१० मंसिर २०८१ सोमबार
image/svg+xml
खेल

प्रशिक्षक गाल्टियरका लागि सहज छैनन् चुनौती

क्रिस्टोफ गाल्टियरको नियुक्तिसँगै फ्रेन्च लिग वान च्याम्पियन पेरिस सेन्ट जर्मन (पिएसजी) ले च्याम्पियन्स लिगको उपाधि जित्ने लक्ष्यमा आक्रामक रूपमा प्रस्तुत हुने संकेत गरिसकेको छ। तर गाल्टियरका लागि सो चुनौती भने सहज हुने छैन।

सन् २०११ मा कतारी मालिकले पिएसजीको स्वामित्व लिएपछि क्लबले भित्र्याउँदा क्रिस्टोफ पिएसजीका सातौं प्रशिक्षक हुन्। पिएसजीले क्रिस्टोफलाई दुई वर्षका लागि अनुबन्धित गरेको हो। नवनियुक्त प्रशिक्षक क्रिस्टोफ पछिल्लो एक दशक फ्रान्सेली फुटबलमा ख्याति कमाएका प्रशिक्षकका रूपमा गनिन्छन्।

यो क्रममा उनले ८ वर्ष सेन्ट एटियन र चार वर्ष लिलेमा प्रशिक्षण गरेका छन् र लिलेलाई २०२१ मा लिग वानको उपाधिसमेत दिलाउन सफल भएका छन्। यद्यपि क्रिस्टोफले हालै मात्र बर्खास्तीमा परेका माउरिसियो पोचेटिनो, थोमस टुचल, कार्लो एन्सेलोटी, जिनेदिन जिदानले जति अन्तर्राष्ट्रिय बजारमा ख्याति कमाउन सकेका छैनन्।

पिएसजीका प्रशिक्षकमा नियुक्त भएको दिन उनले सुपर स्टार खेलाडीले भरिएको टोलीलाई सम्हाल्ने मौका पाउँदा खुसी भएको प्रतिक्रिया जनाएका थिए। ‘विश्व वरीयताको शीर्ष स्थानमा अटाइसकेका खेलाडीको प्रशिक्षक बन्ने मौका पाउँदा म निकै खुसी भएको छु,’ लिग वानमा नाइसलाई तालिकाको पाँचौं स्थानमा पुर्‍याएका थिए भने क्लब फ्रेन्च लिगको फाइनलमा  पुगेको थियो।

साथै क्रिस्टोफले टोली सम्हालिसकेपछि परिवर्तनभन्दा पनि भएको साखलाई जोगाउँदै थप उचाइमा पुर्‍याउनका लागि कोसिस गर्ने बताए। उनले किलियन एम्बाप्पे, लियोनल मेसी, नेइमारजस्ता खेलाडी रहेको टोलीलाई सही तरिकाले संयोजन गरेर अगाडि बढाउने बताए।

‘टोलीमा भएका खेलाडीलाई संयोजन गरेर अगाडि बढ्छु,’ क्रिस्टोफले भने, ‘पहिलो प्राथमिकता भनेको हामीले खेलमा सुखद नतिजा निकाल्ने हो। क्लबको अन्तर्राष्ट्रिय छविलाई जीवन्त राख्न हामीले राम्रो फुटबल खेल्नुपर्छ।’

नेइमारसँग काम गर्न इच्छुक

स्पेनिस क्लबबाट फ्रान्सेली क्लब पिएसजीमा कीर्तिमानी मूल्यमा अनुबन्धित भएका नेइमारसँग काम गर्न इच्छुक भएको नवनियुक्त प्रशिक्षकले बताए। सरुवा हुने चर्चासँगै प्रिमियर लिग क्लब चेल्सी, म्यानचेस्टर युनाइटेड र न्युक्यासल युनाइटेडमा नेयमारको नाम जोडिएको भए पनि नयाँ प्रशिक्षको यस्तो अभिव्यक्ति आएको हो। नेइमारजत्तिको क्षमतावान् खेलाडी क्लबबाट बाहिरिएको हेर्न आफूले नचाहेको इंगित गरे।

‘उनी विश्वस्तरीय खेलाडी हुन्। कुन प्रशिक्षक उनलाई टिममा चाहँदैनन् र? हामीले टिममा सन्तुलन खोज्नुपर्छ,’ पिएसजीमा अनुबन्धनपश्चात् पहिलो पत्रकार सम्मेलनमा क्रिस्टोफले भने, ‘उनी मसँग बसेको हेर्न चाहन्छु।’

बुधबार एन्जल डी मारियाको बिदाइ भएपछि पिएसजीले पोर्चुगलका मिडफिल्डर भिटिनहालाई पोर्तोबाट अनुबन्धित गर्ने निर्णय गरेको छ। उनले क्लबसँग एकवर्षे सम्झौता गरेका छन्।  

प्रकाशित: २३ असार २०७९ ०४:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App