२३ असार २०८१ आइतबार
image/svg+xml
खेल

साफ इतिहासमा भारतको पहिलो हार

फाइल तस्बिर

काठमाडौंमा जारी साफ महिला फुटबल च्याम्पियनसिपअन्तर्गत मंगलबार भएको समूह ‘ए’ को अन्तिम खेलमा बंगलादेशसँग ३–० ले पराजित भएसँगै भारतले साफ इतिहासमा पहिलो हार भोगेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा साबिक विजेता भारत बंगलादेशसँग पराजित भएको हो। अनपेक्षित नतिजा भोगेको भारतले साफ इतिहासमा पहिलो हार भोगेको छ। यसअघिका प्रतियोगितामा विजेता बनेको भारतविरुद्ध बंगलादेशले २०१६ मा गोलरहित बराबरी खेलेको थियो।

यससँगै बंगलादेशले भारतविरुद्ध पनि पहिलो जित निकालेको छ। यसअघि साफमा २५ खेल खेल्दा भारतले २४ जित र १ बराबरीको नतिजा निकालेको थियो। सन् २०१६ मा पनि बंगलादेशले समूह चरणको अन्तिम खेलमा भारतलाई गोलरहित बराबरीमा रोकेको थियो। उक्त बराबरीकै कारण नेपाल र भारत सेमिफाइनलमा भिडेका थिए। समूह ‘ए’ को अन्तिम खेलमा बंगलादेशले भारतलाई हराएसँगै अन्तिम चारमा पुग्ने टोलीको टुङ्गो लागेको हो। समूहविजेताको रूपमा सेमिफाइनल प्रवेश गरेको बंगलादेशले भुटानविरुद्ध खेल्नेछ भने पराजित भारतले घरेलु टोली नेपालसँग फाइनल प्रवेशका लागि खेल्नेछ।

निकै प्रतिस्पर्धात्मक बनेको मंगलबारको खेलमा बंगलादेश भारतविरुद्ध परिपक्व खेल देखाउन सफल भएको थियो। सुरुआतबाट नै आक्रामक खेल खेलेको बंगलादेशले पहिलो हाफमा दुई गोल गर्दा दोस्रो हाफमा थप एक गोल गर्दै साबिक विजेतामाथि रोमाञ्चक जित निकालेको हो। समूहविजेता बन्ने क्रममा बंगलादेशका लागि मोसाम्मत सिरात जाहन सोप्नाले दुई गोल गरिन् भने श्रीमोती सरकारले एक गोल थपिन्।

अपराजित रहँदै समूहविजेता बनेको बंगलादेश समूह ‘ए’ मा ३ खेलबाट ९ अंक बनाउँदै समूहविजेता बन्दा समान ३ खेल खेलेको भारत ६ अंक जोडेर समूह उपविजेता बन्दै अन्तिम चारमा पुगेको हो। यसअघि समूह ‘बी’ बाट नेपाल समूहविजेता र भुटान उपविजेता बन्दै सेमिफाइनलमा पुगिसकेका छन्।

च्याम्पियनसिपअन्तर्गत मंगलबार नै भएको अर्को खेलमा पाकिस्तानले माल्दिभ्समाथि ७–० को फराकिलो जित निकाल्दा जारी प्रतियोगितामा सान्त्वना जित निकाल्यो। ८ वर्षपछि फुटबलमा फर्किएको पाकिस्तानले काठमाडौंमा जारी साफ महिला च्याम्पियनसिपमा मंगलबार माल्दिभ्सलाई हराउँदै प्रतियोगितामा सान्त्वना जित निकालेको हो। प्रतियोगिताबाट बाहिरिसकेका दुबै टोलीले मंगलाबार प्रतिष्ठाका लागि प्रतिस्पर्धा गरेका थिए। माल्दिभ्सविरुद्ध फराकिलो जित निकाल्ने क्रममा पाकिस्तानकी नादिया खान एक्लैले चार गोल गरिन्। बाँकी तीन गोल रमिन फरिद, खादिजा काजमी र अनमोल हिराले गरे।

प्रकाशित: २९ भाद्र २०७९ ०१:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App