coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

श्रीलंकालाई अस्ट्रेलियाविरुद्धको शृंखला

अस्ट्रेलियाविरुद्ध शृंखला हात पारेपछि श्रीलंकाका खेलाडी।

भ्रमणकारी टोली अस्ट्रेलियाविरुद्ध पाँच खेलको एकदिवसीय शृंखलाअन्तर्गत चौथो खेलमा मंगलबार निकालेको ४ रनको रोमाञ्चक जितले आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकाली जनताका लागि खुसी दिलाउन सकेको कप्तान दशुन सनकाले बताएका छन्।

आर प्रेमदासा रंगशाला कोलोम्बोमा भएको चौथो खेलमा अस्ट्रेलियालाई चार रनले पराजित गर्दै एक खेलअगावै शृंखला ३–१ ले जितेपछि कप्तान दशुन सनकाले श्रीलंकालाई खुसी दिलाउन सकेको बताएका हुन्। पाँच खेलको शृंखला अन्तर्गत ३–१ को अग्रता लिएको श्रीलंकाले सन् १९९२ पछि पहिलो पटक अस्ट्रेलियासँग घरेलु मैदानमा द्विपक्षीय एकदिवसीय शृंखलाको उपाधि उचाल्न सफल भएको हो।

‘जितले मलाई मात्र होइन समग्र टोली र देशलाई खुसी दिन सक्यौं। यो देशका लागि निकै आवश्यक थियो,’कप्तान दशुन सनकाले भने, ‘बलियो अस्ट्रेलियाविरुद्ध हामीले तीन दशकमा प्राप्त नतिजालाई पूरै देशले उत्सवका रूपमा मनाउनुपर्छ। आर्थिक संकटबाट गुज्रिरहेका जनतामा हर्ष दिलाउन पाउँदा खुसी लागेको छ।’ २ सय ५९ रनको विजयलक्ष्य पछ्याएको अस्ट्रेलिया ५० ओभरमा २ सय ५४ रनमा समेटिएको थियो। अस्ट्रेलियाका ओपनर डेविड वार्नर १ सय १२ बलमा १२ चौकासहित ९९ रनमा आउट हुँदा टोलीलाई हारको संकेत मिलेको थियो।

चौथो खेलमा बराबरी गर्ने लक्ष्यसहित जबाफी ब्याटिङ गरेको अस्ट्रेलियालाई अन्तिम ओभरमा १९ रन चाहिएको थियो। श्रीलंकाका कप्तान दशुन सनकाको बलिङमा म्याथ्यु कुहनेमानले दोस्रो, चौथो र पाँचौं बलमा चौका प्रहार गर्दै जितको संकेततर्फ डोर्‍याएका थिए। तर अन्तिम बलमा जितका लागि पाँच रन चाहिएको अवस्थामा स्ट्राइकमा रहेका कुहनेमान चरिथ असलंकाबाट क्याच भएसँगै श्रीलंकाले रोमाञ्चक चार रनको जित निकाल्न सफल भएको हो। यससँगै तीन दशकपछि श्रीलंकाले घरेलु मैदानमा शृंखला एक खेलअगावै जितेको हो।

यसअघि आरोन फिन्च डक, मिचेल मार्स २६, मार्नस लाबुसेन १४, एलेक्स केरी १९, ट्रविस हेड २७ र ग्लेन म्याक्सवेल १ रनमा पवेलियन फर्किएका थिए। क्यामरन ग्रिन १३, प्याट कमिन्स ३५ र कुहनेमानले १५ रनको पारी खेलेका थिए। श्रीलंकाका चामिका करुणारत्ने, धनञ्जय डी सिल्भा र जेफ्री वान्डरसेले २/२ विकेट लिए। त्यसअघि आर प्रेमदासा रंगशाला कोलम्बोमा टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंकाले ४९ ओभरमा सबै विकेट गुमाएर २ सय ५८ रन जोडेको थियो।

सुरुआत राम्रो हुन नसकेको श्रीलंकाका लागि चारिथ असलन्काले १ सय १० रनको शतकीय इनिङ खेले। धनञ्जय डी सिल्भाले ६० रनको अर्धशतकीय इनिङ खेले। बलिङतर्फ अस्ट्रेलियाका मिचेल मार्स, म्याथ्यु र पाट कमिन्सले २/२ विकेट लिए। पाँच खेलको शृंखला अन्तर्गत पहिलो खेलमा भ्रमणकारी टोली अस्ट्रेलियाले श्रीलंकालाई ९ विकेटले हराएको थियो। त्यसपछिका खेलमा पुनरागमन गरेको श्रीलंकाले दोस्रो खेलमा पाहुना टोलीमाथि २६ रन र तेस्रो खेलमा ६ विकेटको जित निकालेको थियो। अन्तिम खेल शुक्रबार हुनेछ। 

प्रकाशित: ९ असार २०७९ ०१:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App