७ वैशाख २०८१ शुक्रबार
निर्वाचन विशेष

नवनिर्वाचित वडा अध्यक्ष भन्छन्: जनताको सेवक भएर काम गर्छौ

सिन्धुलीको सुनकोसी गाउँपालिका १ का नवनिर्वाचित वडाध्यक्ष रामकुमार श्रेष्ठ सहित।

वडा अध्यक्षमा दोस्रो पटक निर्वाचित भएपछि कमलामाई नगरपालिका ३ का खड्ग चौलागाई वडालाई पर्यटकीय क्षेत्र बनाउन आफू लाग्ने बताउँछन्। मैले पहिलादेखि नै योजना बनाएको छु, पहिलो कार्यकालमा केही काम पनि गरेको छु, उनले भने, ‘मलाई मेरो काम देखेर दोस्रो पटक निर्वाचित गराए।’

कमलामाई नगरपालिकामा एमालेको तर्फबाट पहिलो खाता खोलेका उनी पहिलेका पनि त्यस वडाका अध्यक्ष थिए। म अधुरा काम पूरा गर्छु। कृषि पर्यटनको क्षेत्रमा विशेष काम गरी गाउँ समृद्ध बनाउन लाग्छु उनले भने,  ‘विशेष गरी जनताको सेवा गर्छु।’

वडाध्यक्षका लागि उनले पाँच सय ९ मतका साथ विजयी भएका थिए। नेपाली काँग्रेसका तर्फबाट सुनकोसी गाँउपालिका वडा नं. १ मा वडा अध्यक्षमा निर्वाचित भएका रामकुमार श्रेष्ठ जनताले दिएको मतको उच्च कदर गरी काम गर्ने बताउँछन्। जनताको सेवक हुँ उनले भने जनताका आवश्यकता पूरा गर्ने काम गर्न लाग्छु। उनले आफ्नो वडा पर्यटकीय धार्मिकस्थल रहेकाले मुलुकमै धार्मिक पर्यटकीयस्थलको रूपमा दुम्जालाई चिनाउने काम गर्ने बताउँछन्। जनताको मुख्य आवश्यकता बाटो, बत्ती, खानेपानी, स्वास्थ्य, शिक्षा लगायतको क्षेत्रमा काम निरन्तर गर्ने नै छु, उनले भने, ‘पाँच वर्षमा वडालाई पर्यटकीय क्षेत्र बनाउन अगाडि बढ्छु।’

दुई दिनदेखि जारी मतगणनामा सिन्धुली जिल्लामा यो समाचार तयार पार्दासम्म नेपाली काँग्रेसबाट ७ वडाध्यक्ष पदमा निर्वाचित भइसकेका छन्। यस्तै नेकपा माओवादी केन्द्रबाट ११ वटा वडाहरूमा वडाध्यक्ष जितेका छन् भने नेकपा एमालेले ४ स्थानमा वडाध्यक्ष पदमा जितेको छ। दुई नगरपालिका र सात गाउँपालिका रहेको सिन्धुलीमा यो समाचार तयार पार्दासम्म सिन्धुलीको सुनकोसी गाउँपालिकाबाहेक सबै स्थानमा गठबन्धन नै अग्रस्थानमा छ।

जिल्लामा नौ वटै पालिकामा स्थानीय तह निर्वाचनको मतगणना आइतबार जारी रहँदा धेरै स्थानीय तहमा गठबन्धन नै अगाडि देखिएको छ। पालिका प्रमुख तथा उपप्रमुखमा आठ वटा पालिकामा नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)को गठबन्धनका उम्मेदवार अग्रस्थानमा रहेका छन्। बाँकी एउटा पालिकाको प्रमुखमा नेकपा एमालेका उम्मेदवार र उपप्रमुखमा नेपाली काँग्रेसका उमेद्वार अग्रस्थानमा रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

यहाँको सुनकोसी गाउँपालिकामा यो समाचार तयार पार्दासम्म झिनो मतान्तरणले गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका गाउँपालिका अध्यक्षका उम्मेदवार दिपा बोहोरा दाहाललाई नेकपा एमालेका रोमनराज गिरीले उछिन्दै अगाडि बढेका छन् भने उपाध्यक्षमा भने गठबन्धनका नेपाली काँग्रेसका उम्मेदवार नै अगाडि छन्।

यस्तै कमलामाई नगरपालिका, दुधौली नगरपालिका, तीनपाटन गाउँपालिका, मरिण गाउँपालिका, हरिहरपुरगढी गाउँपालिका, गोलन्जोर गाउँपालिका, फिक्कल गाउँपालिका, घ्याङलेख गाउँपालिकाको प्रमुख तथा उपप्रमुखमा नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) को गठबन्धनका उम्मेदवार अग्रस्थानमा छन्। सुनकोसी गाउँपालिकामा भने प्रमुखमा नेकपा एमालेका उम्मेदवार र उपप्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार अग्रस्थानमा छन्।

प्रकाशित: २ जेष्ठ २०७९ ०३:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App