१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

सेमिफाइनल नै नखेली आर्मी फाइनलमा

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटतर्फको फाइनल विभागीय टोलीद्वय त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच हुने भएको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा बिहीबार तय भएको दिनको पहिलो खेल ओसिलो मैदानका कारण टस नै नभई रद्द हुँदा आर्मी समूहविजेताका रूपमा फाइनल पुगेको हो। अर्को टोली पुलिसले एनआरएनएलाई १३ रनले हराउँदै आर्मीसँगको भेट पक्का गरेको हो।

पुरुष क्रिकेटतर्फ वर्षाका कारण खेल नहुने क्रमले बिहीबार पनि निरन्तरता पाउँदा आर्मी क्लबले सेमिफाइनल नै नखेलेर उपाधि भिडन्त पक्का गरेको हो। बुधबार रातिको वर्षाका कारण मैदान ओसिलो भएको थियो। खेल नभएपछि समूहचरणमा हासिल गरेको उत्कृष्ट नतिजाका आधारमा आर्मी फाइनलमा पुगेको हो।

यसअघि आर्मी समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा पुगेको थियो। सुदूरपश्चिम समूह ‘बी’ को उपविजेता हैसियतमा अन्तिम चारमा प्रवेश गरेको थियो। वर्षाका कारण प्रतियोगिताभर समूह चरणका २५ मध्ये नौ खेलको मात्र नतिजा सम्भव भयो। बाँकी एकबाहेक अरू खेलमा एक बल पनि फालिएन। समूह ‘बी’ का बाग्मती प्रदेश र एपिएफ क्लब एक खेल पनि नखेली प्रतियोगिताबाट बाहिरिए। सोही नतिजा बिहीबार तय भएको पहिलो सेमिफाइनल खेलमा पनि दोहोरियो। सुदूरपश्चिम एक बल नखेली प्रतियोगिताबाट बाहिरिन बाध्य बन्यो। जारी प्रतियोगितामा रद्द भएको यो १७औँ खेल हो।

यता समूह चरणको खेलमा आर्मीसँग पराजित भएको पुलिसको फाइनल भेट पुनः आर्मीसँग नै भएको छ। ओसिलो मैदानमा ८ ओभर घटाएर खेलाइएको खेलमा पुलिसले दिएको १ सय ११ रनको लक्ष्य पछ्याउने क्रममा एनआरएनएले ८ ओभरमा ३ विकेट गुमाएर मात्र ९७ रन जोड्न सक्यो। एनआरएनएका लागि कप्तान सुनम गौतमले विस्फोटङ ब्याटिङ गरे।

उनले २५ बलमा ४ छक्का र २ चौका प्रहार गर्दै सर्वाधिक ४६ रनको पारी खेले पनि जितका लागि पर्याप्त भएन। ओपनर सागर पुनले २० बलमा ३७ रनको व्यक्तिगत योगदान गरे। अर्का ओपनर दिनेश खरेल ४ रन जोड्ने क्रममा पवेलियन फर्किंदा पृथु बास्कोट १ रनमा अविजित रहे। एनआरएनएको तीन विकेट निकाल्ने क्रममा पुलिसका योगेन्द्रसिंह कार्कीले २ विकेट हात पार्दा पवन सर्राफको नाममा एक विकेट रह्यो।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको पुलिसले ८ ओभरमा ६ विकेट गुमाएर १ सय १० रन बनाएको थियो। पुलिसका लागि म्यान अफ दी म्याच घोषित आरिफ शेखले १५ बलमा व्यक्तिगत ३६ रनको स्कोर गरे। कप्तान दीपेन्द्रसिंह ऐरीले १२ बलको सामना गर्दा २ चौका र १ छक्काको सहयोगमा २५ रनको पारी खेले।

यस्तै करण केसीले २ छक्कासहित १८ रन बटुल्दा ओपनर कुशल भुर्तेल १२ रनमा पवेलियन फर्किए। गुल्सन झा ७ रनमा अविजित रहँदा सुनील धमला ६ तथा रासिद खान ३ रनमा रनआउट हुन पुगे। बलिङतर्फ एनआरएनएका दिवस गिरिले सर्वाधिक २ विकेट निकाल्दा दीपक क्षेत्री, सुनम गौतम र दिनेश खरेलले एकएक विकेट हात पारे।

प्रतियोगिताको फाइनल खेल शुक्रबार हुनेछ भने तेस्रो स्थानका लागि सुदूरपश्चिम प्रदेश र एनआरएनए स्पोर्ट्स एकेडेमीबीच तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ। 

प्रकाशित: ३१ भाद्र २०७९ ०१:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App