coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

पुलिस सेमिफाइनलमा

लुम्बिनी प्रदेशमाथि ६ विकेटको जित निकाल्दै अपराजित यात्रालाई तेस्रो खेलमा पनि निरन्तरता दिएपछि विभागीय टोली नेपाल पुलिस क्लब राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा सम्पन्न खेलमा नेपाल पुलिसले बिहीबार लुम्बिनी प्रदेशमाथि ६ विकेटको जित निकाल्दै अन्तिम चारमा प्रवेश गरेको छ। यस जितसँगै पुलिसले तेस्रो खेलमा पनि अपराजित यात्रालाई निरन्तरता दिएको हो। १ सय ८९ रनको सामान्य लक्ष्य पुलिसले ३७.१ ओभरमा ४ विकेट गुमाएर भेटाएको हो। पुलिसका लागि ओपनर सुनील धमला र कुशल भुर्तेलले राम्रो सुरुआत गरेका थिए। सुनीलले ३६ रनको पारी खेल्दा कुशलले ३२ रनको योगदान गरेका थिए।

यस्तै अमित श्रेष्ठ २८ रनमा अनिल खरेलको बलमा एलबिडब्लुको धरापमा पर्दै पवेलियन फर्किंदा कप्तान दीपेन्द्रसिंह ऐरीले अविजित ४३ रनको योगदान गरे भने दिलीपनाथ ६ रनमा नटआउट रहे। आरिफ शेख ३५ रनमा पवेलियन फर्किएका थिए। बलिङतर्फ अनिल खरेलले सर्वाधिक २ विकेट हात पार्दा दुर्गेश थापा र मोहम्मद हुसेनले एकएक विकेट लिए।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको लुम्बिनीले ४४.२ ओभरमा सबै विकेट गुमाएर मात्र १ सय ८८ रन जोडेको थियो। ओपनर तथा कप्तान देव खनालले अर्धशतकीय पारी खेले। ८८ बलको सामना गरेका खनालले ७ चौका र २ छक्का हिर्काएका थिए। अर्का ओपनर आकाश त्रिपाठी शून्यमा आउट भएकोे खेलमा प्रज्वल थापाले २३, विशालविक्रम केसीले ३०, दुर्गेश गुप्ता र मोहम्मद हुसेनले समान ११ रन बनाउनुबाहेक अन्यले राम्रो स्कोर गर्न सकेनन्।

लुम्बिनीको इनिङलाई सस्तैमा समेट्ने क्रममा पुलिसका कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४ विकेट हात पारे। यस्तै करण केसी र सागर ढकालले समान २ विकेट लिँदा गुल्सन झा र ललित राजवंशीले समान १ विकेट आफ्नो नाममा लेखाए। यस जितसँगै पुलिसले ३ खेलबाट स्पष्ट अंक जोडेर तालिकामा ६ अंक बनाएको छ। पुलिस समूह ‘बी’ को शीर्ष स्थानमा यथावत् छ। पराजित लुम्बिनीको २ अंक रहेको छ।

एकदिवसीय क्रिकेटअन्तर्गत बिहीबारकै अर्को खेलमा मधेस प्रदेशले प्रदेश-१ लाई ७२ रनले पराजित गरेको छ। मूलपानी क्रिकेट मैदानमा मधेस प्रदेशले दिएको २ सय १५ रनको लक्ष्य पछ्याएको प्रदेश-१ ४३.१ ओभरमा समेटिएको थियो। प्रदेश-१ ले सबै विकेट गुमाएर मात्र १ सय ४२ रन बनाउन सक्यो। प्रदेश-१ लागि लुभ कामतले सर्वाधिक २९ रनको पारी खेल्दा विवेकानन्द मेहताले २५, फिर्दोस अन्सारीले २२, मनीष थापाले १२, सोनु मण्डलले ११, सोनु अन्सारीले १० तथा दीपक जोशीले अविजित ११ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो स्कोर गर्न सकेनन्। प्रदेश-१ लाई सस्तैमा समेट्ने क्रममा मधेशका रूपेश सिंह, प्रदीप पासवान, विशाल सुस्लिङ, मोहम्मद आदिल आलमले समान २/२ विकेट लिए भने राजेश यादवले १ विकेट आफ्नो नाममा लेखाए।

यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको मधेसले ४८.१ ओभरमा सबै विकेट गुमाएर २ सय १४ रन बनाएको थियो। मधेसका अनिल शाहले अर्धशतक बनाए। ८९ बलको सामना गरेका अनिलले पाँच चौका र १ छक्का प्रहार गरेका थिए। विवेक यादवले ३२ रन जोड्दा रूपेश सिंहले ३०, रोहन विकेले २८ र कप्तान हरिशंकर शाहले १५ रन जोडेका थिए। यसबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकको स्कोर छुन सकेनन्। मधेसका सबै विकेट लिने क्रममा प्रदेश–१ का फिर्दोस अन्सारीले सर्वाधिक ५ विकेट निकाले। ९.१ ओभर गरेका फिर्दोसले १ मेडन ओभर राख्दै ३४ रन खर्चिएका थिए। यस्तै सिद्धान्त लोहनीले ३ विकेट हात पार्दा श्रवण यादव र लुभ कामतले समान १/१ विकेट लिए।

प्रतियोगितामा शुक्रबार पनि दुई खेल हुनेछन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा हुने खेलमा कर्णाली र एपिएफ तथा मूलपानी मैदानमा लुम्बिनी प्रदेश र मधेस प्रदेशबीच खेल हुनेछन्।

प्रकाशित: १८ कार्तिक २०७९ ०३:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App