१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

जितबाट बार्सिलोनाको दोस्रो स्थान बलियो

बार्सिलोनाले आइतबार रियाल मालोर्कामाथि २–१ को जित निकाल्दै स्पेनिस ला लिगाको दोस्रो स्थानमा बलियो पकड बनाएको छ।  

मालोर्कामाथिको जितपछि बार्सिलोनाले शीर्ष चारमा बस्दै आगामी सिजन च्याम्पियन्स लिगमा छनोट हुने सम्भावना पनि बलियो पारेको छ। बार्सिलोनाको जितमा पहिलो हाफमा मेम्फिस डिपे र दोस्रो हाफमा सर्जियो बुस्केटले गरेको गोल पर्याप्त बन्यो। एन्टोनियो राइलोको गोलमा मालोर्काले क्याम्प नोउमा बार्सिलोनालाई निराश पार्ने संकेत गरे पनि त्यो पूरा भएन ।

बार्सिलोनाले घरेलु मैदान क्याम्प नोउमा पछिल्लो तीन खेलमा लगातार हार व्यहारेको थियो। जसमध्ये बार्सिलोनाले ला लिगाको दुई खेलका साथै युरोपा लिगको क्वार्टरफाइनल गुमाएको थियो। जारी सिजन चार खेल मात्र खेल्न बाँकी रहँदा बार्सिलोना ३४ खेलबाट ६६ अंकसहित दोस्रो स्थानमा उक्लिएको हो। जुन समान खेल खेल्दै तेस्रो स्थानमा बसेको सेभियाभन्दा २ र चौथो स्थानको एट्लेटिको मड्रिडभन्दा ५ अंक बढी हो। समान खेलबाट ८१ अंक जोड्दै शीर्ष स्थानमा बसेको रियालले शनिबार ला लिगाको उपाधि पक्का गरिसकेको छ ।

‘लगातारको निराशाजनक नतिजामा पूर्णविराम लागेको छ,’ बार्सिलोनाका प्रशिक्षक हाभीले भने, ‘त्यसबाट म धेरै खुसी छु ।’ २५औं मिनेटमा डिपेको गोलमा बार्सिलोनाले अग्रता लिएको थियो। डिपेले जोर्डी अल्बाको पासलाई पोस्टको दिशा दिएका थिए। ५४औं मिनेटमा बुस्केटले बार्सिलोनाको अग्रता दोब्बर पारेका थिए। खेल सकिन ११ मिनेट बाँकी रहदा राइलोले मालोर्कालाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो सफल भएन।  

मालोर्काविरुद्धको खेलसँगै जनवरीदेखि ह्याम्स्ट्रिङको समस्याका कारण मैदानबाहिर रहेका अंशु फातीले मैदानमा पुनरागमन गरेका थिए।  

‘उनी विशेष क्षमता भएका खेलाडी हुन्। उनले प्रशिक्षणमा पनि आफूलाई प्रमाणित गरिहेका छन्,’ हाभीले भने, ‘आशा छ उनले छिट्टै स्वाभाविक लय समाउनेछन्। उनको पुनरागमन हाम्रा लागि विशेष उपहार हो ।’ यसअघि आइबार सम्पन्न अर्को खेलमा रायो भालेकानोसँग १–१ को बराबरीमा रोकिएपछि रियाल सोसिडाडको शीर्ष चारमा बस्दै आगामी सिजन च्याम्पियन्स लिगमा छनोट हुने लक्ष्यमा गम्भीर धक्का लागेको छ ।

सोसिडाड ३४ खेलमा ५६ अंकसहित छैटौं स्थानमा छ। जुन चौथो स्थानको एट्लेटिकोभन्दा ५ र पाँचांै स्थानको रियाल बेटिसभन्दा एक अंक कम हो। यद्यपि बेटिसले सोसिडाडभन्दा एक खेल कम खेलेको छ ।

 

प्रकाशित: २० वैशाख २०७९ ०२:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App