१७ असार २०८१ सोमबार
image/svg+xml
खेल

लथालिङ्ग खेलमैदान

पाँचथरको सदरमुकाम फिदिम उपत्यका जस्तो देखिन्छ। फिदिमलाई देख्नेवित्तिकै पहिलाे पटक आउनेहरु आहा! भन्छन्।

सुन्दर फिदिम बजार प्रवेश गर्दा गर्दैको दृष्य भने त्यति सुन्दर छैन। लथालिङ संरचना भएको चउर जस्तो देखिन्छ। यो फिदिममा रहेको खेलमैदान हो। सुविधा सम्पन्न खेलमैदान बनाउने कामबीचमै रोकिएपछि यो खेलमैदानको काम लथालिङ्ग भएको छ।

भविष्य के हुने भन्ने चिन्त देखिएको छ। कार्तिकदेखि काम रोकिएको छ। १० करोड ६३ लाख ५७ हजारमा ठेक्का लागेको खेलमैदानको काम असार मसन्तमा सक्ने सम्झौता थियो। १७ महिनाको सम्झौता यही असारमा सकिने भएपनि खेलमैदान निर्माणको कामको प्रगति न्यून रहेको छ। हालसम्म २५ प्रतिशत मात्र काम सम्पन्न भएको राष्ट्रिय खेलकुद परिषदका इञ्जिनियर केवल परियारले जानकारी दिए।

कामको भुक्तानी नभएको भनेर ठेकेदार कम्पनीले काम रोकेको थियो। विलका आधारमा भुक्तानी भइसकेको परियारले जानकारी दिए। तर अझै पनि ठेकेदार कम्पनीले काम अघि बढाएको छैन। काम अघि बढाउनका लागि पटक पटक पत्रचार गरेको परियारले जानकारी दिए। ठकेदार कम्पनीका प्रतिनिधिले भने ड्रोईङ नबनेकोले काम अघि नबढेको दाबी गरेको छ। नयाँ संरचनाको ड्रोइङ नभएकाले काम अघि नबढेको ठेकेदार कम्पनीका प्रतिनिधि सुरेश काफ्लेले बताए।

काम हुँदाहुँदै बीचैमा छोडिएको छ। खेलमैदानमा माटो थुप्रिएको छ, झार उम्रिएको छ। पाँचथर सदरमुकाम फिदिममा फुटबल प्रतियोगिता तथा लगायतका अन्य गतिविधि हुने फिदिम खेलमैदानलाई व्यवस्थित रंगशाला बनाउने कामले गति नपाउँदा स्थानीय चिन्तित छन्।

फाल्गुनन्द गोल्डकप, पाँचथर गोल्डकप जस्ता प्रतियोगिता खेलमैदान हुँदा रोकिएका छन् भने अलपत्र खेल मैदानको भविष्य के हुने भन्ने अन्योलता रहेको छ। ‘फिदिममा बजार क्षेत्रमा खेलकुद गतिविधि हुने एकमात्र ठाँउ भएकाले खेलमैदान नबन्दा समस्या भएको छ। खेलकुद प्रतियोगिता, अभ्यास लगायतका खेलकुद गतिविधि ठप्प छन्’ फिदिम स्र्पोटिङ क्लबका अध्यक्ष दिपेन्द्र थापाले भने ‘खेलमैदानको काम चाडो अघि बढाएर सम्पन्न गर्नकालागि सम्बन्धित निकायको ध्यान पुग्न आवश्यक छ।’

तीस वटा सटर सपिङ कप्लेक्ससहितको सुविधा सम्पन्न खेलमैदानको काम अघि बढाइएको थियो। १७ महिनामा काम सक्ने गरी अघिल्लो वर्ष माघ २५ गते पिएस/किरातेश्वर/मैनाचुली जेभीसँग ठेक्का सम्झौता भएको थियो। फिदिम माध्यमिक विद्यालयको जग्गामा रहेको खेलमैदानलाई सुविधा सम्पन्न खेलमैदान बनाउने काम अघि बढाइएको थियो।

प्रकाशित: ७ असार २०७९ ११:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App