२१ असार २०८१ शुक्रबार
image/svg+xml
खेल

शनिबार मुस्ताङमा हाईल्टिच्युड गल्फ प्रतियोगिता

हरेक पाइलामा श्वासप्रश्वास बढ्छ। चुनौती उत्तिकै छ। तर रोमाञ्चक र साहसिकता पनि उस्तै छ। पुग्न कठिनाई। पुगेपछि साहसीको कदम एक पाइला अगाडि भन्ने भान पक्कै हुन्छ। हिमालकै फेदमा पुग्नुपर्छ। चारैतिर हिमाल देखिन्छ। घोरिएर हेरे कोरला नाकामा चीनले बनाएको भौतिक पूर्वाधार देखिन्छ। हो विश्वकै उच्च उचाइ उपल्लो मुस्ताङको लोमान्थाङस्थित ४६४५ मिटरको लोवाथाङमा गल्फ कोर्ष तयार पारिएको छ।

त्यही गल्फ कोर्षमा शनिबार गल्फ प्रतियोगिता आयोजना गरेर नयाँ इतिहास कोरिदै छ। इतिहासको पर्खाइमा गल्फरहरु छन्। व्यग्र प्रतिक्षामा भने स्थानीय सेवी एवं गण्डकी प्रदेश सदस्य इन्द्रधारा विष्ट छन्। उनकैको व्यग्रतालाई अन्तिम रुप दिने योजनामा गल्फका व्यवसायिक खेलाडी (प्रो.) भुवन गुरुङ छन्। उनले कोर्षको डिजाइन गरेका हुन्। विष्टले खेस्रा गरेका कोर्षलाई पूर्णता डिजाइन दिँदै गुरुङले अन्तिम रुप दिन कस्सिएका छन्।

शनिबार ४६४५ मिटर उचाइको ‘मुस्ताङ गल्फ कोर्ष’मा वल्र्ड क्लासिक गल्फ प्रतियोगिता हुँदैछ। ९ होलको कोर्ष तयारी अवस्थामा छ। नेपाल गल्फ संघका केन्द्रीय सदस्य गुरुङले कोर्षको ग्रीनलाई ‘फाइनल टच’ दिँदै छन्। उच्च उचाइको गल्फ कोर्षमा खेल्ने सपना धेरैको हुन्छ। तर उचाइमा पुगेर खेल्नु नै साहसिक हो। उपल्लो मुस्ताङको लोवाथाङमा बनाइएको कोर्ष त्यही साहसिकताको पहिचान बन्ने छ।

‘हाईअल्टिच्युड गल्फ कोर्ष बनाउने सपना पूरा भएको छ। त्यही कोर्षका गल्फरलाई ल्याएर खेलाउन लक्ष्य समेत पूरा हुँदैछ।’ प्रदेश सदस्य रहेका विष्टले भने, ‘सपनाको घडी शनिबार पूरा हुने छ।’ गल्फ प्रतियोगिताकै लागि विष्टले सबै काम छोडेर यतिबेला गल्फ कोर्षमा व्यस्त छन्। कोर्ष केवल ९ होलको मात्रै छ। उनका अनुसार शनिबारको गल्फ प्रतियोगिता आउने प्रतिक्रिया अनुसार नै थप ९ होल थप्ने योजना बन्ने छ।

लोमान्थाङलाई साहसिक स्पोर्टस हब बनाउने दीर्घकालीन योजनालाई गल्फ कोर्षले टेवा दिने विश्वास उनको छ। शनिबारको प्रतियोगिताको लागि गुरुङसहितको टोलीले बिहीबारदेखि नै कोर्षको ग्रीन बनाउन व्यस्त छ। ग्रीनलाई अन्तिम रुप दिइ प्रतियोगिता सञ्चालन गर्ने गरी काम गरिएको छ। गल्फरलाई सिग्नल देखाउने बोर्ड लगाइएको छ। ‘कोर्ष तयारी अवस्थामा छ। ग्रीनलाई फाइनल टच दिएका छौँ।’ नेपाल गल्फ संघका केन्द्रीय सदस्य समेत रहेका गुरुङले भने, ‘उचाइमा पनि उत्कृष्ठ कोर्ष बनेको रहेछ भनेर गल्फर दंग पर्ने छन्।’

नौं होलमा नेपालका शीर्ष वरियताका एमेच्योर खेलाडीले प्रतिस्पर्धा गर्ने छन्। विजेताले ट्रफी प्राप्त गर्ने छ। होल इन वान, लङ्गेष्ट ड्राईभ, क्लोजेष्ट टु दि पीन हान्ने गल्फरले आकर्षक पुरस्कार थाप्ने छन्। प्रतिस्पर्धा महिला तथा पुरुष दुवै इभेण्टमा हुनेछ। प्रतियोगितालाई विशेष सहयोगीको रुपमा लोमान्थाङ गाउँपालिका रहेको छ।

प्रकाशित: ९ भाद्र २०७९ १२:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App