३० वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

शीर्ष स्थानमा उक्लियो पोर्चुगल

युइएफए नेसन्स लिगअन्तर्गत बिहीबार भएको खेलमा पोर्चुगलले चेक रिपब्लिकमाथि पाँच मिनेटभित्र दुई गोल गर्दै लिग ‘ए’ समूह ‘२’ को शीर्ष स्थानमा उक्लिँदा अर्को खेलमा स्पेनले स्विट्रजरल्यान्डमाथि उसैको मैदानमा १–० को रोमाञ्चक जित निकाल्यो।

पहिलो खेलमा स्पेनसँग १–१ गोलको बराबरी गरी दोस्रो खेलमा स्विट्जरल्यान्डलाई ४–० ले पराजित गरेको पोर्चुगलले दोस्रो स्थानको स्पेनलाई दुई अंकले पछि पार्दै समूहतालिकामा अग्रता लिन सफल भएको हो। बिहीबार नै भएको खेलमा १–० को जित निकाले पनि स्पेन ५ अंकका साथ दोस्रो स्थानमा यथावत् रह्यो।

प्रतिस्पर्धात्मक बनेको खेलमा पोर्चुगलले ३३औं र ३८औं मिनेटमा गरेको गोल जितका लागि पर्याप्त बनेको थियो। जाओ क्यानसिलो र गोनकालो गुएडेसले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए। क्यानसिलोले ३३औं मिनेटमा टोलीका लागि पहिलो गोल गरेका थिए भने गोनकालोले ३८औं मिनेटमा अग्रता दोब्बर बनाएका थिए।

‘हामीले आजको खेलमा उत्कृष्ट खेल देखाउन सक्यौं,’ पोर्चुगल टोलीका लागि दोस्रो गोल गरेका गुएडेसले भने, ‘गोल गरे पनि उनीहरूले आक्रामक रणनीति अपनाइरहेका थिए। यद्यपि हामी उनीहरूको रणनीतिलाई विफल बनाउँदै थप गोल गर्न चाहन्थ्यौं। तर जित निकै महत्त्वपूर्ण रह्यो।’

उता पराजित चेक रिपब्लिकले भने नेसन्स लिगअन्तर्गत आफ्नो पहिलो खेलमा स्विट्जरल्यान्डमाथि २–१ को जित निकालेको थियो र दोस्रो खेलमा स्पेनसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको थियो। तेस्रो खेलमा पराजय भोगेको चेक रिपब्लिकको पनि समान ३ खेलबाट ४ अंक छ भने स्विट्जरल्यान्डले सबै खेलमा पराजय भोग्दै खाता खोल्न सकेको छैन।

‘हामीसँगको खेलमा पोर्चुगलले स्तरीय खेल प्रस्तुत गर्‍यो,’ चेक रिपब्लिकका फवार्ड भकल्भ युरोकाले भने, ‘पहिलो हाफमा उपलब्ध भएका दुई अवसरलाई पोर्चुगलले सदुपयोग गर्‍यो। गोल गर्न मेरा लागि पनि अवसर मिलेको थियो तर सट टप कर्नरमा लागेर बाहिरियो। टोलीका लागि गोल गर्न नसक्दा दुखी छु, अनि माफी पनि माग्न चाहन्छु ।’

नेसन्स लिगअन्तर्गत अर्को खेलमा स्विट्जरल्यान्डमाथि साँघुरो जित निकाल्दा स्पेनका पाब्लो सराबियाले गरेको गोल निर्णायक बन्यो। खेलको १३औं मिनेटमा लोरेन्टको पासमा सराबियाले निर्णायक गोल गर्दा टोली स्पष्ट तीन अंक जोड्न सफल भएको हो।

लिग ‘बी’ अन्तर्गतको खेलमा भने नर्वे र स्लोभाकियाले गोलरहित बराबरी खेल्दै अंक बाँड्दा सोही समूहको अर्को खेलमा सर्बियाले स्विडेनविरुद्ध १–० को संघर्षपूर्ण जित निकाल्यो। यस्तै समूह ‘सी’ को खेलमा ग्रिसले साइप्रसलाई ३–० ले स्तब्ध बनाउँदा सोही समूहको अर्को खेलमा कोसोभोले उत्तरी आयरल्यान्डलाई ३–२ ले हरायो। 

प्रकाशित: २८ जेष्ठ २०७९ ०३:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App