३ मंसिर २०८३ बिहीबार
image/svg+xml
अपराध

जुम्लामा मौलाउँदै लागूऔषधको कारोबार

जुम्लामा लागूऔषधको जालो फैलिँदै गएको प्रहरीका पछिल्ला घटना र तीन आर्थिक वर्षको तथ्यांकले देखाएको छ।

ब्राउन सुगर, चरेसदेखि लागूऔषधजन्य ट्याब्लेटसम्मको प्रयोग, कारोबार र ओसारपसारमा युवापुस्ताको संलग्नता बढ्दै गएको छ। 

गाउँबस्ती, बजार क्षेत्र, बसपार्क र सडकमा भएका प्रहरी कारबाहीले लागूऔषधको समस्या कुनै एउटा स्थान वा उमेर समूहमा मात्र सीमित नरहेको देखाउँछ।

जुम्ला बजारबाट लागुऔषध ब्राउन सुगरजस्तो देखिने धुलो पदार्थसहित दुई युवक पक्राउ परेका छन्। बुधबार दिउँसो ३ः४५ बजे चन्दननाथ नगरपालिका–५ स्थित जुम्ला बजारमा हिँडिरहेको अवस्थामा शंकास्पद देखिएपछि जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई चेकजाँच गरेको थियो।पक्राउ पर्नेमा तिला गाउँपालिका–४, सापुल्लीका २३ वर्षीय हिमाल शाही र २१ वर्षीय सुनिलकुमार सिंह रहेका छन्।

चेकजाँचका क्रममा शाहीको साथबाट ब्राउन सुगरजस्तो देखिने धुलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बरामद पदार्थलाई मान्यताप्राप्त तराजुमा नापतौल गर्दा शुद्ध तौल १८० मिलिग्राम रहेको पुष्टि भएको छ।

दुवै जनालाई पक्राउ गरी मंसिर २ गते जिल्ला अदालत जुम्लाबाट पाँच दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

यस्तै २०८३ कार्तिक ३० गते बिहान ८ बजे तातोपानी गाउँपालिका–२ जर्मी गाउँका ३२ वर्षीय कुशेन्द्र महतलाई प्रहरीले लागूऔषध सेवन तथा बिक्री गर्ने गरेको गोप्य सूचनाका आधारमा पक्राउ गर्यो।

बाटोमा हिँडिरहेको अवस्थामा शंका लागेपछि नियन्त्रणमा लिएर लागूऔषध परीक्षण गर्दा सेवन पोजेटिभ देखिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी चिरञ्जीवी दाहालले बताए।

त्यसको दुई दिनअघि अर्थात् कार्तिक २८ गते साँझ ४ बजे तातोपानी–२ डाँगीवाडाका ३१ वर्षीय केशेन्द्र डाँगी पनि प्रहरी नियन्त्रणमा परे। लागूऔषध ब्राउन सुगर बिक्री तथा सेवन गर्ने गरेको गोप्य सूचनाका आधारमा प्रहरी चौकी लिताकोटबाट खटिएको टोलीले उनलाई सोधपुछपछि नियन्त्रणमा लिएको थियो।

प्रहरी कार्यालयमा रहेको लागूऔषध परीक्षण किटबाट जाँच गर्दा उनको नतिजा पोजेटिभ देखियो।

त्यस्तै चन्दननाथ नगरपालिका–५ कालेखोलीका ३९ वर्षीय टेक कामी, वडा नम्बर १ कुलालवाडाका ३० वर्षीय चन्द्र कुलाल र वडा नम्बर ५ का २८ वर्षीय रोशन रोकाया पनि प्रहरीको कारबाहीमा परेका छन्।

सडकमा हिँडिरहेको अवस्थामा शंका लागेर नियन्त्रणमा लिइएका उनीहरूको लागूऔषध परीक्षण गर्दा सेवन पोजेटिभ देखिएको प्रहरीले जनाएको छ।

कार्तिक २६ गते दिउँसो साढे ३ बजे बसपार्क क्षेत्रमा ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दाका प्रतिवादी तिला गाउँपालिका–४ का १८ वर्षीय जयकृष्ण कामीलाई समेत लागूऔषध परीक्षण गर्दा पोजेटिभ देखिएको थियो।

सिर्जना कामीको जाहेरीका आधारमा नेपाल सरकार वादी रहेको उक्त मुद्दामा अनुसन्धानका क्रममा उनलाई परीक्षण गरिएको प्रहरीले जनाएको छ।

लागूऔषध मुद्दामा फरार रहेका व्यक्तिहरू पनि प्रहरीको खोजीमा परेका छन्। केशव देवकोटासमेत प्रतिवादी रहेको ब्राउन सुगर मुद्दामा फरार चन्दननाथ नगरपालिका–१० बोहोरागाउँका २२ वर्षीय कालु भन्ने प्रेम सार्कीलाई गत कार्तिक २३ गते साँझ साढे ५ बजे प्रहरीले पक्राउ गरेको थियो। परीक्षण गर्दा उनको नतिजा पनि पोजेटिभ देखिएको थियो।

कार्तिक २४ गते पातारासी गाउँपालिका–३ का २७ वर्षीय राजेन्द्र बोहोरा पनि चन्दननाथ नगरपालिका–६ बसपार्कमा हिँडिरहेको अवस्थामा पक्राउ परे। प्रहरीका अनुसार लागूऔषध परीक्षण गर्दा उनको नतिजा पोजेटिभ आएको थियो।

ज्यान मार्ने उद्योग तथा अभद्र व्यवहार मुद्दामा फरार रहेका चन्दननाथ नगरपालिका–६ का २३ वर्षीय पारस मल्ललाई कार्तिक २३ गते दिउँसो १२ बजे बसपार्कबाट पक्राउ गरिएको थियो।

त्यस्तै तिला गाउँपालिका–३ दानिबाडाका २६ वर्षीय लक्की बुढालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

गत कार्तिक २ गते जुम्लाको तिला गाउँपालिका–३ कुडारी बजारस्थित प्रहरी चौकीबाट खटिएको टोलीले नाग्मदेखि जुम्लातर्फ आउँदै गरेको भे १ ज ८९८ नम्बरको भ्यान जाँच गरेको थियो।

भ्यान चालक तातोपानी–५ का २७ वर्षीय आकाश नेपाली थिए। भ्यानमा सवार तातोपानी–१ राँकाका २० वर्षीय विकाश सार्की र वडा नम्बर ३ लिताकोटका १८ वर्षीय राकेश कठायतमाथि शंका लागेपछि प्रहरीले जाँच गरेको थियो।

जाँचका क्रममा विकाशको साथबाट एक पुडिया, भ्यानको छतमा राखिएको सेतो बोराभित्र चार पुडिया र राकेशले बोकेको जेब्रा झोलाभित्र एक पुडिया गरी जम्मा छ पुडिया ब्राउन सुगरजस्तो देखिने खैरो पदार्थ बरामद भएको थियो।

मान्यता प्राप्त तराजुबाट नापतौल गर्दा त्यसको शुद्ध तौल चार ग्राम ९३० मिलिग्राम रहेको प्रहरीले जनाएको छ। यो घटनाले जुम्लामा लागूऔषधको कारोबार र ओसारपसारमा विभिन्न व्यक्ति तथा सवारीसाधनको प्रयोग भइरहेको अवस्थालाई उजागर गरेको छ।

लागूऔषध सेवन र हिंसात्मक घटनाबीचको सम्बन्धबारे पनि प्रहरीका पछिल्ला घटनाले प्रश्न उठाएका छन्।

गत असोज ३१ गते पातारासी गाउँपालिका–५ माथिल्लो लोर्पाका ३० वर्षीय सुरेन्द्रबहादुर बुढालाई २२ वर्षीय मनोज रोकाया र चेतन खड्काले टाउकोमा ढुंगा प्रहार गरी गम्भीर घाइते बनाएको घटना सार्वजनिक भयो।

घाइते बुढाको टाउकोमा गहिरो चोट लागेको थियो।कुटपिटमा संलग्न दुवैलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि समेत हातपात भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

नियन्त्रणमा लिइएका उनीहरूलाई लागूऔषध सेवन गरेको आशंकामा परीक्षण गर्दा दुवैको नतिजा पोजेटिभ आएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी सालिकराम खनालले बताए।

यता गत असोज १३ गते चन्दननाथ नगरपालिका–४ बसपार्कमा सिराहाको लक्ष्मीपुर–६ सितापुरका २५ वर्षीय मनोजकुमार ठाकुर र भारतको बिहार प्रदेश, भद्रवती रमना वडा नम्बर १५ का २३ वर्षीय सञ्जिवकुमार ठाकुरलाई प्रहरीले चरेस सेवन गरिरहेको अवस्थामा फेला पारेको थियो।

उनीहरूको साथबाट चरेसजस्तो देखिने कालो पदार्थ बरामद गरिएको थियो। मान्यता प्राप्त तराजुबाट नाप्दा शुद्ध तौल एक ग्राम ५६० मिलिग्राम रहेको प्रहरीले जनाएको छ।

असोज ५ गते तातोपानी गाउँपालिका–७ का २० वर्षीय विशाल रावत पनि चरेसजस्तो देखिने कालो पदार्थ चार ग्राम ५१० मिलिग्रामसहित पक्राउ परेका थिए।

लागूऔषधको कारोबार सार्वजनिक स्थानमा मात्रै नभई घर र पसलभित्रसमेत लुकाएर हुने गरेको प्रहरी अनुसन्धानले देखाएको छ।त्यसअघि असोज ४ गते ब्राउन सुगर मुद्दामा अनुसन्धानका क्रममा फरार रहेका गुठिचौर गाउँपालिका–४ का १८ वर्षीय नवीन न्यौपानेलाई प्रहरीले पक्राउ गरेको थियो।

उनी चन्दननाथ नगरपालिका–१० बोहोरागाउँका केशव देवकोटाको घरमा लुकिछिपी बसेको गोप्य सूचना पाएपछि प्रहरीले खानतलासी गरेको थियो।प्रहरीका अनुसार खानतलासीका क्रममा केशव देवकोटाले आफ्नो साथमा रहेको करिब १० देखि ११ ग्राम लागूऔषध मुखमा हालेर तत्काल निलेका थिए।

उनको घरको कोठाबाट एक लाख तीन हजार रुपैयाँ नगद र दराजभित्र प्लास्टिकमा बेरेर राखिएको ब्राउन सुगरजस्तो देखिने धुलो पदार्थसमेत बरामद भएको थियो।

त्यसको शुद्ध तौल १६ ग्राम ४६० मिलिग्राम रहेको प्रहरीले जनाएको छ।

साउन १७ गते ब्राउन सुगर मुद्दामा फरार रहेका चन्दननाथ नगरपालिका–१० बोहोरागाउँका २६ वर्षीय बसन्त सार्कीलाई प्रहरीले आफ्नै घरबाट पक्राउ गरेको सूचना अधिकारी खनालले बताए।

साउन १० गते तातोपानी गाउँपालिका–६ ऐरेनीस्थित धौलापानीका २९ वर्षीय अमर सार्कीलाई शंकास्पद अवस्थामा हिँडिरहेको बेला प्रहरीले नियन्त्रणमा लिएको थियो।

उनको शरीर खानतलासी गर्दा चरेसजस्तो देखिने कालो पदार्थ बरामद भएको थियो। प्रहरीले शुद्ध तौल ६०० मिलिग्राम रहेको जनाएको छ।

साउन ६ गते चन्दननाथ नगरपालिका–६ छिनाका २३ वर्षीय रविन्द्र रोकाया, २७ वर्षीय विष्णु रावल र बाँकेको फुलटिक्रा घर भई हाल चन्दननाथ नगरपालिका–६ बसपार्कस्थित सोनेरी एन्ड मोटरपार्टसका सञ्चालक ३६ वर्षीय महमद सकिल रडरेट पक्राउ परेका थिए।

रविन्द्रको घरकोठामा ब्राउन सुगर सेवन भइरहेको गोप्य सूचनाका आधारमा पुगेको प्रहरी टोलीले खानतलासी गर्दा खैरो धुलो पदार्थ बरामद गरेको थियो। त्यसको शुद्ध तौल ३३० मिलिग्राम रहेको प्रहरीले जनाएको छ।

असार २९ गते चन्दननाथ नगरपालिका–७ महतगाउँका ३७ वर्षीय सन्तोष महतलाई चरेस कारोबारको आरोपमा पक्राउ गरिएको थियो। उनको घरमा सञ्चालन गरिएको पसलको टेबुलको घर्राभित्र चरेसजस्तो देखिने कालो पदार्थ फेला परेको थियो।

त्यसको शुद्ध तौल ११ ग्राम ६७० मिलिग्राम रहेको प्रहरीले जनाएको छ।त्यस्तै गुठिचौर गाउँपालिका–५ देपालगाउँकी ५३ वर्षीया डल्ली नेपालीले सञ्चालन गरेको किराना पसलको काउन्टरको घर्रामा लुकाइराखेको चरेसजस्तो देखिने कालो पदार्थका दुई डल्ला प्रहरीले बरामद गरेको थियो।

त्यसको शुद्ध तौल १२ ग्राम ७१० मिलिग्राम रहेको थियो। उनलाई लागूऔषध कसुरमा नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

व्यक्तिगत घटनाभन्दा ठूलो तस्वीर प्रहरीको तीन आर्थिक वर्षको तथ्यांकले देखाउँछ। प्रहरीको तीन आर्थिक वर्षको तथ्यांकअनुसार हालसम्म जुम्लामा लागुऔषधसम्बन्धी ४३ वटा मुद्दा दर्ता भएका छन्। २०८०र८१ देखि २०८२/८३ सम्मको तथ्यांक हो।

ती मुद्दामा ९४ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा ६८ पुरुष र ३ महिला छन्। भने २३ जना पुरुष फरार रहेका छन्।

उनीहरूबाट ब्राउन सुगर २१ ग्राम ३ सय ३७ मिलिग्राम, चरेस २ सय १४ ग्राम ३ सय ७७ मिलिग्राम र ९६ वटा ट्याब्लेट बरामद गरिएको छ।

उमेर समूहका आधारमा हेर्दा १८ वर्षमुनिका १३ जना, १८ देखि ४० वर्षसम्मका ७९ जना र ४० देखि ६० वर्षसम्मका २ जना लागुऔषध मुद्दामा संलग्न रहेको प्रहरीको तथ्यांक छ।

लागुऔषधको लतमा फस्नेहरूमा १८ देखि ४० वर्ष उमेर समूहको संख्या सबैभन्दा बढी रहेको प्रहरीले जनाएको छ।आर्थिक वर्ष २०८०/०८१ मा जुम्लामा १६ वटा लागुऔषध मुद्दा दर्ता भएका थिए।

ती सबै मुद्दा फछ्र्यौट भइसकेका छन्। यस अवधिमा ३१ जना पक्राउ परेका थिए, जसमा २४ पुरुष र २ महिला छन्। भने ५ जना पुरुष फरार छन्। उनीहरूबाट ब्राउन सुगर १० ग्राम ४ सय ७७ मिलिग्राम, चरेस १ सय ८७ ग्राम ६ सय ४८ मिलिग्राम र ३० वटा ट्याब्लेट बरामद गरिएको थियो।

यस अवधिमा १८ वर्षमुनिका ३ जना, १८ देखि ४० वर्षसम्मका २७ जना र ४० देखि ६० वर्षसम्मका १ जना संलग्न थिए।

त्यस्तै आर्थिक वर्ष २०८१/०८२ मा ब्राउन सुगर र चरेससम्बन्धी २३ वटा मुद्दा दर्ता भएका थिए। सबै मुद्दा फछ्र्यौट भइसकेको प्रहरीले जनाएको छ।

यस अवधिमा ५३ जना पक्राउ परेका थिए।पक्राउ पर्नेमा ४० पुरुष र १ महिला छन् भने १२ जना पुरुष फरार छन्। उनीहरूबाट ब्राउन सुगर ४ ग्राम ९ सय मिलिग्राम, चरेस २६ ग्राम ७ सय २९ मिलिग्राम र ६६ वटा ट्याब्लेट बरामद गरिएको थियो।

उमेर समूहअनुसार १८ वर्षमुनिका ६ जना, १८ देखि ४० वर्षसम्मका ४६ जना र ४० देखि ६० वर्षसम्मका १ जना रहेका छन्।यस्तै आर्थिक वर्ष २०८२/०८३ मा हालसम्म ४ वटा लागुऔषध मुद्दा दर्ता भएका छन्। ती मुद्दामा १० जना पक्राउ परेका छन्। पक्राउ परेका सबै पुरुष हुन्। भने ६ जना फरार छन्।

उनीहरूबाट ५ ग्राम ९ सय ६० मिलिग्राम लागुऔषध बरामद गरिएको प्रहरीले जनाएको छ। यसमा १८ वर्षमुनिका ४ जना र १८ देखि ४० वर्षसम्मका ६ जना रहेका छन्।

यस्तै आर्थिक वर्ष २०८३/०८४ मा ५ वटा लागुऔषध मुद्दा दर्ता भएका छन्। जुम्लामा पछिल्लो समय लागुऔषधजन्य ट्याब्लेट प्रयोग गर्नेहरूको संख्या पनि बढ्दो क्रममा रहेको प्रहरीले जनाएको छ।

पछिल्लो पाँच वर्षमा कर्णाली प्रदेशका १० जिल्लामा लागुऔषध सम्बन्धी ६ सय ५५ मुद्दा दर्ता भएका छन्। ती मुद्दामा १ हजार ४ सय ५६ पुरुष र १ सय १६ महिलासहित कुल १ हजार ५ सय ७२ जना पक्राउ परेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता सन्तोष सिंह राठौरले बताए।

प्रहरीका अनुसार आर्थिक वर्ष २०७९/०८० मा १ सय १४ वटा, २०८०/०८१ मा १ सय ६ वटा, २०८१/०८२ मा १ सय ८७ वटा र २०८२/०८३ मा २ सय १४ मुद्दा दर्ता भएका थिए।

आर्थिक वर्ष २०८३/८४ को हालसम्म ३४ मुद्दा दर्ता भएको जनाईएको छ। आर्थिक वर्ष २०७९/०८० को तुलनामा २०८२/०८३ मा लागुऔषधसम्बन्धी मुद्दा झन्डै दोब्बर पुगेको तथ्यांकले देखाएको छ।

कर्णालीका १० जिल्लामध्ये सबैभन्दा बढी मुद्दा प्रदेश राजधानी सुर्खेतमा र त्यसपछि जुम्लामा देखिएको छ। लागूऔषध नियन्त्रण ऐन, २०३३ अनुसार गाँजा सेवन गर्ने व्यक्तिलाई एक महिनासम्म कैद वा दुई हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था छ।

२५ बोटसम्म गाँजा खेती गर्ने व्यक्तिलाई तीन महिनासम्म कैद वा तीन हजार रुपैयाँसम्म जरिवाना र २५ बोटभन्दा बढी खेती गर्नेलाई तीन वर्षसम्म कैद वा पाँच हजारदेखि २५ हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था ऐनमा उल्लेख छ।

यस्तै, पटक–पटक अपराध गर्ने व्यक्तिलाई थप सजायको व्यवस्था गरिएको छ। एक पटक सजाय पाइसकेको व्यक्तिले पुनः अपराध गरेमा पाँच वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवाना हुन सक्ने प्रावधान छ।

प्रकाशित: ३ मंसिर २०८३ १२:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App