coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

तेस्रो दिन फेन्सिङमा आर्मी र एपिएफलाई स्वर्ण

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत फेन्सिङको तेस्रो दिनसम्म ११ वटा स्वर्ण पदकको टुंगो लागेको छ। बिहीबार महिला फोयल इभेन्ट टिम प्रतिस्पर्धामा बाग्मती प्रदेशलाई पराजित गर्दै एपिएफले स्वर्ण पदक जितेको छ। नेपाली सेनाको त्रिभुवन आर्मीलाई पराजित गर्दै फाइनल प्रवेश गरेको बाग्मतीले एपिएफसँग पराजित हुँदैं रजतमा चित्त बुझायो। एपिएफ गण्डकी प्रदेशलाई पराजित गर्दै फाइनल प्रवेश गरेको हो। गण्डकी र आर्मीले भने कांस्य पदकमा चित्त बुझाएका छन्।

पुरुष टिम सेबरतर्फको स्वर्ण पदक त्रिभुवन आर्मी क्लबले जितेको छ। आर्मीले बाग्मती प्रदेशलाई पराजित गर्दै स्वर्ण पदक जितेको हो। बाग्मतीले रजतमा चित्त बुझायो। गण्डकी बाग्मती प्रदेशसँग पराजित हुँदै फाइनल पुग्न चुक्यो। सेमिफाइनलमा पराजित गण्डकीले कांस्य पदकमा चित्त बुझाएको छ। विभागीय डर्बीमा आर्मीले एपिएफलाई पराजित गर्दै फाइनल प्रवेश गरेको थियो। अब फेन्सिङको अन्तिम स्वर्णको फाइनल शुक्रबार हुनेछ। पुरुषतर्फ इपी टिम इभेन्टमा स्वर्ण पदकका लागि एपिएफ र त्रिभुवन आर्मीबीच प्रतिस्पर्धा हुनेछ।

महिला क्रिकेटमा गण्डकीको जम्मा २६ रन

गण्डकी प्रदेशलाई ९ विकेटले पराजित गर्दै एपिएफको महिला क्रिकेट टोलीले दोस्रो जितका साथ अन्तिम चारको सम्भावना बलियो बनाएको हो। गण्डकी तीन खेलमा पराजित हुँदै समूह ‘ए’ को अन्तिम स्थानमा छ।

टस जितेर ब्याटिङ रोजेको गण्डकी केवल २६ रनमा समेटियो। चार ब्याटर शून्यमै आउट भए। पहिलो, दोस्रो र तेस्रो नम्बरमा आएका ब्याटरले समान ३/३ रन जोडे। कप्तान सृष्टि जैसीले सर्वाधिक ५ रन बनाइन्। एपिएफकी इन्दु बर्माले २ र सीता रानामगर,निशा भट्ट,नेरी थापा, सुमन विष्टले समान १ विकेट लिए। २७ रनको लक्ष्य सशस्त्रले २.२ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्‍यो। कप्तान सीता रानामगर १२ रन बनाउँदै अविजित रहिन्। इन्दु बर्माले पनि अविजित रहँदै ९ रन बनाइन्। एपिएफले पहिलो विकेटका रूपमा ज्योति पाण्डेलाई २ रनमा गुमाएको थियो। खेलमा इन्दु बर्मा प्लेयर अफ दी म्याच घोषित भइन्।

अर्को खेलमा मधेस प्रदेशले सुदूरपश्चिमलाई १५ रनले पराजित गर्दै सेमिफाइनल प्रवेश सम्भावना बलियो बनाएको छ। मधेस र एपिएफको समान ४/४ अंक छ। टस जितेर व्याटिङ गरेको मधेसले ९ विकेटको क्षतिमा ९१ रनको योगफल तयार पार्‍यो। साना प्रविनले ३५ रन बनाइन्। खेलमा अतिरिक्त मात्रै २५ रन जोडिएको थियो। गोमा आलेले १० रन बनाइन्। सुदूरका लागि सावित्री धामीले ४ ओभरमा १८ रन खर्चेर ४ विकेट लिइन्।

९२ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम मात्र ७६ रनमा समेटियो। रितु कनौजियाले २७ रन बनाउँदा। रुवी पोद्दारले १२ रन बनाइन्। अनुराधा सन्तोषी र शान्ति चौधरीले समान २/२ विकेट लिए। खेलमा साना प्रविन प्लेयर अफ दी म्याच घोषित भइन्।

ह्यान्डबलमा गण्डकीका दुवै टोली सेमिफाइनलमा

गण्डकी प्रदेशका महिला तथा पुरुष दुवै टोली बिहीबार अन्तिम चारमा प्रवेश गरेका छन्। बिहीबार बिहान नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र गण्डकीबीचको प्रतिस्पर्धा बराबरीमा सकिएको छ। दुवै टोली सेमिफाइनल प्रवेश गरेका छन्।

पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको प्रतिस्पर्धामा यी दुवै टोलीले २७–२७ गोलको बराबरी खेल्दै अंक बाँडे। लिगको अन्तिम खेल खेलेका दुवै टोलीले यसअघि समान ३/३ खेलमा जित दर्ता गरेका थिए। गोलका आधारमा गण्डकी प्रदेश समूहविजेता बन्दै सेमिफाइनल प्रवेश गर्दा आर्मी उपविजेता बन्दै सेमिफाइनल पुग्यो। पुरुषतर्फको सेमिफाइनलमा गण्डकीले लुम्बिनी प्रदेशसँग भिड्नेछ भने अर्को सेमिफाइनल खेल दुई विभागीय टोली एपिएफ र आर्मीबीच हुनेछ।

महिलातर्फको प्रतिस्पर्धामा गण्डकी, एपिएफ, आर्मी र प्रदेश–१ सेमिफाइनल प्रवेश गरेका छन्। फाइनल प्रवेशका लागि सशस्त्रले प्रदेश–१ सँग खेल्दा गण्डकीले भने आर्मीको सामना गर्नेछ।

हक्कीको महिलातर्फ गण्डकीलाई सफलता

२५ हेमजास्थित गौरीशंकर खेलमैदानमा भएको उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशलाई ४-० ले पराजित गरेको छ। मैदान ढिलो तयार हुँदा प्रतियोगिताको उद्घाटन निर्धारित समयभन्दा निकै ढिला भएको थियो। उद्घाटन युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले गरेका थिए। महिला हक्कीमा भने गण्डकीले प्रदेश-१ लाई ७-० ले पराजित गरेको छ। प्रतियोगितामा कमला पुनले ह्याट्रिक गरेकी थिइन्।

पोखराको लामाचौरस्थित गण्डकी बोर्डिङ स्कुलको खेलमैदानमा प्रतिस्पर्धा भएको थियो। 

प्रकाशित: २८ आश्विन २०७९ ०२:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App