१९ असार २०८१ बुधबार
image/svg+xml
खेल

चाहार उपलब्ध हुन नसक्ने

दीपक चाहार चोटका कारण टोलीमा उपलब्ध नहुने भएपछि भारतलाई आइतबार दक्षिण अफ्रिका विरुद्धको दोस्रो एकदिवसीय खेल पनि चुनौतीपूर्ण हुन सक्नेछ।

घरेलु मैदान राचीमा आइतबार हुने दोस्रो एकदिवसीय खेलमा बलिङ सुधार गर्दै भारत दक्षिण अफ्रिकासँगको शृंखलालाई बराबरीमा ल्याउने लक्ष्यमा छ। अस्ट्रेलियामा यसै महिनाको अन्त्यदेखि सुरु हुने ट्वान्टी–२० विश्वकपअगाडि नै भारत दक्षिण अफ्रिकासँग फरक फरम्याटको क्रिकेट खेल्दै छ। यसअघि कहिल्यै पनि महत्त्वपूर्ण प्रतियोगिता नजिकिँदै गर्दा भारतले फरक खालको प्रतिस्पर्धा गरेको थिएन। ट्वान्टी–२० विश्वकप संघारमा रहेकाले सबै भारतीय समर्थकको नजर अस्ट्रेलियाको पर्थमा हुने ट्वान्टी–२० अभ्यास खेलमा केन्द्रित छ।

भारतका कप्तान र अन्य केही खेलाडी त्यसका लागि पर्थ पुगिसकेका छन्। यद्यपि, यसबीच भारतले घरेलु भूमिमा पनि तीन खेलको एकदिवसीय शृंखला खेल्दै छ। टोलीसँगै नगएका क्रिकेटरका लागि यो प्रतियोगिता अवसर हुन सक्छ। यद्यपि, चोटका कारण चाहरले भने यो अवसर गुमाउन पुगे। लखनउमा सम्पन्न पहिलो एकदिवसीय खेलअगाडि नै चाहार डाढमा समस्या बल्झिएपछि टोलीबाहिर रहे। उनी अहिले पनि टोली बाहिर नै रहकाले आइतबार भारतका लागि बलिङ लय समात्न कठिन नै हुनेछ।

मोहम्मद सिराज र आभेश खान पनि भारतको बलिङ अट्याकमा प्रभाव जमाउन असफल भइरहेका छन्। त्यसैले पनि बेंगलका तीव्र गतिका बलर मुकेश कुमारले भारतीय टोलीमा पहिलो पटक अवसर पाउन सक्छन्। यता श्रेयस ऐयरका लागि पनि आइतबार केही रन जोड्न आवश्यक हुन्छ। किनकि उनी आगामी विश्वकपका लागि भारतका रिजर्भ क्रिकेटरको सूचीमा खुम्चिएका छन्। यस शृंखलामा उपकप्तान रहेका श्रेयस शीर्ष क्रममा ब्याटिङ गर्छन्। गत बिहीबार भने श्रेयसले पाँचौं नम्बरमा ब्याटिङ गरेका थिए।

उनी अर्धशतक बनाउन पनि सफल भए। सर्ट बलमा आउट हुने र तीव्र गतिका बलरविरुद्ध कम गतिमा रन बटुल्ने उनको कमजोर पक्ष हो। तर, उनले पहिलो खेलमा केही सुधार गरेका छन्। त्यसैले दोस्रो खेलमा पनि रन बटुल्न श्रेयसका लागि आवश्यक छ। पहिलो एकदिवसीयमा सन्जु सामसन ८६ रनमा नटआउट रहे। सात वर्षअघि डेब्यु गरेका सन्जु आगामी ट्वान्टी–२० विश्वकपका लागि भारतीय टोलीमा स्थान बनाउन असफल भए। तर, यस शृंखलामा राम्रो प्रदर्शन गरेमा अन्य खेलाडी घाइते हुँदा उनी उत्कृष्ट विकल्प हुन सक्छन्।

मध्य अर्डर ब्याटिङ गर्ने सन्जुको प्रदर्शनले भारतीय छनोटकर्तालाई पनि आफ्नो निर्णयप्रति पश्चात्ताप लाग्न सक्छ। यता, भारतीय ओपनर शिखर धवनले आफ्नो नेतृत्व क्षमता यसअघि नै प्रमाणित गरिसकेका छन्। तर, दक्षिण अफ्रिकाविरुद्ध भने राम्रो सुरुआत गर्न नसके पनि लयमा फर्कन दोस्रो एकदिवसीय खेल उनका लागि अवसर बन्न सक्छ। क्षमतावान् युवा ब्याट्सम्यान शुभमन गिल पनि एकदिवसीय क्रिकेटमा राम्रो सम्भावना बोकेका क्रिकेटर हुन्। तर, पहिलो खेल उनका लागि आशातीत रहेन। दोस्रो खेलमा भने उनले लय समात्ने आशा गरिएको छ।

टेम्बा बभुमा नेतृत्वको दक्षिण अफ्रिकाका लागि आगामी विश्वकपमा सीधै छनोट हुन यो शृंखला महत्त्वपूर्ण बन्नेछ। जितले सुपर लिगमा अंक थपिनेछ र दक्षिण अफ्रिकाले आगामी वर्ष हुने एकदिवसीय विश्वकपमा सीधै स्थान बनाउनेछ। यद्यपि, कप्तान बभुमाका लागि पछिल्ला समय राम्रो भइरहेको छैन र उनी करियरकै खराब लयबाट गुज्रिरहेका छन्। उनी पछिल्ला तीन ट्वान्टी–२० खेलमा ०, ० र ३ रन तथा पहिलो एकदिवसीयमा ८ रनमा नै आउट भए। ट्वान्टी–२० विश्वकप आउन दुई हप्ता बाँकी रहेकाले दक्षिण अफ्रिका ब्याट्सम्यान बभुमाले लय समात्नु आवश्यक छ।

यता, डेविड मिलरको एक शतक र नटआउट ७५ रनको प्रदर्शनले दक्षिण अफ्रिकाको आशा पलाएको छ। उनले आक्रामक गतिमा रन बटुलिरहेका छन्। ट्वान्टी–२० का खेलमा आलोचित बनेका दक्षिण अफ्रिकाका तीव्र गतिका बलर कागिसो रबडा पनि पछिल्लो खेलमा लयमा देखिएका छन्। त्यसैले दोस्रो एकदिवसीयमा सन्तुलित दक्षिण अफ्रिका भारतका लागि चुनौती बन्न सक्नेछ।

प्रकाशित: २३ आश्विन २०७९ ०१:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App