८ वैशाख २०८१ शनिबार
खेल

अंकितको शतकमा प्रदेश-१ लाई सफलता

सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै एपिएफका खेलाडी। तस्विर-क्यान

अंकित सुवेदीको शतकमा मंगलबार प्रदेश–१ ले समूह ‘बी’ को खेलमा बाग्मती प्रदेशमाथि ६९ रनको जित निकाल्दा दिनको अर्को खेलमा एपिएफले लगातार दोस्रो जित निकालेको छ।

पिएम कप पुरुष एकदिवसीय क्रिकेट अन्तर्गत कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा सम्पन्न खेलमा प्रदेश–१ दिएको ३ सय ५ रनको लक्ष्य पछ्याउँदा बाग्मतीले ४५.५ ओभरमा २ सय ३५ रन मात्र बनायो। बाग्मतीका लागि नन्दन यादवले ४८ बलमा समान ३ चौका ३ छक्कासहित सर्वाधिक ४३ रन जोडेका थिए। ओपनर ईशान पाण्डेले ३५, कप्तान ज्ञानेन्द्र मल्लले २७, दुर्गेश थापाले २६ र रामनरेश गिरीले अविजित २८ रनबाहेक अन्य ब्याट्सम्यानले राम्रो स्कोर छुन सकेनन्। प्रदेश–१ का लागि श्रवण यादवले सर्वाधिक ३ तथा दीपक जोशी, फिर्दोस अन्सारी र कप्तान सिद्धान्त लोहनीले समान २ विकेट लिए। लव कामतको नाममा एक विकेट रह्यो।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको प्रदेश–१ ले निर्धारित ५० ओभर सकिन एक बल बाँकी रहँदा सबै विकेट गुमाएर ३ सय ४ रन जोड्न सफल भएको थियो। अंकितले १ सय ३४ बलमा १२ चौका र १ छक्कासहित १ सय १० रन बनाए। कप्तान सिद्धान्तले आक्रामक ब्याटिङ गर्दै ४० बलमा ३ चौका र ८ छक्कासहित ७२ रन बनाउँदा विवेक मेहताले ३० रन बनाए। अन्य ब्याटरको उल्लेख्य योगदान रहेन। बाग्मतीका रामनरेश गिरिले सर्वाधिक ५ विकेट लिए। ईशान पाण्डे, प्रतीश जिसी, सूर्य तामाङ र नन्दन यादवले १/१ विकेट हात पारे।

समूह ‘बी’ को प्रदेश-१ ले दोस्रो खेलबाट पहिलो जित निकाल्दा बाग्मती लगातार दोस्रो खेलमा पराजित भएको छ। समूहका दुई खेलमा स्पष्ट जित निकालेको पुलिस ४ अंकका साथ तालिकाको शीर्ष स्थानमा रहँदा २ अंक बनाएको प्रदेश–१ तालिकाको दोस्रो स्थानमा छ।

प्रतियोगिताअन्तर्गत मंगलबार नै भएको अर्को खेलमा भुवन कार्कीले ४ विकेट लिँदा विभागीय टोली एपिएफ क्लबले सुदूरपश्चिम प्रदेशमाथि १० विकेटको फराकिलो जित निकालेको छ।

मूलपानी क्रिकेट मैदानमा कार्कीले कसिलो बलिङ गर्दा सुदूरपश्चिम २७ ओभरमा समेटिएको थियो। टोलीले २७ ओभरमा सबै विकेट गुमाएर मात्र ६७ रन जोडेको थियो। जबाफी ब्याटिङ गरेको एपिएफले ६८ रनको लक्ष्य ११.२ ओभरमा बिनाविकेट क्षति पूरा गरेको थियो। एपिएफका लागि ओपनरद्वय प्रदीप ऐरी र आशिफ शेखले अविजित क्रमशः २५ र ४२ रन जोडेका थिए। यसअघि टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमका लागि कप्तान तथा विकेटकिपर राजु रिजालले सर्वाधिक २५ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकको स्कोर छुन सकेनन्। एपिएफका लागि कार्कीका अलावा कमल ऐरी र मौसम ढकालले समान २/२ विकेट हात पार्दा किशोर महतो र अमर रौटेलाले १/१ विकेट निकाले।

यस जितसँगै एपिएफले सेमिफाइनल प्रवेश सम्भावनालाई बलियो बनाएको छ। लगातारका खेलमा स्पष्ट जित निकालेको एपिएफले तालिकामा ४ अंक बनाउँदा लगातार दोस्रो खेलमा पनि पराजित सुदूरपश्चिम अंकविहीन छ।

प्रतियोगितामा बुधबार पनि दुई खेल हुनेछन्। कीर्तिपुर मैदानमा कर्णाली र गण्डकीबीच खेल हुँदा मूलपानी मैदानमा बाग्मती र लुम्बिनी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ। 

प्रकाशित: १६ कार्तिक २०७९ ०१:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App