८ मंसिर २०८१ शनिबार
image/svg+xml
खेल

अस्ट्रेलिया इङ्ल्यान्डसँग स्तब्ध

फाइल तस्बिर

ट्वान्टी-२० विश्वकप नजिकिँदै गर्दा इङ्ल्यान्डले आइतबार अस्ट्रेलियालाई उसैको घरेलु मैदानमा पहिलो ट्वान्टी-२० खेलमा स्तब्ध बनाएको छ।

ट्वान्टी–२० विश्वकपको अभ्यासका लागि इङ्ल्यान्ड र अस्ट्रेलियाले यसै फरम्याटका तीन खेलको शृंखला खेल्दै छन्। तर, आइतबार पर्थमा पाहुना टोली इङ्ल्यान्डले अस्ट्रेलियामाथि आठ रनको सनसनीपूर्ण जित रच्दै शृंखलामा सुखद सुरुआत गर्‍यो। घरेलु टोलीसामु जितका लागि २ सय ९ रनको विशाल लक्ष्य थियो। घरेलु टोलीका लागि ओपनर डेविड वार्नरले ७३ रन र मार्कस स्टोनिसले ३५ रन जोड्दै एक समय त्यो लक्ष्य पनि सहजै भेटाउने स्थितिमा पुर्‍याए। स्टोइनिसले आक्रामक ब्याटिङ गर्दै अस्ट्रेलियाको आशा जीवितै राखे पनि इङ्लिस बलर मार्क वुड र साम करनले यादगार बलिङ प्रदर्शन गरे।

तीव्र गतिका बलर वुडले ३/३४ र सामले २/३५ को प्रदर्शन गरे। अन्तिम ओभरमा जितका लागि अस्ट्रेलियालाई १६ रन आवश्यक थियो। तर, सामले दुई विकेट लिँदै ७ रन मात्र दिएपछि इङ्ल्यान्डले जित रच्यो। त्यसअघि ओपनरद्वय एलेक्स हल्स र जस बटलरको आक्रामक इनिङ प्रेरणामा इङ्ल्यान्डले २०८/८ को योगफल तयार पारेको थियो। यी दुई घरेलु टोलीका तीव्र गतिका बलरमाथि हाबी भए र ११.२ ओभरमा एक सय १३ रनको जोड्दै इङ्ल्यान्डलाई राम्रो सुरुआत दिलाए।

घरेलु टोलीका बलरले कयौं चुनौती प्रस्तुत गरे पनि यी हल्स र बटलरले इनिङ समाले। ‘अस्ट्रेलियाले धेरै राम्रो खेल्यो। उनीहरूले कयौं पटक हामीमाथि दबाब बनाए,’ बटलरले भने, ‘अस्ट्रेलिया उत्कृष्ट टोली हो। अस्ट्रेलियाका धेरै खेलाडी कुनै पनि समय खेललाई एकतर्फी बनाउने क्षमता राख्छन्। त्यसैले हामीले छिटै विकेट लिन आवश्यक थियो। सोही अनुरूप हुँदा सफलता पनि पायौं।’ हल्सले ५१ बलमा ८४ रन र बटलरले ३२ बलमा ६८ रन जोडे। यो खेलमा अस्ट्रेलियाले तीन आक्रामक बलर प्याट कमिन्स, मिचेल स्टार्क र जस हेजलवुड र लेग स्पिनर एडम जाम्पालाई आराम दिएको थियो। उनीहरूका स्थानमा अवसर पाएका बलर पूर्ण रूपमा इङ्ल्यान्डको आक्रमण रोक्न असफल भए।

हल्स र बटलरले शतकीय साझेदारी गर्ने क्रममा २० चौका र सात छक्का हिर्काए। चोटका कारण दुई महिनाभन्दा बढी समय बाहिर रहेका बटलरले त्यसको प्रभाव खेलमा देखाएनन्। उनले हल्ससँग मिलेर पहिलो पाँच ओभरमा ५० रन र ९ ओभरमा सय रनको आँकडा पार गराए। अस्ट्रेलियाका नाथन इलिसले तीन विकेट लिए। केन रिचार्डसन, ड्यानिल साम्स र स्टोइनिसको नाममा १/१ विकेट रह्यो। विशाल लक्ष्य पछ्याएको अस्ट्रेलियाको सुरुआत सुखद हुन सकेन र दोस्रो ओभरमा नै ओपनर क्यामरुन ग्रिन १ रनमै आउट भए। यद्यपि, अर्का ओपनर वार्नरले मिचेल मार्ससँग मिलेर तेस्रो विकेटका लागि ७१ रन बनाए।

यी दुई इङ्लिस बलरमाथि आक्रामक बने। तर, ८.३ ओभरमा आदिल रसिदले मार्सलाई ३६ रनमा बोल्ड गर्दै यो साझेदारी तोडे।  

प्रकाशित: २४ आश्विन २०७९ ०१:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App