३० आश्विन २०८१ बुधबार
image/svg+xml
खेल

आइपिएल जिताएपछि पांड्याको चर्चा

विश्वकै सबैभन्दा लोकप्रिय व्यावसायिक क्रिकेट लिगमा अलराउन्डर हार्दिक पांड्याले डेब्युको पहिलो वर्ष नै आफ्नो नेतृत्वमा टोलीलाई सफलता दिलाउँदै भारतीय क्रिकेटको सम्भावित कप्तानका रूपमा आफूलाई उभ्याएका छन्।

पांड्या नेतृत्वको गुजरात टाइटन्सले आइतबार इन्डियन प्रिमियर लिग (आइपिएल) को फाइनलमा राजस्थान रोयल्समाथि सात विकेटले जित रचेर उपाधि उचाल्दै डेब्यु सिजनमै सफलता चुम्यो। कप्तान पांड्याले उक्त खेलमा तीन विकेटका साथै ३४ रन पनि बटुले।

करिब एक लाख ४ हजार दर्शकले भरिएको विश्वकै सबैभन्दा ठूलो क्रिकेट स्टेडियममा त्यो सफलतासँगै पांड्याले भारतीय क्रिकेटको नेतृत्वमा पनि आफ्नो दाबेदारी प्रस्तुत गरेका छन्। क्रिकेट पण्डितहरूले गुजरातका खेलाडी खरिदमा प्रश्न उठाउँदै पांड्यालाई सो कप्तानी सुम्पिनुका कारणबाट पनि टोलीले भयानक नतिजा सामना गर्नुपर्ने भविष्यवाणी गरेका थिए।

डेब्यु सिजनमै गुजरातको खेलाडी खरिद प्रक्रिया सही नभएको र कप्तानका रूपमा पांड्याको चयनले पनि उक्त टोली थप समस्यामा पर्ने क्रिकेट पण्डितले अनुमान गरेका थिए। तर, २८ वर्षे पांड्याले त्यस्ता भविष्यवाणीलाई गलत साबित गरिदिए। ट्याटु र महँगा घडिको सौखिन उनले एक टिभी कार्यक्रममा यौनवादी टिप्पणीका कारण केही समय प्रतिबन्ध पनि खेप्नुपर्‍यो। त्यसैले उनमा परिपक्वता नभएको क्रिकेट विश्लेषकको सुरुआती भनाइ थिए। त, पछिल्ला समय ती विश्लेषकले नै ट्वान्टी–२० फरम्याटमा पांड्याको फिल्डिङ व्यवस्थापन र निर्णयशैलीबारे खुलेरै प्रशंसा गरे।

अहमदाबादको घरेलु मैदानमा गुजरातले उपाधि जितेपछि भारतीय क्रिकेट टोलीका कप्तान सुनिल गावस्करले भारतीय टोलीको कप्तानीका लागि पांड्या उपयुक्त विकल्प हुन सक्ने बताए। ‘जब तिमीसँग नेतृत्व गर्ने क्षमता छ भने तिमीले आफैँले राष्ट्रिय टोलीसम्मको ढोका ढकढकाउनेछौ। उनमा (हार्दिक पांड्या) पनि भारतीय क्रिकेटको कप्तानी सम्भावना देखिएको छ,’ गावस्करले भने, ‘जुन तरिकारले उनले टोलीको नेतृत्व र सफलता पाएका छन्, त्यसले गर्दा उनमा नेतृत्व क्षमता देखिएको छ। यो मेरो मात्र धारणा होइन, सबैको हो।’

अहिले रोहित शर्माले भारतीय क्रिकेटको तीन फरम्याटमा नेतृत्व गरिरहेका छन्। रोहित ३५ वर्षको भइसकेकाले उनी लामो समयसम्म सो नेतृत्वमा रहने सम्भावना न्यून छ। रोहितले नै कप्तानी गरेको पाँच पटक आइपिएल च्याम्पियन मुम्बई इन्डियन्सको यस सिजन निकै खराब रहँदा अंकतालिकाको पुछारमा खुम्चिनपुग्यो। मिडल अर्डरमा ब्याटिङ गर्ने पांड्याले तीव्र गतिमा बलिङ पनि गर्न सक्छन्। उनले अहिलेसम्म ११ टेस्ट, ६३ एकदिवसीय र ५४ ट्वान्टी–२० क्रिकेट भारतबाट खेलिसकेका छन्। 

चोटका कारण गत वर्षको ट्वान्टी–२० विश्वकपसमेत गुमाएका पांड्याले फिटनेसमा आफूलाई प्रमाणित गरे। उनले यस आइपिएलको १५ खेलमा चार सय ८७ रन बटुल्दै आठ विकेट पनि लिए। उनी दक्षिण अफ्रिकासँगको आगामी जुन ९ बाट सुरु हुने पाँच खेलको ट्वान्टी–२० क्रिकेट शृंखलाका लागि पनि भारतीय टोलीमा समावेश भइसकेका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार आयरल्यान्डसँगको ट्वान्टी–२० क्रिकेटमा पनि पांड्यालाई भारतीय क्रिकेटको नेतृत्वका रूपमा प्रयोग गर्ने सम्भावना छ।  

स्वयम् उनले पनि जिम्मेवारीहरूमा आफू रमाउने गरेको प्रतिक्रिया दिइसकेका छन्। साथै आइपिएलको उपाधिपश्चात् आफ्नो लक्ष्य भारतका लागि विश्वकप जित्नु रहेको पांड्याले उल्लेख गरे। विराट कोहलीको कप्तानीमा पछिल्लो ट्वान्टी–२० विश्वकपमा भारतले सेमिफाइनलमा स्थान बनाउनै असफल भएको थियो। न्युजिल्यान्डका कप्तान ड्यानिल भिट्टोरीले अलराउन्डरसँग विभिन्न क्षेत्रमा काम गर्ने क्षमता भएकाले कप्तानी उनलाई बोझ नहुने बताएका छन्।

‘अलराउन्डरसँग सबै खालका क्षमता हुन्छन्,’ भिट्टोरीले भने, ‘उनीहरू नेतृत्वलाई सहजै व्यवस्थापन गर्न सक्छन्। किनकि अलराउन्डरसँग दिनभर ब्याटिङ र बलिङ गर्ने क्षमता नै हुन्छ। हरेक समय उनीहरू व्यस्त रहन्छन्। पांड्यासँग पनि सो क्षमता छ।’

प्रकाशित: १७ जेष्ठ २०७९ ०६:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App