८ वैशाख २०८१ शनिबार
निर्वाचन विशेष

एमालेभित्रै अन्तरघात भएको हो त?

नेताहरु भन्छन्, अन्तर्घातको आशंका छ!

पोखरा–८ मा विजयी एमाले उम्मेदवार रुद्रनाथ बराल विजयी र्‍याली। तस्बिरः उमेश पुन/नागरिक

एमालेले सुरुमा पोखरा महानगरपालिकाको मेयर पदमा पोखरा–१९ पुरुञ्चौरका दीपक पौडेललाई उम्मेदवार बनायो। पोखराको मेयर पदका लागि सिफारिसमा परेका १२ जना मध्ये केन्द्रीय कमिटीले पौडेललाई छानेको थियो। पौडेल एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ निकट मानिन्छन्।

पोखरामा गुरुङ र संगठन विभाग प्रमुख खगराज अधिकारी समूहबीच लामो समयदेखि टकराव छ। बेलाबेला उनीहरुबीच अस्वस्थ प्रतिस्पर्धा चल्ने गर्छ। त्यो प्रतिस्पर्धा अहिले पनि उत्तिकै छ। दुई जना शीर्ष नेताबीचको टकरावको प्रभाव कस्तो पर्छ भनेर पछिल्लो उदाहरण पोखराको चुनावलाई हेरे पुग्छ।

एमालेले सुरुमा उम्मेदवार बनाएको पौडेलको टिकट २४ घण्टा नबित्दै खोसियो। कारण थियो– केहीवर्ष अघिको सुन चोरी काण्डमा पौडेलको संलग्नताको आरोप। पौडेल संलग्न भनिएको चोरीको भिडियो उनले उम्मेदवारी पाएको थाहा पाए लगत्तै सामाजिक सञ्जालमा भाइरल बनाइयो। पौडेलको भिडियो बाहिर ल्याउनमा अधिकारी समूह संलग्न भएको गुरुङ समूहको दाबी छ।

त्यही भिडियो सार्वजनिक भएपछि एमाले नेतृत्व ब्याक भयो र पौडेलको टिकट खोसेर अधिकारी समुहका कृष्ण थापालाई उम्मेदवारी दिइयो। पार्टी नेतृत्वले त्यसअघि नै प्रदेश सभा सदस्यलाई पोखरा महानगरको उम्मेदवार नबनाउने भनेर निर्णय पनि गरेको थियो। तर, पछि नेतृत्वले नै पौडेलको टिकट खोसेर थापालाई टिकट दिएपछि गुरुङ समुह रुष्ट भयो।

गुरुङ थापासँग पहिलेदेखि नै रुष्ट थिए। प्रदेशसभाको प्रथम मुख्यमन्त्री चयन गर्ने बेलामा पनि आफूविरुद्ध लाग्दै किरण गुरुङलाई सघाएको भन्दै गुरुङ थापासँग रुष्ट थिए। सोही कारण उनले तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले थापालाई प्रदेशको मन्त्री बनाउन पटक-पटक निर्देशन दिदापनि थापालाई मन्त्री बनाएनन्।

त्यतिमात्र होईन पोखराको मेयरको टिकट रोक्न गुरुङले सक्दो प्रयास गरेका थिए। उनले थापालाई रोक्नकै लागि गण्डकी प्रदेश सरकार ढल्ने हल्ला चलाएर सांसदबाट मेयर नबनाउने निर्णय पदाधिकारी बैठकबाट निर्णय समेत गराएका थिए।

थापालाई रोकेर पौडेललाई टिकट दिने गुरुङको रणनीति सफल त भयो तर त्यो पनि धेरै समय टिकेन। थापालाई रोक्ने गुरुङको रणनीति तब फेल भयो जब दीपक पौडेलको सुनचोरी काण्डको भिडियो सार्वजनिक भयो। त्यसपछि गुरुङले जे नहोस् भन्ने सोंचेका थिए त्यही भयो अर्थात थापाले गुरुङको अनिच्छाका बाबजुट टिकट पाए। टिकट ल्याएपछि गुरुङ समूहले थापालाई असहयोग गर्ने रणनीति बनायो। त्यसको नतिजा अहिलेको मतपरिणाममा देखिएको श्रोतको दाबी छ।

पोखरामा शुक्रबार बेलुकीसम्म ६९ हजार ९ सय ६८ मत गणना भइसकेको छ। जसमा गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्य ३ हजार २ सय ६ मतले अग्रता लिइरहेका छन्। एमालेको गढका रुपमा रहेको पोखरा महानगरमा यसअघि एमालेका मानबहादुर जिसीले कांग्रेसका रामजी कुँवरलाई करिब १४ हजार मतान्तरले पराजित गरेका थिए। तर यसपटक ठीक उल्टो भएको छ।

यसपटक आचार्यले २८ हजार ५ सय ६३ मतसहित अग्रता लिइरहेका छन् भने एमाले उम्मेदवार थापा २५ हजार ३ सय ५७ मत ल्याएर पछ्याईरहेका छन्। आचार्यले एमालेकै मत क्रस गरेर अग्रता लिएको अहिले पोखरेलीहरुबीच चर्चा छ। मतको प्याट्रन हेर्दा पनि मत क्रस भएको प्रष्ट देखिने गणनामा बसेका एमाले प्रतिनिधिहरु बताउँछन्।

उनीहरुका अनुसार गुरुङ समूहकाले मेयरमा धनराज र त्यसपछि सबै सुर्यमा मत हालेका छन्। ‘मतको प्याट्रन हेर्दा अन्तर्घात भएको प्रष्ट देखिन्छ। किनकी मेयरमा धनराज र अन्यमा सुर्यमा मतदान गर्ने एमालेबाहेक अरु हुनसक्दैन,’ गणनामा खटिएका एकजना प्रतिनिधिले भने। हुनपनि एमालेको गढमै थापालाई कम मत आएको छ।

पोखरा–५ एमालेको गढ क्षेत्र हो। त्यहाँ एमालेका थापाले १ हजार ४ सय ३४ मत प्राप्त गरे। जबकी सो वडामा उपमेयर पदमा एमालेकी मञ्जुदेवी गुरुङले १ हजार ७ सय ९२ मत पाइन्। त्यस्तै एमालेको प्रभाव क्षेत्र मानिएको वडा नम्बर १३ मा थापालाई मञ्जुको भन्दा १९८ र वडा नम्बर २६ मा ३५० मत कम आएको छ।

एमालेको प्रभाव क्षेत्र मात्रै होइन, अन्य क्षेत्रमा पनि मञ्जुको भन्दा थापाको मत कम आएको परिणामले देखाउँछ। त्यसैले अन्तरघातकै कारण थापालाई कम मत आएको अधिकारी समूहको दाबी छ। यसलाई पुष्टि गर्नेगरी अहिले केही फोन वार्ताका अडियो सम्वादहरु सार्वजनिक भएका छन्।

दुई छुट्टा-छुट्टै सम्वाद मध्ये एउटा अडियो सम्वादमा गुरुङ समूहका राजिव पहारीका अघोषित स्वकीय सचिव मनोज पहारी र धनराज आचार्यका भतिज पर्ने प्रकाश आचार्य तथा अर्को अडियो सम्वादमा गुरुङ समूहकै युवा संघका कार्यकर्ताबीच थापालाई हराउनेबारे कुरा भएको सुनिएको छ।

दुवै सम्वादमा थापालाई हराउन वडावडामा कार्यकर्तालाई खटाएको दाबी गरिएको छ। यसैलाई आधार बनाएर अधिकारी समूहले गुरुङ समूहका भनिएका एमाले कास्की जिल्ला अध्यक्ष तथा प्रदेश सभा सदस्य मनबहादुर गुरुङ, प्रदेश सभा सदस्य राजिव पहारी, एमाले केन्द्रीय सदस्य भीम कार्कीलगायतमाथि थापालाई हराउन अन्तरघात गरेको आरोप लगाएको छ।

त्यसको प्रतिवाद गर्दै मनबहादुर, राजिव र मनोजले छुट्टा-छुट्टै विज्ञप्ती जारी गरेका छन्। उनीहरुले आफूहरु एमालेका सिपाही भएकाले अन्तरघात गर्ने कुरा सोच्नै नसक्ने बताउँदै त्यस्तो आरोप लगाएर अधिकारी समूहले राजनीतिक अपराधीकरण गरेको उल्टै आरोप लगाएका छन्।

नेकपा एमाले पोखरा महानगर कमिटीका अध्यक्ष दीलिप न्यौपाने पनि मतको प्याट्रन हेर्दा अन्तरघात भएको हो कि भन्ने देखिने बताउँछन्। तर यसलाई अन्तिम निश्कर्ष कै रुपमा बुझ्न नहुने न्यौपानेको भनाइ छ।

‘मतको प्याट्रन हेर्दा असन्तुष्टि पोखियो वा अन्तर्घात भयो भन्न सकिएला। तर पार्टीले छानविन र चुनावी विश्लेषण नगरी अन्तरघात भयो भनेर अन्तिम निष्कर्ष निकाल्नु जायज होइन,’ उनले भने। पार्टीले पठाएको उम्मेदवार जनताले मन पराउने र नपराउने पनि हुने भएकाले त्यसको असरपनि चुनावमा देखिएको हुनसक्ने उनको भनाई छ।  

‘अलिअलि मत त जनताको रुची र अरुचीको कुरा पनि होला जुन चुनावमा देखियो,’ उनले थपे। तर अहिले पोखरामा मत क्रसको जुन बाढी नै आयो त्यो चाहीँ खतरनाक देखिएको भन्दै उनले त्यसको छानविन गर्ने पनि बताए। उनले पार्टीमा संगठनात्मक अराजकता रहेको र त्यो अहिलेको चुनावमा पोखरामा छरपष्ट भएको स्वीकारे।

एमाले कास्कीका अध्यक्ष मनबहादुर गुरुङ पनि चुनावको अन्तिम परिणाम नआई घात अन्तरघातको निष्कर्ष निकाल्नु बेकारको कुरा भएको बताउँछन्। ‘चुनावको अन्तिम परिणाम आएको छैन। त्यसैले अहिल्यै यो भन्नु हतार हुन्छ। पहिले चुनावको अन्तिम परिणाम आओस्, त्यसपछि चुनावको समीक्षा गरौला र के भएको हो त्यसको निष्कर्ष निकालौंला,’ उनले भने।

उनले आफू कमजोर भएपछि अरुलाई दोष लगाउने, शंका उपशंका गर्ने परम्परा नै भएकाले त्यसको पछि लाग्न नहुने बताए। अन्तरघात गरेको आरोप लागेका एमाले नेता राजिव पहारीले एमालेविरुद्ध पाँचदल लाग्दा त्यसको परिणामबारे पार्टीले पूर्वानुमान गर्न नसक्नु र पात्र चयनमा गल्ती गर्नु अहिलेको परिणाम आएको हुनसक्ने बताए।

‘पार्टीले सुरुमा एउटा पात्र चयन गरेर पठायो। पछि अर्कैलाई पठाउँदा त्यसको मनोवैज्ञानिक असर जनतामा परेकाले पनि मतमा असर परेको हुनसक्छ,’ उनले भने।

प्रकाशित: ६ जेष्ठ २०७९ ११:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App