२७ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

‘नुनेज आफैं समालिनुपर्छ’

भर्जिल भान डायकले यसै सिजन लिभरपुलमा अनुबन्धित भएका फरवार्ड डार्विन नुनेज आफैं सम्हालिनुपर्ने बताएका छन्। क्रिस्टल प्यालेसका जोचिम एन्डरसनमाथि २३ वर्षीय उरुग्वेका डार्विनले गरेको व्यवहारपछि उनी रातो कार्डको सामना गर्दै मैदानबाट बाहिरिएका थिए। यही घटनालाई टिप्पणी गर्दै भान डायकले डार्विन आफैं सम्हालिनुपर्ने बताएका हुन्। ५७औं मिनेटमा डार्विन नुनेजले रातो कार्डको दर्शन गर्दै मैदानबाट बाहिरिएपछि दश खेलाडीमा सीमित लिभरपुलले घरेलु मैदानमा सोमबार पुनरागमन गर्दा क्रिस्टल प्यालेससँग १–१ को बराबरी  खेल्दै अंक बाँडेको थियो।

‘सहकर्मीको समर्थन गर्नुपर्छ। खेलमा विवादित घटना हुने गर्छ। त्यस्तो अवस्थामा नुनेज सम्हालिनुपर्छ,’ भान डायकले भने, ‘समर्थन फरक कुरा हो। कसरी  समर्थन गर्ने भन्नेले अर्थ राख्छ। यो घटना नुनेजका लागि सिकाइ हो। सम्हालिँदै परिपक्वता देखाउन आवश्यक छ।’

एन्फिल्डमा क्रिस्टल प्यालेसलाई आतिथ्यता गरेको लिभरपुल २०१७ पछि घरेलु समर्थकमाझ हारको संघारमा पुगे पनि लुइस डायजको गोलबाट जोगिन पुग्यो। डायजले गोल गर्दै टोलीलाई हारबाट जोगाएका हुन्। डायजले ६१औं मिनेटमा बराबरी गोल फर्काएका हुन्। पहिलो हाफमा भ्रमणकारी टोली क्रिस्टल प्यालेसले ३२औं मिनेटमा अग्रता लिएको थियो। क्रिस्टलका लागि विलफ्रेड जाहाले खाता खोलेका थिए। पहिलो हाफमा अग्रता सुम्पिएको लिभरपुलले दोस्रो हाफमा खेलमा फर्किन निकै प्रयास गरेको थियो। काउन्टर रणनीतिका साथ मैदान उत्रिएको लिभरपुलका डार्विनले रेफ्रीसँग ५७औं मिनेटमा अनावश्यक विवाद गर्न पुगेका थिए।

त्यसपछि डार्विनले रातो कार्डको सामना गरेपछि लिभरपुल बाँकी समय १० खेलाडीमा सीमित भएको थियो। यद्यपि लिभरपुलले सम्हालिएको प्रदर्शन गर्दै खेलमा पुनरागमन गर्न सफल भएको थियो। दुई खेलबाट लगातार बराबरी खेलेको लिभरपुल शीर्ष स्थानको म्यानचेस्टर सिटीभन्दा ४ अंक पछि छ। ७५ मिलिन युरो खर्चिएर ल्याएका स्ट्राइकरबाट प्रभावशाली प्रदर्शन हुन सकेको छैन।

नुनेजले सुरुआती दुई खेलमा गोल गरे पनि तेस्रो खेलमा रातो कार्डको समाना गर्नुपरेको छ। कम्युनिटी सिल्डको खेलमा सिटीविरुद्ध गोल गरेका नुनेजले यसै सिजन बढुवा भएको फुलह्यामसँग २-२ गोलको बराबरी खेल्दा पनि एक गोल गरेका थिए। ‘अहिले आफू के हुँ भन्नेमा डार्विन स्पष्ट भएका छन्,’ उनका बारेमा प्रशिक्षक योर्गान क्लोपसँग राखिएको जिज्ञासामा क्लोपले भने, ‘त्यो अवस्थामा रातो कार्ड स्वाभाविक थियो। डार्विन त्यो घटनालाई लिएर उचालिएका हुन्। प्रतिक्रिया जनाउनुपर्ने हुन्छ, तर उनको त्यो हाउभाउ उचित भएन।’

प्रकाशित: १ भाद्र २०७९ ०१:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App