३० वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

पेरिस ओलम्पिकलाई सुरक्षा चिन्ता

पेरिस ग्रीष्मकालीन ओलम्पिक आयोजना गर्न करिब दुई वर्ष बाँकी हुँदै गर्दा त्यहाँका समर्थकका कारण सुरक्षा चुनौतीपूर्ण हुन सक्ने विषयमा चर्चा सुरु भएको छ।

स्टेड दी फ्रान्समा सम्पन्न च्याम्पियन्स लिग फाइनलमा समर्थकको अराजक हर्कतका घटनालाई लिएर ओलम्पिकमा सुरक्षा चुनौती हुन सक्ने बारे चर्चा सुरु भएको हो। च्याम्पियन्स लिग फाइनलमा स्थानीय प्रहरीले लिभरपुलका समर्थकमाथि टियर ग्याससमेत प्रहार गर्नुपरेको थियो।

उक्त हुलदंगामा अशक्त र बालबालिका पनि सामेल थिए। सो घटनालाई लिएर सत्यतथ्य छानबिन समिति पनि गठन भयो। फ्रान्सका दुई सिनेटर सम्मिलित छानबिन समितिले त्यो घटनामा समर्थक दोषी नभएको र आयोजकका कारण उक्त घटना घटेको आरोप लगायो। ‘यस किसिमका खराब घटना जहाँ पनि हुन्छन्। त्यसका लागि विशेष किसिमले तयारी राम्रो हुनुपर्छ,’ समितिका सहप्रमुख लरेन्ट लाफोन भनेका थिए।

आगामी वर्ष रग्बी विश्वकप पनि फ्रान्समा नै हुँदै छ। त्यस समय पनि उक्त सुरक्षाको विषयलाई लिएर खतराको घण्टी बजेको छ। तथापि, योभन्दा पनि ठूलो सुरक्षा चुनौती ओलम्पिकमा हुन सक्ने अनुमान छ। ‘पछिल्ला घटनाले सबैमा यो सचेतना आयो होला भन्ने विश्वास लिएका छौं,’ सुरक्षाको एक स्रोतले भन्यो। आगामी ओलम्पिकमा फ्रान्सका आन्तरिक मामिला मन्त्री जेराल्ड डर्मनिनको नेतृत्वमा सुरक्षा कमिटी रहनेछ। पेरिसको प्रहरी प्रमुखमा डिडियर लेलेमेन्टलाई लरेन्ट नुनेजले प्रतिस्थापन गरिसकेका छन्।

‘आगामी ओलम्पिकमा तपाईंको नेतृत्वमा उत्कृष्ट प्रहरी संरचना बनाउनुपर्छ। सम्पूर्ण प्रहरी नै ओलम्पिकमा एक कदम अगाडि हुनुपर्छ,’ डर्मनिनले नुनेजलाई जिम्मेवारी हस्तान्तरण कार्यक्रममा भने। सरकारी स्रोतअनुसार च्याम्पियन्स लिग फाइनलमा घटेको अराजक गतिविधिपछि आगामी ओलम्पिकमा कडा सुरक्षा नीति अपनाइनेछ। १५ हजार खेलाडीले प्रतिस्पर्धा गर्ने ओलम्पिकमा करिब एक करोड ३० लाखसम्म समर्थक भित्रिने अनुमान गरिएको छ। पहिल्यै सुरक्षा चुनौती देखिँदै आएको पेरिसका लागि कार्यसम्पादन गर्न कठिन हुन सक्छ।

एक महिनासम्म सुरक्षा व्यवस्थापन आयोजकका लागि टाउको दुखाइ बन्न सक्नेछ। पेरिस ओलम्पिक जुलाई २६ मा उद्घाटन हुँदै छ। उद्घाटन समारोहलाई भव्य बनाउने आयोजकले दाबी गरेको छ। त्यति बेला सहर पूर्ण रूपमा चम्कने अनुमान गरिएको छ। करिब ६ लाख समर्थकले बिनाशुल्क ओलम्पिक हेर्नेछन्।

विश्वभरका मानिसले प्रत्यक्ष रूपमा ओलम्पिक हेर्नेछन् र त्यसैले ओलम्पिकमा सुरक्षा व्यवस्थित बनाउन आयोजकलाई दबाब बन्नेछ। ‘हामी अहिले तयार छैनौं,’ सरकारी स्रोतले भने, ‘यदि मानिसको भीडमा बारुदले भरिएको ड्रोन खस्यो भने त्यसलाई कसरी रोक्ने भन्ने हामीलाई थाहा छैन।’

ड्रोन अट्याक कुनै नयाँ होइन। यसअघि भएका आयोजनामा पनि त्यो घटना घटेका छन्। त्यसैले ओलम्पिकमा पनि त्यो नहोला भन्न सकिँदैन। ‘मानिसको सागर ६ किलोमिटर टाढासम्म फैलिन्छ। त्यसको व्यवस्थापन गर्न समस्या हुनेछ,’ स्रोतले भन्यो। सुरक्षाकर्मीको अभावका कारण उद्घाटनमा सुरक्षामा समस्या पर्न सक्नेछ। प्रहरीका अनुसार करिब सात हजार सुरक्षाकर्मी परिचालन हुनेछन्। तर, त्यो पर्याप्त हुनेछैन। प्राइभेट सुरक्षाकर्मी पनि परिचालन गर्ने अनुमान गरिएको छ। सन् २०१२ लन्डन ओलम्पिक र गत वर्षको टोकियो ओलम्पिक पनि प्राइभेट सुरक्षाकर्मीको अभाव थियो।

तथापि, यी दुवै सहरले आवश्यक परेमा आर्मी खटाउने गरी तयार गरेका थिए। ‘हामीलाई ओलम्पिकका लागि करिब २४ हजार एजेन्ट आवश्यक छ। तर, त्यो व्यवस्थापन गर्न गाह्रो छ,’ एक उच्च पदस्थ प्रहरीले भने, ‘त्यसैले आर्मीलाई पनि खटाउने सम्भावना पनि छ।’ पछिल्ला समय ओलम्पिकमा साइबर अट्याकको घटना भएकाले त्यसलाई रोक्न पनि पेरिसले काम गर्नुपर्नेछ। त्यो सम्भावनाका लागि साइबर अनुसन्धानकर्ताको टिम पनि गठन गर्ने तयारीमा आन्तरिक मामिला मन्त्री छन्।

प्रकाशित: ७ श्रावण २०७९ ०१:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App