१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

नवौं राष्ट्रिय खेलकुद: महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता भोलिदेखि, गण्डकीको एउटै लक्ष्य जित

पोखरा रंगशाला क्रिकेट मैदानमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पहिलो खेलको रुपमा आईतबारदेखि महिला क्रिकेट शुरुवात हुँदैछ। उदघाटन खेल गण्डकी प्रदेशले मधेश प्रदेशलाई आतित्थयता दिनेछ।  

प्रतियोगिताको पूर्वसन्ध्या शनिबारसम्म मैदानको काम भईरहेको छ। आउटफिल्ड र पीचको काम सकिएपनि साईडस्क्रिनको काम भने बाँकी नै छ। साइडस्क्रिन जडान गर्ने काम भईरहेको छ। उदघाटन खेल अघिसम्म मैदानको काम सक्ने लक्ष्य सहित काम गरिएको कास्की जिल्ला क्रिकेट संघले जनाएको छ। दशैंको विदाले मर्मत सम्भारमा केही समस्या परेको छ। अर्कोतिर निरन्तर परेको पानीले प्रभावित बनाएको क्रिकेट संघले जनाएको छ।  

‘पानी निरन्तर परेकोले मर्मत सम्भारमा केही समस्या भयो। आउट फिल्ड तयार छ पीच निरन्तर पानी परेकोले पूर्णतयार भईसकेको छैन्। उदघाटनसम्म तयारी हुन्छ।’ कास्की क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले भने,‘पीचमा समस्या भए म्याट राखेर खेलाउन योजनामा छौं।’ आउट फिल्डमा पानी जमेको ठाँउमा बालुवा हालिएको छ। महिला क्रिकेटको लागि ग्रीन पीचमा खेल्नुपर्ने बाध्यता छ।  

घरेलु मैदानमा गण्डकी प्रदेशले पहिलो जित निकाल्दै सकारात्मक सन्देश दिने योजनामा हुने छ। मधेश प्रदेशले पनि पहिलो जित निकाल्दै सुखद शुरुवात गर्ने लक्ष्यमा हुने छ। गण्डकी र मधेश प्रदेशबीच आमनेसामने भईसकेका छन्। यु–१९ को प्रतिस्पर्धामा गण्डकी प्रदेशले मधेश प्रदेशलाई पराजित गरेको छ। तर सिनियर तर्फको प्रतिस्पर्धामा भने मधेशले गण्डकीमाथि जित दर्ता गरेको थियो।  

धनगढीमा आयोजित सिनियर अन्तर्गत प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा आमने सामने भईसकेको हुन् । प्रतिस्पर्धामा गण्डकी प्रदेशलाई मधेश प्रदेशले ७ विकेटले पराजित गरेको थियो। गण्डकी प्रदेशले महिला तर्फको सिनियर प्रतिस्पर्धामा कुनैपनि खेल जितेको तथ्यांक छैन्। आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता दाङको लमहीमा समेत गण्डकी प्रदेशले तीनै खेलमा पराजित भएको थियो। प्रदेश नं १, मधेश प्रदेश र सुदुर पश्चिमसँग पराजित भएको थियो।  

‘घरेलु मैदानमा मधेशलाई जित्ने लक्ष्यसहित उत्रिने छौं,’ गण्डकी प्रदेश महिला क्रिकेट टिमका प्रशिक्षक दिपेश खत्रीले भने–‘टिम सेट राम्रो छ। विगतको भन्दा राम्रो नजिता निकाल्ने छौं।’ उनले प्रशिक्षणको क्रममा नेट्स प्राक्टिस टर्फमै गरेकोले टर्फमा खेल्न उपयुक्त हुने अपेक्षा राखे। यद्यपी पानी परेकै कारण टर्फमा नभई खेल म्याटमा हुने सम्भावना पनि उत्तिकै छ। ‘हामीले मिड विकेटमा प्राक्टिस कहिल्यै गर्न पाएनौं। नेट्समा पनि टर्फ विकेटमा प्राक्टिस गर्यौ’ उनले भने, ‘तर मैदानको मिड विकेटमा प्राक्टिस गर्ने अवसर नै पाएनौं। तर लक्ष्य भने हाम्रो जित नै हो।’  

प्रकाशित: २२ आश्विन २०७९ ०९:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App