२१ असार २०८१ शुक्रबार
image/svg+xml
खेल

श्रीलंका १० विकेटले पराजित

श्रीलंकाविरुद्ध अपिल गर्दै अस्ट्रेलियाका नाथन लियोन।

स्पिनर टार्भिस हेड र नाथन लियोनले समान चार विकेट लिएपछि अस्ट्रेलियाले शुक्रबार पहिलो टेस्टमा श्रीलंकामाथि १० विकेटको सानदार जित हात पारेको छ। तेस्रो दिनको पहिलो सेसन ३२१-८ बाट सुरु गरेको अस्ट्रेलियाले थप ८ रन जोड्दा बाँकी दुई विकेट गुमायो।

आशिषा फर्नान्डोले २६ रन बनाएर खेलिरहेका प्याट कमिङ्सलाई बोल्ड गरे भने मिचेल स्विपसनलाई पनि फर्नान्डोले नै आउट गरेका थिए। पहिलो इनिङमा ३ सय २१ रन बनाएसँगै अस्ट्रेलियाले १ सय ९ रनको अग्रता लिएको थियो। टस जितेको श्रीलंका पहिलो इनिङमा २ सय १२ रनमा सीमित भएको थियो।

शुक्रबार नै पहिलो इनिङको सुरुआत गरेको श्रीलंका दोस्रो इनिङमा मात्र १ सय १३ रनमा सीमित भएको थियो। श्रीलंकाका ओपनर दिमुथ करुणारत्ने र पाथुम निशंकाले मिचेल स्टार्कको पहिलो ओभरमा चार चौकासहित १७ रन जोडे।

लियोनले करुणारत्ने र निशंकाले पहिलो विकेटका लागि गरेको ३७ रनको साझेदारीमा पूर्णविराम लगाएका थिए। करुणारत्नेले २३ र निशंकाले १४ रन जोडे। कुशल मेन्डिस र ओसिडा फर्नान्डोले तेस्रो विकेटका लागि २० रनको साझेदारी गरेका थिए। फर्नान्डो पनि पबेलियन फर्किएपछि ६३-४ को स्थितिमा रहेको श्रीलंकाले थप ५० रन जोड्दा बाँकी ६ विकेट गुमाएको थियो।

अस्ट्रेलियाले जितका लागि मात्र ५ रनको लक्ष्य पाएको थियो। जुन अस्ट्रेलियाले बिनाविकेट क्षति मात्र चार बलमा पूरा गरेको थियो। अस्ट्रेलियाका डेविड वार्नरले चार बलमा एक चौका र एक छक्काको मद्दतमा अविजित १० रन जोडे।

‘हाम्रा समर्थकले अस्ट्रेलियाका ब्याटरलाई दबाबमा राख्न सकेनन्,’ श्रीलंकाका प्रशिक्षक क्रिस सिल्भरउडले भने, ‘हामीले कुनै पनि समय खेलमा पकड बनाउनै सकेनौं। उनीहरूका स्पिनरले हामीलाई सुरुआतबाटै दबाबमा राखे। जसले गर्दा हाम्रा ब्याटरले खुलेर खेल्नै सकेनन्।’

१७ बलको अन्तरमा चार विकेट लिएका हेडले १० रन मात्र खर्चिए। उनले पछिल्लो २६ टेस्ट खेलमा विकेट लिन सकेका थिएनन्। यता पहिलो इनिङमा ९० रन खर्चंदै ५ विकेट लिएका लियोनले दोस्रो इनिङमा पनि आफ्नो उत्कृष्ट लय कायम राखे। उनले दोस्रो इनिङमा ३१ रन खर्चंदै ४ विकेट लिए।

‘नाथन लियोनले आफ्नो क्षमता प्रमाणित गरे। उत्कृष्ट प्रदर्शनमा हामीले खेलको सुरुआतबाटै घरेलु टोलीलाई दबाबमा राख्न सक्यौं,’ अस्ट्रेलियाका कप्तान प्याट कमिङ्सले भने, ‘ब्याटरले पनि सम्हालिएको प्रदर्शन गरे। दोस्रो इनिङमा हामी खेलमा पूर्ण रूपमा हाबी भयौं।’ पहिलो इनिङमा १ सय ९ बलमा ६ चौकाको मद्दतमा ७७ रन जोडेका अस्ट्रेलियाका क्यामरुन ग्रिन म्यान अफ दी म्याच भए।

प्रकाशित: १८ असार २०७९ ०६:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App