२३ असार २०८१ आइतबार
image/svg+xml
खेल

श्रीलंकाको राम्रो सुरुवात

दिनेश चण्डीमलको लगातार चौथो अर्धशतकीय प्रेरणामा श्रीलंकाले गालेमा जारी पाकिस्तानसँगको दोस्रो टेस्टको पहिलो दिन आइतबार राम्रो सुरुआत गरेको छ।

चण्डीमलले ८० रन बनाउँदै चौथो विकेटका लागि एन्जेलो म्याथ्युजसँग ७५ रनको महत्त्वपूर्ण साझेदारी गरेका थिए। म्याथ्युज भने आफ्नो सयौं टेस्टको कोसेढुंगामा पुग्दा अर्धशतकबाट चुके। श्रीलंका ३१५/६ को अवस्थामा रहँदा खराब प्रकाशका कारण दिनको बाँकी खेल रोकिएको थियो।

दुई खेलको शृंखलामा पहिलो खेल गुमाएको श्रीलंकाले दोस्रो खेलमा पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो। विकेटकिपर निरोसन डिकवेला ४२ रन र डेब्युटेन्ट दुनिथ वालालागे ६ रनमा क्रिजमा छन्।

तीव्र गतिका बलर नसिम साह दोस्रो नयाँ बलमा बलिङ गर्न आएपछि यी दुई ब्याटिङमा छन्। नसिमले धनञ्जय डी सिल्भालाई ३२ रनमा आउट गरे। डिकवेलाले पनि २४ रनमा जीवनदान पाए। नसिमकै बलमा कप्तान बाबर आजमले दोस्रो स्लिपमा डिकवेलाको विकेट छाडे।

आइतबार उनले दोस्रो पटक विकेट छाडेका हुन्। लेफ्ट आर्म स्पिनर मोहम्मद नवाजले पाकिस्तानका लागि महत्त्वपूर्ण दुई विकेट लिए। ओसादा फर्नान्डो (५० रन) र चण्डीमल दुवै नवाजकै बलमा पवेलियन फर्किए।

यसअघिका दुई टेस्टमा चण्डीमलले नटआउट २ सय ६ रन, ७६ रन र नटआउट ९४ रनको इनिङ खेलेका थिए। यता अनुभवी ब्याटर म्याथ्युजले राम्रो सुरुआत गरे पनि त्यसलाई ठूलो रनमा परिणत गर्न असफल रहे। उनी ३६ रनमा हुँदा आजमले नै सहज क्याच छाडेका थिए। तर, नौमन अलीले म्याथ्युजलाई विकेटपछाडि नै क्याच गराए।

म्याथ्युज सयौं टेस्ट क्रिकेटमा ड्रेसिङ रूममा जाँदा सबैले ताली बजाउँदै उनलाई उत्साह प्रदान गरेका थिए। त्यसअघि फर्नान्डो र कप्तान दिमुथ करुनारत्नेले ९२ रनको साझेदारी गर्दै श्रीलंकालाई राम्रो सुरुआत दिलाए पनि नवाजले त्यो साझेदारी तोडे।

फर्नान्डोले नवाजको बलमा छक्का प्रहार गर्दै सातौं टेस्ट अर्धशतक बनाए। तर, लगत्तै अर्को बलमा उनी विकेटकिपर मोहम्मद रिजवानद्वारा क्याच भए। कुशल मेन्डिस ३ रनमा नै अघा सलमानद्वारा रनआउट भए। ‘ननस्ट्राइकर इन्ड’ का ब्याट्सम्यानले उनलाई रन लिन अस्वीकार गरेपछि सलमानको ‘डाइरेक्टर थ्रो’ मा कुशल आउट भएका थिए। कप्तान करुनारत्ने पनि लेग स्पिनर यासिर साहको बलमा रिभर्स स्विप हान्ने चक्करमा नसिम साहद्वारा क्याच भए।

त्यो विकेटसँगै श्रीलंका १२०/३ को अवस्थामा पुग्यो। यद्यपि, चण्डीमलले म्याथ्युज र त्यसपछि डी सिल्भासँग ६३ रनको साझेदारी गर्दै इनिङ उकासे। ३५ वर्षे म्याथ्युज सयौं टेस्ट करियरमा श्रीलंका क्रिकेट र आफ्नो परिवारका साथ थिए। सन् २००९ मा गालेमै र पाकिस्तानसँगकै क्रिकेटबाट डेब्यु गरेका म्याथ्युजले ठूलो योगफल भने बनाउन सकेनन्।

प्रकाशित: ९ श्रावण २०७९ ०२:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App