२३ असार २०८१ आइतबार
image/svg+xml
खेल

उपविजेता टोलीलाई सेरामिक्सको सम्मान

साफ यु-१७ च्याम्पियनसिप २०२२ को उपविजेता नेपाली युवा टोलीलाई बिहीबार प्राइम सेरामिक्सले नगदसहित सम्मान गरेको छ।

दुई साताअघि श्रीलंकाको कोलम्बोस्थित रेसकोर्स अन्तर्राष्ट्रिय स्टेडियममा सम्पन्न प्रतियोगितामा नेपाल फाइनलमा भारतसँग पराजित भएसँगै उपविजेतामा सीमित भएको थियो। समूह चरणमा भारतलाई ३–१ ले हराएको नेपाल फाइनलमा भने ४–० ले पराजित भएको थियो। प्राइम सेरामिक्सले बिहीबार २३ खेलाडी र ६ अफिसियल गरी कुल २९ जनालाई जनही पाँच हजार रूपैयाँ सहित सम्मान गरेको हो। टोलीलाई प्राइम सेरामिक्सका सिइओ प्रशान्त अग्रवालले सम्मान गरे।

कार्यक्रममा बोल्दै नेपाली टोलीका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले अखिल नेपाल फुटबल संघ (एन्फा), राष्ट्रिय खेलकुद परिषद् (राखेप) र खेलकुद मन्त्रालय जस्ता जिम्मेवार संस्थाले खेलाडीको मनोबल बढाउने कुरामा चासो नदेखाएको अवस्थामा सेरामिक्सले खेलाडीको हौसला बढाउने काम गरेको बताए।

‘खेलाडीको मनोबल बढाउने कुरामा सम्बन्धित सबै निकाय चुप रहेको अवस्थामा प्राइम सेरामिक्सको यो सम्मान हाम्रा लागि विशेष हो,’ श्रेष्ठले भने, ‘यसले हामीलाई आगामी साताबाट भियतनाममा सुरु हुने एएफसी यु–१७ एसियन कप छनोटका लागि थप हौसला मिलेको छ। त्यहाँ पनि उत्कृष्ट नतिजा दिनेमा हामी विश्वस्त छौं। आशा छ, आगामी दिनमा पनि प्राइमसँगको यो सहकार्यले निरन्तरता पाउनेछ।’

प्राइम सेरामिक्सका सिइओ अग्रवालले साफ यु–१७ च्याीम्पयनसिपको उपविजेता नेपाली टोलीलाई सम्मान गर्ने अवसर जुरेको बताए। ‘नेपाली खेलाडी पनि क्षमतावान् छन्। म साफ यु–१७ च्याम्पियनसिपको उपविजेता नेपाली टोलीलाई बधाई दिन चाहन्छु। तपाईहरूहरूले थोरै तयारीका बावजुद उत्कृष्ट नतिजा ल्याउनुभएको छ,’ सिइओ अग्रवालले भने, ‘भियतनाममा हुने छनोट प्रतियोगिताका लागि पनि अग्रिम शुभकामना दिन चाहन्छु। त्यहाँ पनि तपाईहरूले उत्कृष्ट नतिजा ल्याउनुहुन्छ भन्नेमा विश्वस्त छौं। त्यसपछि पनि सम्मान गर्ने अवसर जुरोस् भन्ने कामना गर्दछु। हामी यो सहकार्यलाई जारी राख्न चाहन्छौं। हामी त्यसका लागि सम्बन्धित निकायसँग हातेमालो गर्न समेत तयार छौं।’

यता नेपाली राष्ट्रिय टोलीका पूर्व मिडफिल्डर नेपाल प्रशिक्षक संघका महासचिव राजेश शाहीले नेपाली खेलाडीहरूले भियतनाममा पनि आफ्नो क्षमता प्रमाणित गर्नेमा आशावादी रहेको बताए। ‘हामीले मैदान प्रवेश गर्दा सकारात्मक सोच राख्नुपर्छ। हामी सक्छौं भन्ने विश्वास हुनुपर्छ,’ शाहीले भने, ‘जसले गर्दा हामीले लिएको लक्ष्यमा पुग्न सक्छौं। टोलीमा क्षमतावान खेलाडी छन् भन्ने हामीलाई थाहा छ।’ यस्तै, कप्तान प्रशान्त लक्षमले सहयोगका लागि प्राइम सेरामिक्सलाई धन्यवाद दिए।

प्रकाशित: १४ आश्विन २०७९ ०२:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App