह गिरीद्वारा लिखित उक्त गीतलाई संगीतमा ढालेका थिए अम्बरले । सुगौली सन्धिपछि भारततर्फ परेका नेपालीको भावना त्यसमा समेटिएको थियो । त्यतिखेर भारतमा नौ लाख नेपालीभाषी रहेको अनुमानका आधारमा अगमसिंहले गीत लेखेका थिए ।


गीतबाट तत्कालीन राजा महेन्द्र पनि प्रभावित भए । लगत्तै उनले संगीतकार अम्बरलाई काठमाडौं बोलाएर नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा संगीत विशेषज्ञका रूपमा अनुबन्धित गराए । २०२६ मा प्रतिष्ठान प्रवेश गरेका अम्बर २०५४ सालसम्म संगीत निर्देशकका रूपमा कार्यरत रहे ।


नातिकाजी श्रेष्ठ, शिवशंकर मानन्धर, फत्तेमान राजभण्डारी र प्रेमध्वज प्रधानहरूको पकडमा रहेको नेपाली संगीतमा अम्बरले नयाँ आयाम थपिदिए । उनले नेपाली संगीतलाई भारतीय शास्त्रीय संगीत र पाश्चात्य संगीतका संरचनात्मक र प्रविधि थपेर अझ परिष्कृत गरे । ‘मनको बाँध’ र ‘जीवनरेखा’ नामक दुइटा फिल्ममा मात्र उनले संगीत दिए । धेरैजसो उनी स्वतन्त्र सुगम संगीतमै रमाए ।  


नेपालका लोकगायक धर्मराज थापाले ‘नेपालीले माया मा¥यो बरीलै’ गीत गाए । उक्त गीत निकै चल्यो । दार्जिलिङतिर पनि पुग्यो त्यो गीत । मेचीपारिका नेपालीले उक्त गीत रुचाएनन् । त्यही मनोविज्ञान बुझेर थापाको गीतको जवाफस्वरूप अगमसिंह र अम्बर मिलेर ‘नौ लाख तारा उदाए’ सिर्जना गरेको मानिन्छ ।


भारतका नेपाली निकै सकससाथ आफ्नो अस्तित्व जोगाउँदै बाँचिरहेका छन् भन्ने भाव उक्त गीतमा पोखिएको छ । त्यही भएर भारत सरकारले गीतलाई अल इन्डिया रेडियोमा बज्नै दिएन । प्रतिबन्धित ग¥यो । उक्त गीत सन् १९६१ मा कलकत्ताको एचएमभी स्टुडियोमा रेकर्ड गरिएको थियो ।


दार्जिलिङमा छँदै अम्बरले आर्ट एकेडेमी स्थापना गरेका थिए । त्यतिखेर उनले आफ्नो अभिभावकत्वमा गोपाल योन्जन, अरुणा लामा, शरण प्रधान, पिटर जे कार्थक, रनजित गजमेरलगायत कलाकारलाई हुर्काए । नेपाल आएर पनि उनले धेरै युवा कलाकारलाई सांगीतिक अभिभावकत्व दिए । त्यसैले उनलाई दीप श्रेष्ठ, पवित्र सुब्बा, सुनीता सुब्बा, आभास, शिशिर योगी, राजकुमार श्रेष्ठ, अजय थापा, सुसन मास्के र झुमा लिम्बूहरूले गुरु मान्दै आएका छन् ।


नेपाल आएपछि उनले साहित्य क्षेत्रका भूपी शेरचन, शंकर लामिछाने, माधवप्रसाद घिमिरे र रत्नशमशेर थापाहरूसँग संगत बाक्लो बनाए । माधव घिमिरेको बहुचर्चित गीतिनाटक ‘मालती मंगले’का लागि उनले ४० वटा गीत कम्पोज गरेका थिए जसमा नारायणगोपालले पनि स्वर दिए । त्यही नाटकको कामले गर्दा अम्बर र नारायणगोपालको बिग्रेको सम्बन्ध सुध्रिएको थियो ।


अरुणा लामाले गाएको ‘पोहोर साल खुसी फाट्दा’, तारादेवीको ‘हे कान्छा ठट्टैमा यो बैंस जान लाग्यो’, नारायणगोपालले गाएको ‘पोखिएर घामको झुल्का’ र नेपाली सेनाको गीत ‘रातो र चन्द्र सूर्य जंगी निसान हाम्रो’ लाई समेत अम्बरले संगीतबद्ध गरेका हुन् । उनको संगीतमा हजारभन्दा बढी गीत रेकर्ड भइसकेका छन् ।


सुगौली सन्धिका कारण दुई देशमा विभाजित नेपालीलाई अम्बरका गीतसंगीतले भावनात्मक रूपमा एक गराइदिए । नेपाल र दार्जिलिङका कला र साहित्य एकअर्काबीच आदानप्रदान हुने परम्परालाई अम्बरका गीतसंगीतले अझ सुदृढ पारे । भौगोलिक रूपमा टाढिएका नेपाली कलाकारबीच अन्तरक्रिया बढ्दै गयो । ‘पोखिएर घामको झुल्का’ गीत त्यसको एउटा गतिलो उदाहरण हो । यसमा दार्जिलिङका अम्बरको संगीत, आसामका हरिभक्त कटुवालको शब्द र नेपालका नारायणगोपालको स्वर सुन्न पाइन्छ ।


कवि भूपी शेरचनसमेत अम्बरको संगीत र व्यक्तित्वदेखि लोभिएका थिए । भूपीले अम्बरबारेमा यस्तो लेखेका थिए, ‘ऊ मान्छे सायद होइन, ऊ मित्र हो र जसका लागि मित्र होइन, उसका लागि कलाकार हो र जसका लागि ऊ गायक होइन उसका लागि ऊ जन्मेको पनि छैन ।’


दार्जिलिङ, लालढिकीमा १९९४ फागुन १५ का दिन उजिरसिंह गुरुङ र रेणुका गुरुङको कोखबाट जन्मिएका अम्बरका तीन छोरा र एक छोरी छन् । छोराहरू किशोर, राजु र शरद संगीत क्षेत्रमै सक्रिय छन् । तीनैले अमेरिकामा संगीत विषयको अध्ययन गरेका हुन् । संगीतमै विद्यावारिधि गर्ने तयारी किशोरको छ । अम्बरकै प्रेरणा तथा घरको सांगीतिक माहोलले उनीहरू संगीतमा लाग्न प्रेरित भएका थिए ।


‘दोभान’ र ‘कहिले लहर कहिले तरंग’ जस्ता एकल एल्बम निकालेका अम्बरले लक्ष्मीप्रसाद देवकोटाका कृति ‘कुञ्जिनी’ र ‘मुनामदन’ मा आधारित नाटक तथा सत्यमोहन जोशीका ‘जब घाम लाग्छ’, ‘फर्केर हेर्दा’, ‘सपनाबाट ब्युँझँदा’ र ‘अरनिको’ नाटकमा समेत संगीत दिएका थिए ।


उनी अस्पताल भर्ना हुनुअघि पनि संगीत सिर्जनामै सक्रिय थिए । आफ्ना विद्यार्थीसँग मिलेर २० वटाजति गीत कम्पोज गरिसकेका थिए । माइला छोरा राजुका अनुसार छिट्टै ती गीत रेकर्ड गर्ने योजना अम्बरको थियो ।


२०६७ सालमा स्थापित नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपति थिए अम्बर । आफ्नो चारवर्षे कार्यकालमा उनले संगीत क्षेत्रको विकासका लागि विभिन्न योजना तथा पूर्वाधार तयार पारिदिएको सहकर्मी प्राज्ञ बताउने गर्छन् । उनीसँगै संगीत–नाट्य प्रज्ञा प्रतिष्ठानमा उपकुलपति भएर काम गरेका प्रचण्ड मल्लले मंगलबार सुनाए, ‘६ महिना अघिको भेटमा अम्बरजीले आपूm धेरै बाँच्दिनँ भन्नुभएको थियो, आखिर त्यस्तै भयो ।’ घामको झुल्को पोखिन नपाउँदै बिलाए अम्बर ।

 

प्रकाशित: २६ जेष्ठ २०७३ ०७:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App